• बैधनाथ श्रमजीवी

भनिन्छ, आवश्यकता नै आविष्कारको जननी हो । मानव समाजले विकासको क्रममा जङ्गलीयुग (आदिम साम्यवाद), दास युग, सामन्ती युग हुँदै जब पूँजीवादी  युगमा प्रवेश ग¥यो, त्यति बेला पूँजीवादी युगको विकासमा सबैभन्दा ठूलो बाधक सामन्ती राजा महाराजा नै थिए । पूँजीवादले सामन्ती किल्ला नभत्काइकन समाजको विकासक्रम अगाडि बढ्नेवाला थिएन । एकातर्फ पूँजीवादले मेशिनको आविष्कारमा नयाँ–नयाँ प्रगति गर्दै गयो भने अर्कोतर्फ समाजभित्र त्यही मेशिनले गर्दा नयाँ वर्ग जन्मिन पुगे । जङ्गली युगदेखि सामन्ती युगसम्म कतै नदेखिएको मजदूर सर्वहारा वर्गको रूपमा पूँजीवादभित्र विकास हुनु नै माक्र्सवादको वस्तुगत आधार तयार पार्नु हो । खासगरी युरोपमा ठूलठूला उद्योगधन्दाहरू एकपछि अर्को स्थापना हुँदै गएपछि कारखानाबाट उत्पादित तिनै वस्तुको बिक्री वितरणको लागि ठूलो बजारको आवश्यकता पर्न गयो । हो, यही बजारको छिनाझप्टीले विश्वयुद्धसम्मको भौतिक आधार तयार पार्दै थियो भने अर्कोतर्फ औद्योगिक पूँजीवादले व्यापक मात्रामा सर्वहारा श्रमिक मजदूरमाथि लूट मचाउन थाल्यो । यसरी औद्योगिक पूँजीवादविरुद्ध सर्वहारा मजदूर वर्गको पक्षमा लड्न नयाँ विचारधारा, राजनीति र राजनीतिक व्यवस्थाको वस्तुगत आवश्यकता जन्मिदै थियो । हो, यही वस्तुगत आवश्यकताको जगमा नै माक्र्सवादको जन्म भयो । त्यति बेला अध्यात्मवादविरुद्ध हेगेलको द्वन्द्ववाद तथा फायरवाजको भौतिकवाद उभिन खोजेपछि उनीहरू टाउकोले टेकेर अप्राकृतिक ढङ्गबाट हिंड्दै थिए । माक्र्सले यी दुवै छुट्टाछुट्टै रहेका दर्शनलाई एउटै बनाएर टाउकोमा होइन खुट्टामा हिंड्न सक्ने बनाए । माक्र्सले द्वन्द्वात्मक भौतिकवादमार्फत आदर्शवादी शोषक वर्गीय दर्शन प्रणालीको खण्डन गर्दै सर्वहारा श्रमिक मजदूर वर्गको दर्शनको रूपमा अगाडि बढाए ।

माक्र्स र एङ्गेल्सको पहलमा सन् १८४८ मा संसारमा पहिलोचोटि कम्युनिस्ट घोषणापत्र प्रकाशित भयो । त्यसपछि तिनै कम्युनिस्ट घोषणापत्रलाई पछ्याउँदै सन् १८७१ मा फ्रान्सको राजधानी पेरिसका मजदूरहरूले विद्रोह गरी पेरिस कम्युनको स्थापना गरेका थिए । दुनियाँमा सर्वहारा श्रमिक मजदूर वर्गले विद्रोह गरेर औद्योगिक पूँजीवादविरुद्ध आफैले बनाएको पहिलो राज्यसत्ता हो । हुनत पेरिस कम्युन ७१ दिन मात्र टिक्यो तर त्यस अवधिमा उसले सबै श्रमिकको ज्याला बराबर पार्ने, राज्यका सबै निकाय मजदूर वर्गले निर्वाचित गर्ने जस्ता महŒवपूर्ण काम गरेर कम्युनिस्ट पार्टी श्रमिक वर्गको पार्टी हो भन्ने सन्देश दिएको थियो । पेरिस कम्युनको हारपछि माक्र्सले मजदूर वर्गले सत्ता मात्रै कब्जा गरेर पुग्दैन, बरु पुरानो राज्यसत्तालाई पूरै ध्वस्त पार्नुपर्ने ऐतिहासिक संश्लेषण गरेका थिए ।

