प्रस, वीरगंज, १४ वैशाख/
पाँच दलीय गठबन्धनले बुधवार वीरगंजमा छलफल गरेको छ । छलफलमा गठबन्धन एकबद्ध भएर निर्वाचनमा सहभागी हुने निर्णय गरेको छ ।
नेपाली काङ्ग्रेस, पर्साका सभापति जनार्दन सिंह क्षत्रीको अध्यक्षतामा बसेको बैठकले विभिन्न उपसमिति गठन गरेको छ । नेकाका नेता श्यामकुमार पोखरेलको संयोजकत्वमा वीरगंज महानगरपालिका स्थानीय तह निर्वाचन परिचालन उपसमिति गठन भएको छ ।
बैठकमा समितिका नेकाका प्रकाशकुमार उपाध्याय, नेकपा माओवादी केन्द्रका सुरेन्द्र गुप्ता, जनता समाजवादी पार्टी मधेस प्रदेशका प्रदेशसभा सदस्य जन्नत अन्सारी, जसपाका नेता मुकेश द्विवेदी र नेकपा एकीकृत समाजवादी पार्टीबाट वीरगंज महानगर अध्यक्ष मनोज चौधरीलगायतको सहभागिता थियो ।
बैठकले पर्साका १३ स्थानीय तहमा गठबन्धनको अवस्था अध्ययन तथा विश्लेषणका लागि नेपाली काङ्ग्रेस, पर्साका नेता रामनारायण कुर्मीको संयोजकत्वमा जिल्लास्तरीय उपसमिति गठन गरेको छ । उक्त समितिको सदस्यमा नेपाली काङ्ग्रेसबाट अशोक गुप्ता, ललन द्विवेदी, जसपाबाट तबरेज अहमद, जनार्दन यादव, नेकपा माओवादी केन्द्रबाट शेखचाँद तारा, छोटेलाल यादव र नेकपा एकीकृत समाजवादी पार्टीबाट गङ्गाबहादुर खड्का छन् ।
बैठकमा सांसद प्रदीप यादवले गठबन्धनलाई पर्साका हरेक स्थानीय तहमा विजयी गराउनुपर्नेमा जोड दिए । केन्द्रीय गठबन्धनको निर्णयबमोजिम पर्सा जिल्लामा पनि गठबन्धनको पवित्रतालाई जोगाउन र गठबन्धनको मर्यादा कायम राख्नु सबै दल जिम्मेवार हुनुपर्ने उनले बताए ।
वीरगंज महानगरपालिकामा गठबन्धनबाट नगरप्रमुखका साझा उम्मेदवार राजेशमान सिंह र उपप्रमुखमा नेपाली काङ्ग्रेसका इम्तियाज आलम, नेकपा माओवादी केन्द्र पर्साका अध्यक्ष रामदरश कुशवाहा, जसपा पर्साका अध्यक्ष रामनरेशप्रसाद यादव, नेकपा एकीकृत समाजवादी पार्टी पर्साका अध्यक्ष बालगोपाल थापा, नेकपा एसका नेता चिरञ्जीवी आचार्यलगायतको सहभागिता थियो ।