वाशिङ्टन, २५ चैत/एएनआई
रूसलाई संयुक्त राष्ट्रसङ्घको मानव अधिकार परिषद्बाट निलम्बन गरिएको छ । राष्ट्रसङ्घीय महासभामा मतदान हुँदा रूसका विरुद्धमा पर्याप्त मत परेकाले परिषद्बाट रूस निलम्बित भएको
हो ।
रूसले युक्रेनमाथि आक्रमण गरेर मानव अधिकार उल्लङ्घन गरेकाले मानव अधिकार परिषद्मा बस्न रूसलाई दिन नहुने भन्दै रूसलाई निलम्बन गरिएको जनाइएको छ ।
महासभामा भएको मतदानमा रूसलाई निलम्बन गर्नुपर्ने पक्षमा ९३ मत परेको थियो भने विपक्षमा २४ मत परेको थियो । त्यसैगरी, ५८ देश मतदानमा सहभागी भएका थिएनन् । रूसलाई मानव अधिकार परिषद्बाट निलम्बित गरिएकोप्रति अमेरिकाका राष्ट्रपति जो बाइडेनले खुशी व्यक्त गरेका छन् । उनले रूसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई एक्ल्याउनुपर्नेमा जोड दिए ।
“संयुक्त राष्ट्रसङ्घको मानव अधिकार परिषद्मा रूसलाई रहन नदिएकोमा मलाई अत्यन्त खुशी लागेको छ, राष्ट्रसङ्घीय महासभामा रूसविरुद्ध मतदान गर्नेहरूलाई धन्यवाद छ,” राष्ट्रपति बाइडेनद्वारा जारी वक्तव्यमा उल्लेख गरिएको छ ।
परिषद्बाट रूसलाई हटाउनु अन्तर्राष्ट्रियरूपमा अर्थपूर्ण घटना भएको पनि उनले बताएका छन् ।
रूसद्वारा संयुक्त राष्ट्रसङ्घीय मानव अधिकार परिषद्को सदस्यता त्यागेको घोषणा
जेनेभा/सिन्ह्वा
रूसले संयुक्त राष्ट्रसङ्घीय मानव अधिकार परिषदको सदस्यता त्यागेको घोषणा गरेको छ । बिहीवार रूसी विदेश मन्त्रालयले बिहीवार एक विज्ञप्तिमार्फत सो कुराको जानकारी गराएको हो । संयुक्त राष्ट्रसङ्घीय महासभाले बिहीवार एक रिजोलुशनमार्फत रूसलाई सो परिषद्को सदस्यताबाट निलम्बन गर्ने विषयको प्रक्रिया अघि बढाएको थियो ।
त्यसैले सो प्रस्ताव पारित हुनुअगावै रूसले संयुक्त राष्ट्रसङ्घीय मानव अधिकार परिषद्को सदस्यता त्याग गरेको घोषणा बिहीवार गरेको बताइएको छ । रासस