पूँजीवादी व्यवस्था विकासको क्रममा औद्योगिक पूँजीवादबाट एकाधिकार पूँजीवादमा विकास गरेपछि रूसमा लेनिनले पूँजीवादको एकाधिकार पूँजीवादी चरणलाई साम्राज्यवादको रूपमा परिभाषित गर्दै सर्वहारा क्रान्तिको रणनीति बनाएर सन् १९१७ मा समाजवादी क्रान्ति सम्पन्न गरे । यसरी अक्टोबर क्रान्ति नै माक्र्सवादी सिद्धान्तको आधारमा सम्पन्न भएको पहिलो कम्युनिस्ट क्रान्ति थियो । यसपछि रूसको सोभियत वैज्ञानिक समाजवादी व्यवस्थाले संसारभरि कम्युनिस्ट आन्दोलन उत्साहित भयो । यसबाट राष्ट्रिय मुक्ति आन्दोलनलाई ठूलो प्रेरणा मिल्यो । यसले गर्दा उपनिवेशहरू स्वतन्त्र राष्ट्रमा बदलिन थाले । पूँजीवादको विकास नभइसकेको सामन्तवादी वा अर्धसामन्ती मुलुकहरूमा कम्युनिस्ट क्रान्तिको निम्ति मजदूर र किसानको एकतामा आधारित रणनीति लिनुपर्ने थेसिस लेनिनले प्रस्तुत गरे । यसै नीतिलाई स्टालिनले जनताको लोकतन्त्रको बाटोको रूपमा अगाडि बढाए । त्यसैगरी, चीनमा माओले नयाँ जनवादी व्यवस्थाको रूपमा क्रान्ति सम्पन्न गरे । यसरी अक्टोबर क्रान्तिले नै चीन, भियतनाम, कोरिया हुँदै क्युबासम्मको कम्युनिस्ट क्रान्तिको लागि महŒवपूर्ण प्रेरणाको काम गरेको देखिन्छ ।

यतिबेला समाजवादी सत्ताहरू संशोधनवाद तथा नोकरशाही पूँजीवादमा पतन भइसकेका छन् । यसरी एकपछि अर्को समाजवादी सत्ता ढल्नुको कारण तिनीहरूमाथि बाहिरबाट पूँजीवादको प्रहारले होइन कम्युनिस्ट पार्टीभित्रै लुकेर बसेको संशोधनवाद तथा छद्म पूँजीवादले पार्टी र सत्ता विनारक्तपात कब्जा गरेको देखिन्छ । त्यसैले यतिबेला संसारभरिका कम्युनिस्ट पार्टीहरूले पार्टीभित्रै लुकेर बसेको छद्म पूँजीवाद, नोकरशाह, अवसरवाद, संशोधनवादलगायतका प्रवृत्तिहरूको बेलैमा भण्डाफोर गर्ने, तिनका प्रवृत्तिहरूलाई चिन्न सजिलो बनाइ त्यसको निराकरण गर्ने जस्ता सवालमा अत्यधिक सचेत हुन जरुरी छ । रूस वा चीनमा कम्युनिस्ट पार्टीहरूले गरेका गलती, कमीकमजोरीहरूबाट पाठ सिकेर अगाडि बढेमा मात्रै अबको समाजवादी क्रान्ति सम्पन्न गर्न सकिन्छ ।

