नितेश कर्ण, वीरगंज, ३० चैत/

नेपाली काङ्ग्रेस, वीरगंज महानगर कार्यसमिति, क्षेत्रीय तथा प्रदेश सभापतिहरूले बुधवार पत्रकार सम्मेलन गरी गठबन्धन गरी स्थानीय चुनाव लड्ने पार्टी सभापति शेरबहादुर देउवाको निर्णयको विरोध गरेका छन् ।

नेका वीरगंज महानगर कार्यसमितिका सभापति मणिन्द्रलाल नेपाली, पर्सा क्षेत्र नं १ का सभापति अरविन्द गुप्ता, प्रदेश सभापतिहरू अनिल श्रीवास्तव, वेदनप्रसाद चौधरी, अनिल सिंह र शैलेन्द्र उपाध्यायले कुनै पनि दलसँग गठबन्धन नगरी नेका एक्लै स्थानीय चुनावमा भाग लिएको खण्डमा पूर्ण सफलता पाउने दाबी गरे । उनीहरूले दलीय गठबन्धनको आधारमा पार्टीका साथीहरूको भावनाविपरीत निर्वाचनमा भाग लिएको खण्डमा पार्टीलाई ठूलो घात हुने भन्दै पार्टीको ध्यानाकर्षण गराएका छन् । उनीहरूले पत्रकार सम्मेलनमा कुनै पनि हालतमा गठबन्धन स्वीकार्य नभएको पार्टी केन्द्रीय कार्यालयलाई विज्ञप्तिमार्फत अवगत गराएका छन् । यसअघि नेपाली काङ्ग्रेस, पर्साले फागुन महीनामा गठबन्धन गरी निर्वाचनमा सहभागी नहुने भनेर निर्णय गरेको थियो ।

नेका, पर्साको सो निर्णयलाई पत्रकार सम्मेलनमार्फत प्रवक्ता रमेशनाथ पाण्डेले सार्वजनिक गरेका थिए । गठबन्धनको हल्ला चलिरहेको बेला पर्सा काङ्ग्रेसले स्थानीय तहको निर्वाचनमा पर्सामा गठबन्धन नगरी नेका एक्लै निर्वाचन लड्न समक्ष भएको भन्दै गठबन्धनको विरोध गरेको
थियो । अहिले सरकारमा रहेका नेका, माओवादी केन्द्र, नेकपा एस, जसपा र राष्ट्रिय जनमोर्चा पार्टीले चैत २९ गते स्थानीय चुनाव गठबन्धनबाट लड्ने निर्णय गरेको थियो । यसका लागि वडाध्यक्ष, सदस्यहरूको वैशाख ३ गतेसम्म सिफारिश बुझ्न र प्रमुख तथा उपप्रमुखको सिफारिश गरी चैत ५ गतेसम्म पठाउन निर्देशन गरेको छ ।

गठबन्धनले प्रमुख र उपप्रमुखको नाम केन्द्रीयस्तरबाट टुङ्गो लगाउने र सोमुनिका पदको टुङ्गो जिल्ला तहबाट गर्ने निर्णय अनुरूप सर्कुलर पठाएको छ । पाँच दलीय गठबन्धनको सरकारमा नेकाबाट गठबन्धनको विरोध देशव्यापीरूपमा भइरहेको छ र पर्सा यसमा अग्रपङ्क्तिमा उभिएको छ ।

धर्मेन्द्र चौरसिया, पोखरिया/

गठबन्धनबाट स्थानीय चुनाव लड्ने विषयमा आक्रोशित माओवादी कार्यकर्ताहरूले नेकपा माओवादी केन्द्र, पर्साको पार्टी कार्यालय तोडफोड गरेर तालाबन्दी गरेका छन् ।

वीरगंज महानगर–१३ राधेमाईस्थित पार्टी कार्यालयमा कार्यकर्ताहरूले बुधवार दिउँसो तोडफोड गरेका हुन् । उनीहरूले कार्यालयमा पुगी कुर्सी, टेबुल तोडफोड गर्नुका साथै तालाबन्दी गरे ।

कार्यकर्ताहरूले पार्टी कार्यालय तोडफोड र तालाबन्दीको मुख्य कारण गठबन्धनबाट चुनाउमा भाग लिने भएको जनाउँदै ध्यानाकर्षणपत्र फालेका थिए । सो पत्रमा पालिका र वडास्तरमा सरसल्लाह नगरी गठबन्धनको बहानामा पार्टीका इमानदार नेता, कार्यकर्ताको राजनीतिक हत्या गर्न खोजिएको, कार्यालय र पार्टीको नाममा जिल्ला पदाधिकारीले ठाउँ–ठाउँमा  चन्दा मागेर व्यक्तिगत खर्च चलाइरहेको आरोप पनि लगाइएको छ ।

पत्रमा जिल्ला संयोजक र सचिवको यथाशीघ्र राजीनामा माग गरिएको छ । ध्यानाकर्षण पत्रमा पार्टीका सबै इमानदार नेता तथा कार्यकर्ता भनेर सम्बोधन गरिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here