प्रस, परवानीपुर, १३ वैशाख/
बारा सदरमुकाम कलैयामा पनि सत्तारूढ ५ दलीय गठबन्धन र प्रमुख प्रतिपक्ष नेकपा एमालेका उम्मेदवारबीच रोचक प्रतिस्पर्धा हुने भएको छ । कलैयामा ५ दलीय गठबन्धनका तर्फबाट काङ्ग्रेसले नगर प्रमुखमा र जसपाले उपनगर प्रमुखमा टिकट पाउने निर्णय भएको थियो । सोही अनुसार कलैयाको मेयरमा काङग्रेस बारा सभापति तथा निवर्तमान मेयर राजेशराय यादव र उपमेयरमा जसपाका केन्द्रीय सदस्य प्रमोदप्रसाद गुप्ताले उम्मेदवारी दर्ता गराएका छन् । कलैयास्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेर दुवैले दलबलका साथ उम्मेदवारी दर्ता गराएका थिए ।
त्यसैगरी सत्तारूढ गठबन्धनका उम्मेदवारलाई टक्कर दिन नेकपा एमालेले नगर प्रमुखमा नेकपा एमाले बाराका अध्यक्ष विनोद साहलाई नगर प्रमुखमा र एमालेकी मुस्लिम महिला नेत्री रौशन परवीनलाई उपनगर प्रमुखमा टिकट दिएको छ । दुवैले जुलूसका साथ मेयर र उपमेयरको उम्मेदवारी दर्ता गराएका छन् ।
गठबन्धनबाट दुर्ई दलले दुवै पुरुष उम्मेदवार अघि सारेका छन् भने एमालेले महिला तथा मुस्लिमको मत तान्न मुस्लिम महिलालाई टिकट दिएको बताइएको छ ।
जितपुरसिमरामा माओवादीका राजन र मेघासँग एमालेकी सरस्वती र भोलाको प्रतिस्पर्धा
बारा, जितपुरसिमरा उपमहानगरपालिकामा ५ दलीय गठबन्धन र नेकपा एमालेबीच कडा प्रतिस्पर्धा हुने देखिएको छ ।
वीरगंज–पथलैया औद्योगिक करिडर तथा बाराको थरूवान र जङ्गल क्षेत्र पर्ने जितपुरसिमरा उपमहानगरपालिकाको नगर प्रमुखमा गठबन्धनका तर्फबाट नेकपा माओवादी केन्द्रका राजन पौडेल र उपप्रमुखमा नेपाली काङ्ग्रेसकी मेघा शाहीले उम्मेदवारी दर्ता गराएका छन् । निर्वाचन अधिकृतको कार्यालयमा पुगेर पौडेल र शाहीले उम्मेदवारी दर्ता गराएका थिए ।
अघिल्लो स्थानीय तहमा माओवादीले धेरै वडा जितेको थियो । त्यसैले प्रमुखमा माओवादीले गठबन्धनको तर्फबाट टिकट पाएको हो । त्यसैको आधारमा केन्द्रीय गठबन्धनले गरेको निर्णय अनुसार नेकपा माओवादी केन्द्रले प्रमुख र नेपाली काङ्ग्रेसले उपप्रमुखमा उम्मेदवारी दिएका हुन् ।
गठबन्धनका उम्मेदवारलाई टक्कर दिन नेकपा एमालेका तर्फबाट नगर प्रमुखमा निवर्तमान उपमेयर सरस्वती चौधरी र उपप्रमुखमा भोला अधिकारीले उम्मेदवारी दर्ता गराएका छन् ।
यस अघि एमालेका जिल्ला नेता मनोज पौडेलको प्रमुखमा टिकट पाउने दाबी थियो । तर पार्टीले थारू भोटलाई मध्यनजर राख्दै तथा गठबन्धनको उम्मेदवारलाई कडा टक्कर दिन थारू समुदायकी सरस्वती चौधरीलाई नगर प्रमुखको टिकट दिएको छ ।