• अनन्तकुमार लाल दास

हाल रूस र युक्रेन युद्धको प्रत्यक्ष असर विश्वभरि देखापरिरहेको छ । तेस्रो विश्वयुद्धको सम्भावना बढ्दै गएको छ, जसको भयावह परिणाम बुझ्न प्रथम विश्वयुद्धपछि उत्पन्न ऐतिहासिक विश्वव्यापी आर्थिक सङ्कट अवलोकन गर्न र त्यसबाट सबक सिक्न जरूरी छ । प्रस्तुत आलेखमा सोबारे चर्चा गर्ने जमर्को गरिएको छ ।

प्रथम विश्वयुद्धको आर्थिक परिणामबाट के स्पष्ट हुन्छ भने युद्ध पछि विजेता र विजित दुवै देशको आर्थिक स्थिति दयनीय भएको थियो । युद्धमा दुवै पक्षको ठूलो धन व्यय भएको थियो । युद्धले गर्दा विकास कार्य ठप्प हुन पुगेको थियो । विजयी राष्ट्रहरूले हारेका राष्ट्रसँग क्षतिपूर्ति असुल गर्न दबाब दिन थालेका थिए तर त्यसमा आशा अनुरूप सफलता प्राप्त भइरहेको थिएन । कारण के थियो भने हारेको देश जर्मनीसँग क्षतिपूर्ति दिनका लागि केही छँदै थिएन किनभने उसको प्राकृतिक स्रोतमाथि जितेका देशहरूको कब्जा थियो ।

युद्धबाट युरोपेली औद्योगिक विकासले ठूलो नोक्सानी बेहोर्नुप¥यो जसले गर्दा विकसित देशहरूले पनि केही निर्यात गर्न सकिरहेका थिएनन् र आर्थिक स्थिति दयनीय भएको थियो । यसको प्रभाव धनी देश अमेरिकामाथि पनि प¥यो र उसले अन्य देशहरूलाई ऋण दिन छाड्यो । परिणामस्वरूप ऋणी देशहरूले ऋण भुक्तान गर्न बन्द गरे । परिणाम के भयो भने विश्वमैं बेरोजगार र भोकमरी पैmलिन थाल्यो । प्रशासन अस्तव्यस्त भयो र राजनीतिज्ञ र अर्थशास्त्रीहरू विचलित भएर कारण खोतल्न थाले ।

यस विश्वव्यापी आर्थिक सङ्कटका निम्न कारणहरू थिए–

विश्वयुद्धबाट उत्पन्न परिस्थिति ः आर्थिक सङ्कटको सबैभन्दा महŒवपूर्ण कारण विश्वयुद्धबाट उत्पन्न परिस्थितिहरू थिए । कारण के थियो भने यसभन्दा पूर्व भएको नेपोलियन युद्ध र अमेरिकाको गृहयुद्धले पनि आर्थिक सङ्कट ल्याएको थियो । खासगरी युद्धको बेला सैन्यशक्तिमा अत्यधिक वृद्धि हुन्छ सँगसँगै युवाशक्ति सेनामा भर्ती भएपछि श्रमिकको सङ्ख्यामा कमी हुन्छ र श्रम मूल्य र रोजगारको अवसर बढ्छ । यसबाट केही समयको लागि वृद्धि भए पनि पछि आर्थिक सङ्कट उत्पन्न हुन्छ । प्रथम विश्वयुद्धपछि पनि यही भयो । सन् १९१९ मा युद्ध समाप्त भएको १० वर्ष पछि सन् १९२९ मा विश्वलाई आर्थिक सङ्कट झेल्नुपरेको थियो ।

