राजेश केशरीवाल, रक्सौल, ८ वैशाख/
‘प्रहरी तपाईंको घरमा’ कार्यक्रम अन्तर्गत रक्सौलको थाना परिसरमा प्रहरी उपरीक्षक डा कुमार आशिषले स्थानीयको पीरमर्का, गुनासो सुने । कार्यक्रममा उमेश साह, धनमतिया कुँवर, सन्ध्या देवी, श्रीनिवास प्रसाद, दीपक गुप्ता, कमरूल होदा, पारसनाथ सिंह, त्रिपुरारी साह, हेमा देवी र गोपी किसनलगायतले आआफ्ना गुनासाहरू प्रहरी उपरीक्षक डा आशिषलाई सुनाएका थिए । गुनासो सुन्ने क्रममा प्रउ डा आशिषले थानाध्यक्षहरूलाई आफ्नो काम, कर्तव्य इमानदारिताका साथ पालन गर्न निर्देशन दिए । उनले लापरवाही नसहने र कसूर अनुसारको दण्डित गर्ने चेतावनी पनि दिए । प्रउ डा आशिषले राम्रो कार्य गरेबापत विभागले पुरस्कृत गर्दै आएको र नराम्रो कार्य गर्नेलाई पनि कारबाई गरिरहेको अवगत गराए । उनले समाजसँग मिलेर अपराध न्यूनीकरण गर्न सुझाए ।
कार्यक्रममा थाना प्रभारी डिएसपी सतीश सुमन, रक्सौल थानाध्यक्ष शशिभूषण ठाकुर, सुगौली थानाका इन्स्पेक्टर अभयकुमार सिंहलगायतको सहभागिता थियो ।
यसैगरी, ‘प्रहरी तपाईंको घरमा’ कार्यक्रम अन्तर्गत लागूऔषधविरुद्धको अभियानमा सचेतनाका लागि मोटरसाइकल ¥याली निकालिएको थियो । रक्सौल थानाबाट निकालिएको सो मोटरसाइकल ¥याली नगरपरिक्रमापछि सोही ठाउँमा आएर समापन भएको थियो ।
कार्यक्रममा लागूऔषधविरुद्ध सबैले एक भएर आवाज उठाउन सुझाइएको थियो । प्रउ डा आशिषले लागूऔषधको सेवनले समाज विकृतितर्फ उन्मुख हुने र युवाहरू यसको सजिलै शिकार हुने गरेको बताए । उनले समाज बिग्रे देश बिग्रन्छ भन्ने कुरालाई दृष्टिगत गरेर लागूऔषधविरुद्धको अभियान सार्थक पार्न घरबाट सुरुआत गर्नुपर्ने सुझाए । आफ्ना नानीहरू यसखाले कुलतको शिकार भएका छन् भने त्यसलाई सुधार्ने र प्रहरीमा सूचना दिएर सहयोग गर्न अपील गरे । यस्ता खाले विकृतिविरुद्ध प्रहरीले सक्दो सहयोग गर्ने उनले आश्वासन दिए । सो अवसरमा यो अभियानमा सहभागिता जनाउने विभिन्न सङ्घसंस्थालाई प्रउ डा आशिषले सम्मानित गरेका थिए ।