प्रस, पर्सागढी, १५ वैशाख/
हरियो तरकारीको मोल अहिले घट्दो छ । रु सयभन्दा माथि बिक्री भइरहेका हरियो तरकारी परवल, करैला, रामतोरई, बोडीलगायत अहिले किलोको रु ५० मुनि बिक्री भइरहेका छन् । गत चैतसम्म हरियो तरकारीको मोल तल झरेन । सामान्यता दशैं, तिहार र छठ पर्वपछि हरियो तरकारीको मोल ओरालो लाग्थ्यो । तर यसपटक बेमौसमी वर्षाले हरियो तरकारीको खेती प्रभावित भएको कारण मूल्य नघटेको हो । अहिले वर्षा कम भएको र गर्मीयाम शुरू भएकोले हरियो तरकारीको उत्पादन बढेर सस्तो भएको हो ।
गर्मी बढेसँगै कागतीको मोल भने आकाशिएको छ । दश रुपैयाँमा एउटा ठूलो कागती पाउने गरेकोमा अहिले रु २० मूल्य पुगेको छ । हरियो तरकारी सस्तो भएकोले यसको खरिदारी पनि बढेको छ । चार/पाँच जनाको परिवार सङ्ख्या रहेको घरमा हरियो तरकारी महँगो हुँदा आधा किलो खरीद गर्दथे भने अहिले सस्तो भएसँगै एक किलो खरिद गर्न थालिएको छ ।