युद्धकालीन ऋण ः आर्थिक सङ्कटको अर्को कारण युद्धकालीन ऋण थियो । युद्धमा संलग्न राष्ट्रहरूलाई ठूलो धनराशि अन्य राष्ट्रसँग ऋण लिएर खर्च गर्नुपरेको थियो । युद्ध समाप्त भएपछि त्यो  ऋण चुक्ता गर्ने उनीहरूको सोच थियो तर युद्धपछि चुक्ता गर्न अप्ठेरो पर्न थाल्यो । युरोपका धेरैजसो देशले इङ्गल्यान्डसँग ऋण लिएका थिए र इङ्गल्यान्डले अमेरिकासँग । इङ्गल्यान्डले गरेको लगानी हासिल गर्न नसकेकोले अमेरिकासँग लिएको ऋण चुक्ता गर्न सकेन । परिणामस्वरूप स्वर्ण मुद्राभन्दा कागजी मुद्रा प्रचलित भयो ।

युद्धमा वृद्धि ः युद्धको प्रभावले जहाँ एकातिर अधिकांश मुलुकको आर्थिक स्थिति दयनीय भयो त्यहीं अर्कोतिर केही देश यस्ता थिए जसको उत्पादन युद्धकालमा पनि ठप्प भएन । युद्ध उनीहरूको लागि आर्थिक अभिवृद्धिको अवसर बन्यो । शान्ति स्थापित हुनासाथ दैनिक वस्तुको मागमा वृद्धि भयो तर उत्पादन बढेन । फलस्वरूप त्यस्ता वस्तुहरूको मूल्यमा वृद्धि हुन थाल्यो । यसको फाइदा अमेरिका र जापानलाई भयो र उनीहरूको आर्थिक स्थिति सबल भयो ।

यन्त्रहरूको वैज्ञानिकीकरण ः युद्धको बेला लाखौं मानिसले ज्यान गुमाएको कारण कलकारखाना र कृषिको क्षेत्रमा काम गर्ने मानिसको अभाव हुन थाल्यो । यस कारण उनीहरूले नयाँ–नयाँ यन्त्र आविष्कार गरे र श्रमिकको ठाउँ मेशीनले लिन थाल्यो । यसबाट गुणस्तरीय उत्पादन तयार हुन थाल्यो । युद्ध समाप्त भएपछि मानव शक्ति पुनः उपलब्ध भयो तर उनीहरूका लागि  जागीर थिएन । यसबाट युरोपमा आर्थिक सङ्कटको बादल देखा प¥यो ।

सुन वितरणमा विषमता ः युरोपेली देशहरूलाई ऋण दिने देशहरूमा सबैभन्दा प्रमुख अमेरिका नै थियो । अमेरिकाले लगानी गरेको ऋणको भुक्तान सुनको रूपमा लिन्थ्यो । यसरी युरोपेली देशहरूको सुन अमेरिकामा थुप्रिन थाल्यो । यसबाहेक उसले गरेको उत्पादन पनि यिनै देशमा निर्यात हुन्थ्यो । यसबाट त्यहाँ धनको मात्रामा वृद्धि हुन थाल्यो । फ्रान्सले पनि जर्मनीसँग युद्धको खर्च सुनकै रूपमा लिन स्वीकार ग¥यो । यस कारण अमेरिका र फ्रान्ससँग सुनको भण्डार भयो र अन्य देश खाली भए । यस कारण युरोपेली देशहरूमा सुनको भाउ बढ्यो र सुनको मुद्रामा कमी भयो ।

क्रयशक्तिमा ¥हास हुनु ः कृषिको आधुनिकीकरणले गर्दा अस्ट्रेलिया र अमेरिकामा अत्यधिक मात्रामा  अन्नबाली हुन थाल्यो । धेरैजसो किसान र मजदूर बेरोजगारी भए । कारखानाको उत्पादनमा वृद्धि त भयो तर समान्य मानिसको क्रयशक्ति कमजोर भएको कारण उत्पादनको उचित मूल्य हासिल हुन सकेन ।

