राधेश्याम पटेल, परवानीपुर, १५ वैशाख/
वीरगंज–पथलैया कोरिडोरका सयौं उद्योग बन्द हुन थालेका छन् । माग बमोजिमको बिजुली नपाउँदा उद्योग बन्द हुन थालेका हुन् ।
वीरगंज उद्योग वाणिज्य सङ्घका उपाध्यक्ष हरि गौतमका अनुसार हिजो बुधवारदेखि अघोषितरूपमा वीरगंज कोरिडोरमा लोडसेडिङ हुन थालेकोले उद्योगधन्दा चौपट हुन थालेको बताए । “हामीले आजै डेलिगेशन लिएर प्राधिकरणको वीरगंज वितरण केन्द्रमा गएका थियौंं,” उनले भने, “भारतले दिइरहेको प्रतिदिन करीब चार सय मेगावाट बिजुली दिन हिजोदेखि दिन बन्द गरेको छ, जसले गर्दा वितरण केन्द्रले पनि बिजुली दिन बन्द गर्दा विद्युत् आपूर्तिमा समस्या उब्जेको हो ।” वीरगंज कोरिडोरका उद्योगलाई आगामी चार दिन बिजुली आपूर्ति असहज हुने प्राधिकरणका अधिकारीले आश्वासन दिए पनि व्यवसायीहरूका अनुसार करीब १४ दिनपछि मात्रै केही राहत हुने जानकारी पाएको बताए ।
वीरगंज कोरिडोरमा निर्माण सामग्री उत्पादन गर्ने फलामजन्य उद्योग, सिमेन्ट उद्योग, खाद्यान्न उद्योग, कपडा उद्योग, बोरा उद्योग, केमिकल उद्योग, औषधि उद्योगलगायत सयौं उद्योगले बिजुली नपाउँदा धमाधम उत्पादन बन्द गर्न थालेका व्यवसायीहरूको भनाइ छ ।
वीरगंज उद्योग वाणिज्य सङ्घका अर्का उपाध्यक्ष माधव राजपालले सरकारले उपलब्ध गराउने बिजुलीको सट्टा ब्वाइलरबाट चल्ने टर्बाइनबाट उत्पादन हुने बिजुली बढी खर्चिलो हुने भएकोले उत्पादनमा लागत खर्च अत्यधिक हुने भएकोले उद्योगीहरू उद्योग चलाउनुभन्दा उद्योग नै बन्द गरी चुप बस्ने अवस्थामा पुगेको बताए । “अहिले करीब ३० प्रतिशत उद्योग मात्र फाटफुटरूपमा चलिरहेका छन्,” उनले भने, “यस्तो समस्याको बेला सरकारी पक्ष गम्भीर भएर उद्योगको लागि चाहिने बिजुली आपूर्ति सहज बनाउनुपर्छ ।” करीब दुई साताभित्र अर्बौं मूल्यका सामान उत्पादन नभएर उद्योगीहरूलाई करोडौं मूल्य घाटा लाग्न सक्ने अनुमान गरिएको छ ।
वीरगंज वितरण केन्द्रमा करीब ५० हजार ग्राहक रहेकामा करीब एक हजार साना/ठूला उद्योग छन् । अधिकांश उद्योग प्रभावित भएको नेपाल विद्युत् प्राधिकरण वीरगंज वितरण केन्द्रका प्रमुख जीतेन्द्रकुमार झाले बताए । उनले शुक्रवार र शनिवार रक्सौल–परवानीपुर–वीरगंज १३२ केभिए प्रसारण लाइनको क्षमता अभिवृद्धिको लागि टावर अग्लो पार्ने काम हुने भएकोले दुई दिन बिहान ११ देखि साँझ ५ बजेसम्म बिजुली आपूर्ति नहुने जानकारी गराए । उनले दुई दिन औद्योगिक र ग्रामीण फेडरको बिजुली आपूर्ति कटौती गरिने बताए ।
किन भइरहेको छ बिजुली आपूर्ति ठप्प
नेपालमा प्रतिदिन करीब १५ सय मेगावाट बिजुली चाहिन्छ ।
जसमध्ये नेपालमा सरकारी र निजी कम्पनीहरूले करीब ११ सय मेगावाट बिजुली दैनिक उत्पादन गरेर उपलब्ध गराउँछन् । अपुग बिजुली भारतबाट दैनिक करीब चार सय मेगावाट आयात गरिन्छ । त्यसमध्ये वीरगंजमा रक्सौलबाट दैनिक पुरानो रक्सौल–वीरगंज ३३ केभिए प्रसारण लाइनबाट १० मेगावाट र केही वर्षअघि सञ्चालनमा आएको रक्सौल–परवानीपुर १३२ केभिए प्रसारण लाइनबाट दैनिक १८० मेगावाट बिजुली नेपाल आयात हुन्छ । अर्थात् दैनिक रक्सौलबाट वीरगंजमा १९० मेगावाट बिजुली आउँथ्यो । तर दुई दिनदेखि भारतले बिजुली दिन बन्द गरेको
छ ।
रूस–युक्रेन युद्धका कारण अन्तर्राष्ट्रिय बजारमा कोइलाको चरम अभाव भएको कारण भारतमा उत्पादन हुने बिजुली अहिले भारतमैं अपुग भएको छ । जसले गर्दा भारतले नेपाल आयात हुने बिजुली दिन बन्द गर्ने निर्णय गरेको छ ।
पहिले भारतले प्रतियुनिट भारु २० मा बिजुली बेचिरहेको थियो भने जनकपुर–जयनगर रेलसेवा सञ्चालन गर्न नेपाली प्रधानमन्त्री शेरबहादुर देउवा भारत गएको बेला दुवै सरकारले नेपालले खरीद गर्ने बिजुलीको दर घटाउने निर्णय गर्दै सहमति गरेका थिए । अहिले भारतबाट प्रतियुनिट भारु १२ मा आयात भइरहेको बिजुली नेपालमा नेरु ११ मा प्राधिकरणले बेच्ने गरेको नेविप्रा, वीरगंज वितरण केन्द्रका प्रमुख झा बताउँछन् । उनले आगामी एक साताभित्र समस्या समाधान हुने दाबी गरे । आगामी केही दिनमा नेपालमा हिउँ पग्लिने र जलाशयमा पानीको सतह बढेर विद्युत् उत्पादन बढेपछि विद्युत् आपूर्ति सहज हुने बताए ।