• उमाशङ्कर द्विवेदी

उनीहरूले भुजाहरूलाई बेरेर, टाउकोमा टाउको जोडी, खुट्टा तानेर, तोमर, अङ्कुश नामक दाउपेंच देखाउँदै भुँडीमा घुँडा टेकेर, पृथ्वीमाथि घुमाएर, अगि–पछि हटेर, धक्का हानेर, खसालेर र माथि उफ्रेर अटल युद्ध गरे । मल्लयुद्धमा बत्तीसवटा दाउ हुन्छन्, ती जम्मैको प्रयोग देखाउँदै उनीहरूले डटेर कुश्ती गरे ।

अन्तमा सिंहले जसरी हात्तीलाई लखार्दछ, त्यसै प्रकारले कुरुश्रेष्ठ भूरिश्रवाले सात्यकिलाई भुइँमा घिसार्दै अनायास उचालेर पछारिदिए, अनि छातीमा लात्तीले हानी उनको कपाल समातेर म्यानबाट तरबार झिके । अब उनी सात्यकिको कुण्डलमण्डित मस्तक काट्ने दाउमा थिए तथा सात्यकि पनि उनको हातबाट उम्कनको लागि कुम्हालेले जसरी डन्डाले चक्र घुमाउँछ, त्यसै प्रकार कपाल समातेको भूरिश्रवाको हातसहित आफ्नो मस्तकलाई घुमाइरहेका थिए, यसैबेला श्रीकृष्णले अर्जुनसित भने–महाबाहो, हेर्नुहोस्, तपाईंको शिष्य सात्यकि यतिबेला भूरिश्रवाको हातमा फेला परेका छन् । सात्यकि धनुर्विद्यामा तपाईंभन्दा कम्ती छैनन् । आज यदि भूरिश्रवा सत्यपराक्रमी सात्यकि बढी भए भने उनको विक्रम अयथार्थ मानिनेछ । श्रीकृष्णले यति भनेपछि महाबाहु अर्जुनले मनमनैमा भूरिश्रवाको पराक्रमको प्रशंसा गर्दै वसुदेवनन्दनसित भने– माधव, यतिबेला मेरो दृष्टि जयद्रथमाथि लागेको छ, त्यसैले म सात्यकिलाई हेरिरहेको छैन । तापनि यस यदुश्रेष्ठको रक्षा गर्नको लागि एउटा दुष्कर कर्म गर्दैछु । यति भनेर श्रीकृष्णको कुरा मान्दै उनले गाण्डीव धनुषमाथि एउटा तीखो बाण सन्धान गरेर भूरिश्रवाको त्यो भुजा काटिदिए, जुन हातमा उनले तरबार उचालेका थिए ।

यो दृश्य हेरेर सबै प्राणीलाई बडो दुःख भयो । भूरिश्रवा सात्यकिलाई छाडेर अलग गई उभिएर अर्जुनको निन्दा गर्न थाले । उनले भने– अर्जुन, म अर्कासित युद्ध गरिरहेको थिएँ, तिमीतर्फ त मेरो दृष्टि पनि थिएन । यस्तो बेलामा तिमीले मेरो हात काटेर बडो त्रूmर कर्म ग¥यौ । धर्मपुत्र राजा युधिष्ठिरले सोधेपछि–संग्रामभूमिमा सात्यकिको साथ युद्ध गर्दै गरेका भूरिश्रवालाइ मारिदिए– भनेर भन्न सक्नेछौ ? तिमीलाई यो अस्त्रनीति साक्षात् इन्द्रले सिकाएका हुन् वा महादेवले अथवा द्रोणाचार्यले सिकाएका हुन् ? तिमी त संसारमा अस्त्रधर्मको सबैभन्दा बडो ज्ञाता मानिन्छौ अनि कसरी अर्काको साथमा युद्ध गरिरहेको बेला ममाथि प्रहार गर्न सक्यौ ? मनस्वीहरूले मात्तिएका, भयभीत भएका, रथहीन, प्राणको भिक्षा माग्ने वा आपत्तिमा परेका पुरुषमाथि कहिल्यै पनि वार गरिन्दै भनेका छन्, अनि तिमीले यो नीच पुरुषहरूको योग्य अत्यन्त दुष्कर पापकर्म किन ग¥यौ ?

