अहमदाबाद, ८ वैशाख/एएफपी
बेलायतका प्रधानमन्त्री बोरिस जोनसन भारत आइपुगेका छन् । उनी बिहीवार गुजरात आइपुगेको भारतीय राजधानी नयाँ दिल्लीबाट प्राप्त समाचारमा जनाइएको छ । गुजरात भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको गृह जिल्ला हो । उनी बिहीवार बिहान गुजरात आएको र उनले यहाँ राजनीतिक तथा अन्य भेटघाट गर्ने जनाइएको छ ।
गुजरातबाट प्राप्त समाचारमा बेलायतका प्रधानमन्त्री जोनसनले आजै यहाँका व्यावसायिक प्रतिनिधिहरूसँग भेटघाट गर्ने कार्यक्रम रहेको जनाइएको छ । गुजरात भारतीय मूलका बेलायती नागरिकहरूमध्ये करीब आधाजति नागरिकहरूको जन्मस्थल हो । गुजरातमा उनले व्यापारिक समुदायका नेताहरूसँग भेटघाटका क्रममा भारत र बेलायतबीच लगानीका विषयमा कुराकानी गर्ने बताइएको छ ।
उनी भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग द्विपक्षीय भेटवार्ताका लागि शुक्रवार राजधानी नयाँ दिल्ली प्रस्थान गर्ने जनाइएको छ । यस अघि प्रधानमन्त्री जोनसनले भारत भ्रमणको कार्यक्रम सार्वजनिक गरेको भए पनि कोरोना भाइरसको प्रकोपका कारण दुईपटकसम्म स्थगित भएको थियो । भारत र बेलायतमा नै कोरोना भाइरसको बढ्दो प्रकोपबाट ठूलो क्षति पुगेको थियो ।
यसपटक पनि उनले भारतमा रहँदा प्रधानमन्त्री नरेन्द्र मोदीसँग द्विपक्षीय वार्ताका क्रममा खासगरी आर्थिक लगानी, व्यापारिक साझेदारी, प्रतिपक्ष र जनता जनताबीच सम्पर्क एवं हरित गृहलगायत विषयमा आवश्यक छलफल र द्विपक्षीय सम्झौता गर्ने कार्यक्रम रहेको छ ।
यस भ्रमणका क्रममा उनीहरूबीच रूसले युक्रेनमाथि गरेको सैन्य हमलाबारे पनि कुराकानी हुने बताइएको छ । बेलायतले रूसले गरेको आक्रमणको विरोध गरिरहेको छ । प्रधानमन्त्री जोनसन हालैमात्र युक्रेनको राजधानी किभ पुगेका थिए । रासस