प्रस, वीरगंज, १४ बैशाख/
पर्सा र बारामा अहिले अघोषित लोडसेडिङ भइरहेको छ ।
नेपाल विद्युत् प्राधिकरण स्रोतका अनुसार एक महीनादेखि दैनिक पाँच घण्टा लोडसेडिङ भइरहेको छ । स्थानीय तहको निर्वाचन मुखमा भएकोले सरकारले उद्योग, कलकारखानाको लाइन काटेर भएपनि आम उपभोक्तालाई विद्युत् आपूर्ति सहज तरीकाबाट वितरण गर्न निर्देशन दिएको छ । प्राधिकरणका एकजना कर्मचारीले सो कुराको पुष्टि गरेका छन् । उनले चुनावसम्म कुनै पनि हालतमा आम उपभोक्ताको लाइन नकाट्न र त्यस्तो अवस्था सृजना भएको खण्डमा उद्योगको लाइन काट्न निर्देशन भएको बताए ।
पर्सामा १०२ मेगावाट बिजुली आवश्यक छ । तर भारतबाट महँगो दरमा खरीद गरिएको ३३ मेगावाटसहित अहिले दैनिक ७० मेगावाट मात्र वीरगंज वितरण केन्द्रमा उपलब्ध छ । ३२ मेगावाटको अभाव वीरगंज वितरण केन्द्रले भोग्दै आएको छ ।
पर्सा र बारामा वीरगंज वितरण केन्द्र र सिमरा वितरण केन्द्रबाट उपभोक्ताहरूलाई विद्युत् आपूर्ति हुँदै आएको छ । पर्साका पाँच र बाराका पनि सोही हाराहारीमा रहेका उद्योगले ६६ केभिएबाट आफ्नो ट्रान्सफर्मर जडान गरी विद्युत् उपभोग गर्दै आएका छन् । ती उद्योगहरूको बिजुली नियमित छ तर अरू उद्योगहरूले लोडसेडिङ भोग्नुपरेको छ ।