अर्जुनले भने– राजन्, साँच्चै बूढो भएपछि मान्छेको बुद्धिलाइ पनि बुढ्यौली लाग्दछ । त्यसैले तपाईंले यस्ता कुराहरू गर्दै हुनुहुन्छ । तपाईंले श्रीकृष्णलाई राम्रोसित जान्नुहुन्छ र पनि उनको र मेरो निन्दा गर्दै हुनुहुन्छ । तपाईं युद्धधर्मको ज्ञाता र समस्त धर्मको मर्मज्ञ हुनुहुन्छ  तथा म पनि कुनै अधर्म गर्न सक्दिनँ–यो कुरा थाहा पाएर पनि यस्ता बेफ्वाक कुरा किन गरिरहनुभएको छ ? क्षत्रियहरूले आफ्ना भाइ, पिता, पुत्र, सम्बन्धी एवं बन्धु–बान्धवसहित नै शत्रुको साथ संग्राम गर्ने गर्दछन् । यस्तो स्थितिमा आफ्नो शिष्य र सम्बन्धी सात्यकिको रक्षा किन नगर्ने ? सात्यकि त मेरो दाहिने हात समान हुन् र आफ्नो प्राणको पनि पर्वाह नगरेर मेरोलागि युद्ध गरिरहेका छन् । संग्रामभूमिमा केवल आफ्नो मात्र रक्षा गर्नुहुँदैन, बरु आफ्नोलागि जो युद्ध गरिरहेको हुन्छ, त्यसको रक्षाको ध्यान पनि अवश्य राख्नुपर्दछ । त्यस्तो मानिसको रक्षा भएमा मात्र संग्राममा राजाको पनि रक्षा हुन्छ । यदि मैले संग्रामभूमिमा सात्यकिलाई मरिरहेको हेरेर मलाई पाप लाग्नेथ्यो, त्यसैले मैले सात्यकिको रक्षा गरेको हुँ । अर्कासित युद्धमा लागिरहेको बेला मैले तपाईंलाई धोका दिएँ भनेर तपाईंले मेरो निन्दा गरिरहनुभएको छ, यो तपाईंको बूढो बुद्धिको भ्रम हो । जतिबेला आफ्नो र शत्रुपक्षको सबै योद्धा युद्ध गरिरहेकै बेला तपाईं सात्यकिसित गई भिड्नुभएको थियो, त्यसै बेला त मैले यस्तो कर्म गरेको छु । अनि यस सैन्य समुद्रमा एउटा योद्धा एउटै योद्धाको साथमा संग्राम गर्नु कसरी सम्भव छ ? तपाईंले त आफ्नै निन्दा गर्नुपर्ने हो, किनकि जब आफ्नो रक्षा आफैंले गर्न नसक्नेले आफ्ना आश्रितको रक्षा कसरी गर्न सक्छ ?

अर्जुनले यस्तो भनेपछि भूरिश्रवाले सात्यकिलाई छाडेर आमरण उपवास गर्ने व्रत लिए । उनले देब्रे हातले बाण ओछ्याएर ब्रह्मलोकमा जाने इच्छाले प्राणलाई वायुमा, नेत्रलाई सूर्यमा र मनलाई स्वच्छ जलमा होम गरिदिएर महोपनिषद्संज्ञक ब्रह्मको ध्यान गर्दै योगयुक्त भएर उनले मुनिव्रत धारण गरे । यतिबेला सेनाका जम्मैजना श्रीकृष्ण र अर्जुनको निन्दा गर्न थाले, तर भूरिश्रवाले आफ्नो मुखबाट कुनै पनि किसिमको अप्रिय वचन बोलेनन् तथापि अर्जुनलाई उनको र आफ्नो कुरा सहन हुन सकेन । अर्जुनले कुनै पनि किसिमको क्रोध प्रकट नगरेर भने– मेरो यस व्रतबारे यहा सबैलाइ थाहा छ कि यदि कोही हाम्रो पक्षको मानिस मेरो बाणको पहँुचमा छ भने कसैले पनि उसलाई मार्न सक्दैन । भूरिश्रवाजी, मेरो यस नियमबारे विचार गरेर मेरो निन्दा गर्नु उचित हुँदैन । धर्मको मर्म नजानेर कसैले पनि अर्काको निन्दा गर्नुहँुदैन । मैले तपाईंको सशस्त्र भुजालाई काटेर कुनै अधर्म गरेको होइन । बालक अभिमन्युको हातमा न त कुनै हतियार थियो, न कवच र रथ पनि नष्ट भइसकेको थियो र पनि तपाईंहरूले मिलेर उसलाई मारिदिनुभएको थियो । यस कुकर्मलाई कुन धर्मात्मा पुरुषले राम्रो भन्नेछ ? अर्जुनको यस्तो कुरा सुनेर भूरिश्रवा त्यही निहुरमुन्टो लगाएर बसिरहे । क्रमशः…

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here