- उमाशङ्कर द्विवेदी
दुर्योधनको कुरा सुनेर कर्णले भने–प्रचण्ड प्रहार गर्ने, महान धनुर्धर, वीरवर भीमसेनले आफ्नो वाणबाट मेरो शरीर जर्जर पारिदिएका छन् र पनि ‘युद्धमा डटि रहनुपर्दछ’ भन्ने नियमको कारणले नै म यहाँ उभिन सकेको छु । भीमको विशाल वाणहरूबाट व्यथित हुनाको कारण मेरो शरीरमा हिंडडुल गर्न सक्नेसम्मको शक्ति छैन, तथापि अर्जुन जयद्रथलाई मार्न नसकोस्–यसै उद्देश्यले म यथाशक्ति युद्ध गर्नेछु, किनकि मेरो जीवन त तपाईंकै लागि छ ।
जति बेला कर्ण र दुर्योधन परस्पर यस किसिमका कुरा गर्दै थिए, त्यति बेला अर्जुन आफ्ना वाणहरूबाट तपाईंको सेनाको संहार गरिरहेका थिए । अनेकौं हात्ती, घोडा, ध्वजा, छत्र, धनुष, चँवर र योद्धाहरूको शिर अर्जुनको वाणबाट काटिएर यत्र–तत्र खसिरहेका थिए । आगोले जसरी तृणलाई डढाउँछ, त्यसै प्रकार अर्जुनले कुरैकुरामा तपाईंको सेनाको संहार गरिदिए ।
यस प्रकार अधिकांश योद्धाहरू मारिएपछि उनीहरू अगि बढ्दै जयद्रथको छेउमा पुगे । अर्जुनको यो पराक्रम तपाईंका सैनिकहरूले सहन गर्न सकेनन् । अतः जयद्रथको रक्षा गर्नको लागि दुर्योधन, कर्ण, वृषसेन, शल्य, अश्वत्थामा, कृपाचार्य र स्वयं जयद्रथले पनि अर्जुनलाई चारैतिरबाट घेरामा हाले । यी सबै महारथि जयद्रथलाई आफ्नो पछाडि राखेर श्रीकृष्ण र अर्जुनको वध गर्ने मनसायले निर्भय भएर उनको चारैतिर परिक्रमा गर्न थाले ।
सूर्य रातो भइसकेका थिए, उनीहरू सूर्यास्त हुने प्रतीक्षा गर्दै थिए र अर्जुनमाथि सयकडौं तिक्खर वाण वर्षा गरिरहेका थिए तर रणोन्मत्त अर्जुनले उनीहरूका वाणको दुई–दुई, तीन–तीन टुक्रा गर्दै ती सबै रथिहरूलाई आक्रान्त पार्दैथिए ।
अब उनीमाथि अश्वत्थामाले पचीस, वृषसेनले सात, दुर्योधनले बीस तथा कर्ण र शल्यले तीन–तीनवटा वाण प्रहार गरे । यस प्रकार सबैजना भयङ्कर गर्जना गर्दै उनलाई बारम्बार व्यथित पार्न थाले । फेरि छिट्टै सूर्यास्त होस्–यस अभिलाषाले आफ्नो रथलाई टसाएर मण्डलाकार उभ्याएर चारैतिरबाट उनीमाथि वाण वर्षा गर्न थाले तर यति हुँदाहुँदै पनि दुर्धर्ष वीर धनञ्जय तपाईंको सेनाका अनेकौं योद्धाहरूलाई धराशायी पार्दै सिन्धुराज जयद्रथतिर बढ्दै गए । अनि कर्णले आफ्नो वेगयुक्त वाणबाट उनको गति रोक्ने प्रयत्न गर्न थाले ।
कर्णले अर्जुनमाथि पचासवटा वाण प्रहार गरे । प्रत्युत्तरमा अर्जुनले उनको धनुष काटेर नौवटा वाणबाट कर्णको छातीमाथि प्रहार गरे । प्रतापी कर्णले तत्कालै अर्को धनुष उचालेर आठ हजारवटा वाण हानेर अर्जुनलाइ ठ््याम्मै ढाकिदिए । अर्जुनले पनि हस्तलाघव प्रदर्शन गर्दै सबै योद्धाहरूले हेर्दाहेर्दै कर्णलाई वाणबाट आच्छादित पारिदिए ।
