प्रमोद यादव, पंचगावाँ, ८ वैशाख/
पर्साका ग्रामीण क्षेत्रमा स्थानीय चुनावलाई लिएर दाबेदारहरूले मतदाता रिझाउन अहिलेदेखि मासु र मदिराको खोलो बगाउन शुरू गरिसकेका छन् । पर्साका ग्रामीण क्षेत्रको अवस्था विगतका चुनाव सरह छैन ।
मानिसहरू शिक्षित भएका छन्, रोजगारयुक्त छन् तर पनि केही प्रतिशत अशिक्षित, बेरोजगारीहरूलाई जम्मा गरेर चुनाव जित्ने अभिलाषा राखेका दाबेदारहरूले मदिरा र मासु खुवाउन शुरू गरेका हुन् । २०७८ चैत २५ गतेदेखि निर्वाचन आचारसंहिता लागू भएको छ र मतदाता आकर्षित पार्ने गरी यस प्रकारका गतिविधिमाथि पूर्णतया रोक लगाइएको छ । तर सखुवाप्रसौनी, पटेर्वासुगौली, जीराभावनी, ठोरी गाउँपालिका र पर्सागढी, बहुदरमाई, पोखरिया नगरपालिकामा दाबेदारहरूले होटल बूक गरी अबेर रातिसम्म मतदाताहरूलाई मदिरा र मासु सेवन गराइ आकर्षित पार्ने काम गरिरहेका छन् ।
अहिले राति ९ बजेपछि मदिरा बिक्री वितरण बन्द गर्नेतर्फ स्थानीय प्रहरीले चासो देखाएको छैन ।
स्थानीय चुनावमा स्थानीय दाबेदारबाट मतदाता आकर्षित पार्ने काम भएको र आफूहरू पनि सोही स्थानमा बसेर काम गर्नुपर्ने भएकोले प्रहरीले यस प्रकारका विकृतिविरुद्ध कदम चाल्न सकेको छैन । सखुवाप्रसौनी गापा–१ मधुवन मथवलकी सुनैना देवीले अबेर रातिसम्म होटल खोलेर जाड, रक्सीको खुलेआम बिक्री भइरहेको र स्थानीय प्रहरी मौन बसेको आरोप लगाएकी छन् । उनले निर्वाचन समाजको विकास र विकृतिविरुद्ध केन्द्रित हुनुपर्ने र दाबेदारहरूले पनि सोहीअनुरूपको गतिविधि अँगाल्नुपर्नेमा निर्वाचन आचारसंहिता उल्लङ्घन गरेर अबेर रातिसम्म मदिरा बिक्री हुनु र सोको रोकथाम गर्ने निकाय प्रहरी मौन बस्नुले चुनावमा विकृतिले झनै प्रसय पाएको उनले दाबी गरिन् ।
अहिले मदिराको खुलेआम बिक्रीले गाउँघरमा विवाद, कुटपिट, सवारी दुर्घटना बढेको उनको गुनासो छ ।
मदिरा खाएर निर्वाचनमा एकले अर्काको कुराको प्रतिवाद गर्ने जस्ता कारणले विवाद बढ्ने र कुटाकुट हुने गरेको सुनैना देवीले बताइन् ।