आर्थिक राष्ट्रियता ः साम्राज्य विस्तारको एउटा कारण आर्थिक राष्ट्रियता पनि हुन्छ । यस भावनाबाट प्रेरित देशहरू आफ्नो मात्र हित रुचाउँछन् । आफूले उत्पादन गरेको सामानको खपतमा कमी उनीहरूलाई स्वीकार हुँदैन । युद्धभन्दा पहिले एक देशको उत्पाद अर्को देशमा स्वतन्त्रतापूर्वक जान्थ्यो । इङ्गल्यान्डजस्ता साम्राज्यवादी देश पनि स्वतन्त्र व्यापार नीतिमा विश्वास गर्थे । यस नीतिले गर्दा व्यापारको स्वरूप अन्तर्राष्ट्रिय बनेको थियो । तर युद्धपछि युरोपका अधिकांश देशहरूले स्वतन्त्र व्यापार नीति त्यागेर व्यापार बढाउन ‘संरक्षित नीति’ अवलम्बन गर्न थाले । इङ्गल्यान्डले आफ्नो उपनिवेशमा इतर देशबाट आउने सामानमाथि प्रतिबन्ध लगायो । साथै उपनिवेश देशहरूलाई त्यहाँ भएको कच्चा माल इङ्गल्यान्ड पठाउन विवश बनायो । यस नीतिले गर्दा गुलाम देशहरूको आर्थिक स्थिति झन् दयनीय भयो र शक्तिशाली देशहरूको आर्थिक स्थिति बलियो हुन थाल्यो ।

आर्थिक सङ्कटको तात्कालिक कारण ः सन् १९२९ मा न्युयोर्कको शेयर बाजारमा उत्पन्न आर्थिक सङ्कट यसको तात्कालिक कारण बन्यो । यस घटनाभन्दा पहिले अमेरिकाका धनी व्यापारी जर्मनी र युरोपीय देशहरूमा पर्याप्त धन व्यय गरिरहेका थिए । यसबाट जर्मनीमा जुन उद्योग स्थापित भयो त्यसबाट जर्मनीलाई क्षतिपूर्तिको राशि भुक्तान गर्न सजिलो भयो । यसैगरी अन्य देशहरू पनि बिस्तारै अमेरिकाबाट लिएको ऋणको भुक्तान गरिरहेका थिए । यसरी अमेरिकाको पूँजी युरोपलाई समृद्ध बनाएर अमेरिकामैं फर्किरहेको थियो तर सन् १९२९ को आर्थिक सङ्कटको फलस्वरूप अमेरिकाका पूँजीपतिहरूले युरोपेली देशहरूमा धन व्यय गर्न बन्द गरिदिए । परिणामस्वरूप यसबाट युरोपका देशहरूको समृद्धिको बाटो मात्र अवरूद्ध भएन, वरन् अमेरिकाले लगानी गरेको ऋणको भुक्तानको बाटो पनि अवरूद्ध भयो । जसले गर्दा सम्पूर्ण युरोपमा आर्थिक सङ्कट प्रारम्भ भयो ।

हालका दिनहरूमा रूस–युक्रेन युद्धका कारण अन्य देशहरूमा पनि यस्तै आर्थिक सङ्कट देखा पर्न थालेको छ । यसबाहेक हाम्रोजस्तो भूपरिवेष्ठित देशमा पनि विभिन्न राजनीतिक दलबीच चलिरहेको आन्तरिक द्वन्द्व, दूरदर्शिता अभाव, अन्य देशहरूबाट लिएको ऋणको भार बढ्दै गएको, रेनिटान्समा कोरोनाले गर्दा कमी आएको, निर्यातभन्दा आयात बढी हुने गरेको र कुनै पनि सरकारले भ्रष्टाचारमाथि नियन्त्रण गर्न नसकेकोले विदेशी मुद्राको अभावका कारण आर्थिक सङ्कट बढ्ने सम्भावना एकातिर छ भने खर्चिलो निर्वाचन पद्धतिले गर्दा पनि श्रीलङ्काजस्तै आर्थिक सङ्कट उत्पन्न हुने सम्भावना बढेर गएको छ । यसप्रति समयमैं सबै दललगायत नागरिक समाज सचेत हुन आवश्यक छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here