सर्वहारा श्रमिक जनतालाई शक्तिशाली बनाउने नाममा कम्युनिस्ट पार्टीको मुठीभरिका नेताहरू मात्र बलियो हुने परम्पराले गर्दा रूस, चीनमा समाजवादको पतन भएको कुरालाई सबैले बुझ्न जरुरी छ । समाजवादी सत्तामाथि कम्युनिस्ट पार्टीको अमूक नेताहरूको पकड वा नियन्त्रण बलियो बनाउनुको साटो आम सर्वहारा श्रमिक मजदूर वर्गलाई सत्तामा पहुँच बढाउने, निर्णय गर्ने तथा शक्तिको केन्द्रीकरण गर्ने थिति बसाल्न आवश्यक छ । झन्डै सात दशकभन्दा बढीको समाजवादी सत्तालाई हेर्दा त्यहाँ सर्वहारा जनवादलाई सङ्कुचित पारिएको देखियो । वास्तवमा समाजवादी सत्ताभित्र पेटलाई शान्त पार र ओठलाई बन्द गर जस्तो नीति अख्तियार गरेको देखियो । वाक स्वतन्त्रता र निर्णय प्रक्रियामा सहभागी मानव समाजको खानापछिको सबैभन्दा ठूलो भोक हो भन्ने कुरा समाजवादी सत्ताहरूले बिर्सेको वा नजरअन्दाज गरेको देखियो ।

नेपाली समाजमा विश्वमा भएको समाजवादी क्रान्ति तथा कम्युनिस्ट पार्टीभित्रको संशोधनवाद र नोकरशाही पूँजीवादजस्ता कुराले पनि राम्ररी घर गरेको देखिन्छ । मनमोहन अधिकारी र डा केशरजङ्ग रायमाझी नेतृत्वको बेलामा नेपाली कम्युनिस्ट पार्टीहरूले समाजवादी आन्दोलनभित्र थुप्रै विसङ्गति पनि जन्माएको स्पष्ट हेर्न सकिन्छ । दश वर्षे जनयुद्धको सवाल होस् वा सशस्त्र झापा आन्दोलन । सबै चरणमा कम्युनिस्ट पार्टीभित्र जनवादी केन्द्रीयताको नाममा नेताहरूको अनावश्यक नोकरशाही तथा व्यापक कार्यकर्ताको अभिव्यक्ति स्वतन्त्रता निस्साएको नै देखिन्छ । वास्तवमा यो क्रम आजको अवस्थासम्म आइपुग्दा कम्युनिस्ट भन्ने नेताहरूलाई आम कार्यकर्ताहरूले महान्, आदरणीय जस्ता शब्दहरूले सम्बोधन गरिदिनुपर्ने, नेताहरू जिल्लातिर आउँदा हवाई अड्डामा फूलको माला लगाइदिनुपर्ने, ज्यूज्यू गर्दै तिनको सवारी चलाउनुपर्ने, कार्यकर्ताभन्दा तिनलाई विशिष्ट देखिनुपर्ने, कार्यक्रमहरूमा मञ्चमा प्रमुख अतिथि, अतिथि बन्दै माला तथा खादाले तिनीहरूको निधारसम्म छोपिनुपर्ने जस्ता बुर्जुवा संस्कृति कम्युनिस्ट पार्टीहरूभित्र जन्मिन पुगेको छ ।

वास्तवमा समानताको यात्रामा हिंडेको कम्युनिस्टहरू आफ्नै पार्टीभित्र असमानता पैदा गरेर गैरमाक्र्सवादी चरित्रको प्रचारप्रसार र व्यवहारहरू सारमा भ्रष्टीकरणको शिकार हुनुका साथै माक्र्सवादी चेतभन्दा पनि अध्यात्मवादी चेततर्फ नै केन्द्रित भएको देखिन्छ । यस्तो समाजवादको यात्रा केवल पार्टीको राजनीतिक प्रतिवेदनमा मात्रै सीमित हुन पुगेको छ । उनीहरू साँच्चिकै बुर्जुवा संस्कृतिले थिचिएका व्यक्तिहरूको झुन्ड भएको गैरमाक्र्सवादी विचारधारा बोक्ने कथित कम्युनिस्ट पार्टी र कम्युनिस्ट व्यक्तिहरू मात्रै हुन् । संसद्वादमा लागेका कुनै पनि संशोधनवादी पार्टी कम्युनिस्ट पार्टी होइनन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here