स्थानीय तहको चुनावका लागि मनोनयन दर्ताको समय नजीकिंदै गर्दा दलहरूलाई उम्मेदवार टुङ्गो लगाउने चटारो छ । अर्कोतर्फ दल प्रवेशको क्रम तीव्र छ । चुनाव केन्द्रित दल परिवर्तन गर्नेहरूका लागि नीति, सिद्धान्त तथा आदर्शभन्दा पनि कुर्सी मुख्य कारण देखियो । आफू रहिआएको पार्टी सङ्गठनबाट टिकट नपाउने वा टिकट पाए पनि नजित्ने अवस्था देखिएपछि आफूअनुकूल पार्टी हेरेर परिवर्तन गरिरहेका छन् । स्थानीय तहको चुनावको लागि यही वैशाख ११ र १२ गते मनोनयनपत्र दर्ताको मिति छ । उम्मेदवारका आकाङ्क्षी नेता, कार्यकर्ताहरूले जे पनि यही बीचमा गर्नु छ । एकातर्फ उम्मेदवारी पाउने/नपाउनेबारे टुङ्गो नभएकाहरूलाई अर्कोतर्फ पर्ख, पर्खको वचन दिइएको छ । पदकै लागि मरिहत्ते गर्नेहरू आफूले टिकट नपाएमा टिकट पाउने व्यक्तिलाई हराउन पाए मात्रै पनि सन्तुष्ट हुन्छन् । त्यसैले उनीहरू हराउनकै लागि भएपनि अर्को कुनै पार्टी वा स्वतन्त्र उम्मेदवारी दिने तयारीमा छन् । दलहरूले धेरै स्थानमा उम्मेदवारको छिनोफानो मनोनयन दर्ताको आसपासमा पुगेर गर्छन् । यसो गर्दा टिकट नपाएका आफ्ना नेता, कार्यकर्तारू अर्को दलमा गएर टिकट लिन सक्ने अवस्था न्यून रहने उनीहरूको बुझाइ छ ।

एउटा पार्टीबाट उछिट्टिएका नेता, कार्यकर्तालाई आफ्नो पञ्जामा पार्न अर्का दलहरू टन्नै हात फैलाएर उभिएका छन् । आफ्नो प्रभाव नरहेको वा उम्मेलवार बनिदिने भरपर्दो व्यक्तिसमेत नहेको अवस्थाका कतिपय दलहरू अर्को दलका व्यक्ति प्रवेश गरी आउँला र उम्मेदवार बनाउँला भनेर कुरिरहेका छन् । नयाँ तथा साना दलको मात्रै कुरा होइन, कतिपय स्थानीय तहमा पुराना, ठूला दलहरूको पनि हबिगत  उस्तै छ । च्याउझैं उम्रिएका राजनीतिक दलहरूले भित्ते उम्मेदवार मात्रै भने पनि बन्न मरिहत्ते गर्नेहरूको मनोकाङ्क्षा पूरा गरिरहेका छन् । सत्तारूढ पाँच दलीय गठबन्धनले टिकट सङ्ख्यालाई सीमित गराइदिएको छ । पाँच दलको तर्फबाट एउटै पालिकामा पाँचजना उम्मेदवार हुन्थे भने अब अधिकांश स्थानमा एकजना मात्रै उम्मेद्वार बन्दैछन् । यो क्रम अध्यक्ष वा प्रमुखमा मात्रै होइन, स्थानीय तहका सातवटै पदमा लागू हुने हुँदा ३५ जना उम्मेदवार हुने ठाउँमा गठबन्धनको कारण सातजना मात्रै उम्मेद्वार हुने भए । त्यसैले वर्तमान गठबन्धन दलका नेता, कार्यकर्ताहरू टिकटको सुरक्षा खोज्दै एक दलबाट अर्को दल चहार्ने क्रम जारी छ । पाँचसँग एक्लै लड्छु भनेर कुर्लने एमाले पनि अन्ततः चुनावी गठबन्धन बनाउने प्रयासमा लागेको देखिन्छ । यसो भयो भने उक्त पार्टीबाट बाहिरिनेहरूको सङ्ख्या पनि गन्न लायक हुनेछ । चुनाव जित्न सक्ने दल तथा उम्मेदवारहरू को को हुन् भन्ने कुरा हरेक स्थानीय तहका राजनीतिक दल तथा उम्मेदवारहरूलाई थाहा छ । कुनै पालिकामा दुईपक्षीय भिडन्त होला, कतै त्रिपक्षीय त कतै चौपक्षीय पनि होला । त्यसबाहेक प्रतिस्पर्धामा नै आउन नसक्ने दलहरूमा पनि टिकटको लागि मारामार चलेको छ ।

आफ्नो प्रभाव नहरे पनि राजनीतिक दलहरूले आउँदो संसदीय चुनावका लागि वा सङ्गठन विस्तार र दलको मत सुरक्षित राख्न उम्मेदवार खडा गर्नु स्वाभाविक कुरा हो । तर हार निश्चित देख्दादेख्दै पनि पैसा खर्चिएर चुनाव लड्न चाहने उम्मेदवारहरू साँच्चिकै लड्नकै लागि उठ्न चाहेका हुन् वा अरू नै कारण छ ? कारण एउटै रहेछ, चिनिन वा स्थापित हुन । स्थापित किन हुनुप¥यो, यसको कारण धेरै छन् । अलिकति चिनिन पायो भने आफ्नो दल र अर्का दलका उपल्लो नेताहरूले चिन्नेछन् । हारे पनि भोलि दलीए भाग शान्तिको  अवस्था आउँदा भाग पाउन सकिन्छ । गाउँटोलमा बजेटको मूल फुटेको छ । त्यसमा पहुँच पु¥याउन नेतामा दरिनुपर्छ । अर्कोतर्फ हरेक उद्योगी, व्यापारी, कर्मचारी, तस्कर, भूमाफियाहरूले आफ्नो पक्षमा बोलिदिन वा मध्यस्थता गरिदिन पकेट नेताहरू राखेका हुन्छन् । त्यस्ता पकेट नेतामा भर्ना हुन पनि नेताको योग्यता पुगेको व्यक्ति हुनुपर्छ । यसको निम्ति दुई/चार पटक चुनाव हार्नु पनि भरपर्दो योग्यता हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here