यस प्रकार वाणबाट आच्छादित भएर पनि उनीहरूले एक अर्कामाथि प्रहार गर्दै थिए । यत्तिकैमा अर्जुनले धनुषको डोरी कानसम्म तानेर चारवटा वाण हानेर कर्णका घोडाहरूलाई मारिदिए तथा एउटा भल्ल हानेर सारथिलाइ पनि रथबाट तल झारिदिए ।
कर्णलाई रथविहीन भएको हेरेर अश्वत्थामाले उनलाइ आफ्नो रथमाथि बसाले, उनी फेरि अर्जुनसित भिडे, यसै बेला शल्यले तीसवटा वाण अर्जुनमाथि प्रहार गरे, कृपाचार्यले बीसवटा वाण श्रीकृष्णलाई र बा¥हवटा वाणबाट अर्जुनलाई व्यथित पारे तथा सिन्धुराजले चारवटा वाणबाट र वृषसेनले सातवटा वाणबाट श्रीकृष्ण र अर्जुनलाई घाइते पारे । यसै प्रकार अर्जुनले पनि चौसठ्ठीवटा वाण अश्वत्थामामाथि, एक सयवटा वाण शल्यमाथि, दशवटा वाण जयद्रथमाथि, तीनवटा वाण वृषसेनमाथि र बीसवटा वाण कृपाचार्यमाथि प्रहार गरे ।
अनि यी जम्मै महारथिहरू अर्जुनको प्रतिज्ञा भङ्ग गर्ने विचारले एकसाथ मिलेर उनीमाथि जाइलागे । उनीहरूले ग¥हुँगो गदा, फलामे परिघ, शक्ति तथा अरू पनि नानाथरीका अस्त्र–शस्त्रबाट उनीमाथि एकसाथ चोट गरे तर अर्जुन यस प्रकारले आक्रमण गरिरहेको कौरवसेनालाई हेरेर हाँस्दै अनेकौं वीरहरूको विध्वंस गरेर अगि बढिरहे ।
राजन, जति बेला अर्जुनले आफ्नो धनुषको डोरी तान्दथे त्यति बेला त्यसबाट इन्द्रको बज्र समान भयानक ध्वनि उत्पन्न हुन्थ्यो । त्यसलाई सुनेर तपाईंको सेना बौलाहाझैं भौंतारिन्थे । उनी यति फूर्तिका साथ वाण हान्दथे कि हामीलाई उनले वाण झिकेको, धनुषमाथि चढाएको, डोरी तानेको र वाण हानेको थाहा नै हुँदैन्थ्यो । अब उनले कुपित भएर दुर्जय ऐन्द्रास्त्रको प्रयोग गरे । त्यसबाट सयकडौं, हजारौं दिव्य वाणहरू प्रकट भए ।
कौरवहरूले पनि शस्त्रहरूको वर्षा गरेर आकाश अँध्यारो पारिदिए । त्यसलाई अर्जुनले मन्त्रबाट अभिमन्त्रित दिव्यास्त्रबाट नष्ट पारिदिए । यति बेला शूरवीर मैं हुँ भन्ने तपाईंका वीरहरू आगोमा होमिने फट््याङ्ग्राहरूझैं नष्ट हुन पुगे । यस प्रकार अनेकौं शूरवीरहरूको जीवन र सुयश नष्ट पार्दै अर्जुन युद्धस्थलमा मूर्तिमान मृत्युको समान विचरण गरिरहेका थिए । अर्जुनले त्यति बेला जुन दुस्तर अस्त्र प्रलय गरे त्यसमा ठूला–ठूला वीरहरू डुबे । सिर काटिएका गिंडहरू, बाहुहीन पिण्डहरू, हस्तहीन भुजाहरू, औंलाविनाका हातहरू, सूँड काटिएका हात्तीहरू, दन्तहीन मतङ्गहरू, घाइते ग्रीवावाल घोडा, भाँचिएका रथहरू तथा आन्द्रा झरेका, खुट्टा काटिएका निश्चेष्ट र आत्र्तनाद गरिरहेका सयकडौं हजारौ वीरहरूका कारण त्यो विशाल युद्धभूमि भीरु पुरुषका लागि अत्यन्त भयावह देखिंदै थियो । अर्जुनको यस्तो मूर्तिमान कालको समान अभूतपूर्व पराक्रम हेरेर कौरवसेनामा खैलाबैला मच्चियो । यस प्रकार भयानक कर्मद्वारा आफ्नो भीषणताको छाप लगाएर उनी बडेबडे महारथिहरूलाई नाघेर अगि बढ्दै गए । क्रमशः…।