माधव तिमिल्सिना, ठोरी, ८ वैशाख/
स्थानीय तहको चुनाव नजीकिंदै जाँदा पर्साको सबैभन्दा पश्चिमी गाउँपालिका ठोरीमा पनि दिनहुँ दल बदल्ने होडबाजी नै चल्न थालेको छ ।
दल बदल्नेहरूमा अधिकांश आसन्न स्थानीय तहको निर्वाचनमा साबिककै पार्टीबाट टिकट नपाएका र कतिपयले पार्टीभित्रको असन्तुष्टिका कारण दल बदलेको पाइएको छ ।
हिजो मात्र ठोरी गापामा नेकपा माओवादी केन्द्रका स्थानीय प्रभावशाली नेता वडाध्यक्ष रामप्रकाश कुँवर माओवादी परित्याग गरेर जनता समाजवादी पार्टी प्रवेश गरे । ठोरी गापाका प्रवक्तासमेत रहेका कुँवरसहित अन्य व्यक्तिहरू पनि उनीसँगै जसपामा प्रवेश गरे । कुँवरले पार्टी त्याग्नुको कारण नबताए पनि वडाध्यक्षको टिकट वितरणमा उनलाई बाइपास गरिएको अनुमान उनीनिकटका मानिसहरूले लगाएका छन् ।
हिजै माओवादी केन्द्रबाट ठोरी–४ मा वडासदस्यमा निर्वाचित मानबहादुर बुढाथोकीले पनि माओवादी परित्याग गर्दै एमाले प्रवेश गरे । उनले एमालेले आयोजना गरेको टोल भेलामा माओवादीमा व्यक्तिवाद हाबी भएको आरोप लगाउँदै जीवनभर माओवादी नफर्कने गरी एमाले प्रवेश गरेको घोषणा गरे । यसअघि अस्ति मङ्गलवार नेकपा माओवादी केन्द्रको बलियो आधार क्षेत्र ठोरी–४ ठाडोलाइनबाट माओवादी केन्द्रका युवा नेता काजी पाख्रिन काङ्ग्रेस प्रवेश गरेका
थिए ।
काङ्ग्रेसले उनलाई वडासदस्यको उम्मेदवार बनाएको छ ।
यसैबीच, निरु तामाङले एमाले परित्याग गरि माओवादी केन्द्र प्रवेश गर्दै सो पार्टीबाट उपाध्यक्ष पद हात पारेकी छन् । उनले एमाले परित्याग गरेर सोही शर्तमा माओवादी केन्द्र प्रवेश गरेकी र केन्द्रले उनलाई उपाध्यक्षको उम्मेदवार घोषणा गरेको छ ।
यता आज ठोरी गापा–३ बाट एमाले परित्याग गरेकी भीमकुमारी श्रेष्ठले पनि वडासदस्यको टिकट पाएकी छन् ।
एमालेबाट वडासदस्यमा टिकट पाउने सम्भावना न्यून देखेपछि उनी माओवादी केन्द्रमा प्रवेश गरेकी हुन् । अहिले ठोरीमा स्थानीय तहलाई लक्षित गरेर दिनहुँ सभा, समारोह भइरहेका छन् र यस्ता सभा, समारोहमा पार्टी प्रवेश कार्य तीव्र छ ।