प्रस, परवानीपुर, २४ चैत/

वीरगंज–पथलैया औद्योगिक कोरिडोरको एउटा महŒवपूर्ण र बहुप्रतीक्षित योजनामध्येको योजना हो, वीरगंज–पथलैया व्यापारिक मार्ग विस्तार आयोजना । तर ठेकेदारको लापरवाहीले उक्त योजना निकै नै सुस्त भएको देखिएको छ ।

दुई वर्षमा सम्पन्न हुनुपर्ने योजना साढे छ वर्षमा पनि सम्पन्न हुन नसक्दा यस भेगका जनता सास्ती र समस्या खेप्न बाध्य छन् ।

२०७३ असार २९ गतेदेखि शुरू भएको योजना दुई वर्षभित्रमा सम्पन्न गर्नुपर्ने शर्त थियो । तर ठेकेदारहरूले भूकम्प, साइट खाली गराउन, निर्माण सामग्रीको अभाव, दुई वर्षको कोरोना महामारीलगायतको हवाला दिंदै म्यादमाथि म्याद थप्दै आयोजना लम्ब्याएका छन् ।

अहिले व्यापारिक मार्गका सडक, पुल, कल्भर्टलगायत निर्माणमा ठेकेदार कम्पनीहरूले फेरि म्याद थप गर्नको लागि आयोजना कार्यालय, पथलैयामा निवेदन दिएको आयोजना प्रमुख मनीषकुमार साहले बताए ।

उनका अनुसार कम काम गरेका ठेक्का नं १, २, ३, ५ र ७ का ठेकेदारमार्फत म्याद थपको लागि निवेदन प्राप्त भएको जानकारी गराउँदै आफूले चैत मसान्तभित्र नै जसरी पनि काम सम्पन्न गर्न निर्देशन दिएको बताए । चैतभित्र काम सम्पन्न नगर्ने ठेकेदारले नियम अनुसार क्षतिपूर्ति तिर्नुपर्ने आफूले अडान राखेको बताए ।

उनका अनुसार हालसम्म ८० प्रतिशत वित्तीय प्रगति र ८३.७० प्रतिशत भौतिक प्रगति भएको जानकारी गराए । फागुन ३० गतेसम्म प्रगति अनुसार अहिले लगभग १६ प्रतिशत काम गर्न बाँकी रहेको छ ।

मुख्यगरी, सूर्य नेपालदेखि जीतपुरबजार हुँदै नेपाली सेनाको ब्यारेकसम्म, परवानीपुर चोकदेखि जगरनाथपुर गण्डकसम्म, हरपतगंजदेखि ड्राइपोर्टसम्म, परवानीपुर–गण्डक सडकखण्डमा तथा श्रीसिया खोलामा निर्माण भइरहेका दुईवटा पुल र जीतपुरको लालका पुलको कामलगायतमा अहिले पनि काम अधूरो रहेको देखिएको छ ।

पथलैया, परवानीपुर, ड्राइपोर्ट, आइसिपीसम्म तथा परवानीपुर–गण्डक गरी दुईवटा रूटमा आठवटा सडक र तीनवटा पुलको ठेक्का लगाइएको छ । त्यसैगरी, गण्डक नहरमा दुईवटा कल्भर्टको समेत ठेक्का लगाइएको छ ।

परवानीपुरदेखि गण्डक नहर जगरनाथपुरसम्म ठेक्का लिएको एएमआर/पप्पु कन्टेक्टले ठेक्का लिए पनि जम्मा ६५ प्रतिशत काम गरेको छ ।

त्यसैगरी, जगरनाथपुर गण्डक नहरदेखि हरपतगंजसम्म श्रेष्ठ/बिरुवा एपेक्स जेभीले ठेक्का लिएकोमा ८३ प्रतिशत काम गरेको छ ।

यस्तै, हरपतगंज चोकदेखि ड्राइपोर्टसम्म पप्पु/लुम्बिनी जेभीले ठेक्का लिएकोमा जम्मा ७१ प्रतिशत, पथलैया चोकदेखि सूर्य नेपालसम्म एएमआर/कानटेक जेभीले ठेक्का लिएकोमा ९५ प्रतिशत, सूर्य नेपालदेखि गढीमाई आर्मी ब्यारेकसम्म शर्मा/युनाइटेड बिल्डर्स/दिवा निर्माण सेवाले ७० प्रतिशत र आर्मी ब्यारेकदेखि परवानीपुर चोकसम्म एएमआर/कानटेक जेभीले ८८ प्रतिशत काम गरेका छन् । त्यसैगरी, परवानीपुरदेखि गण्डक चोकसम्म चारलेन बाटो बनाउने ठेक्का दिवा–सपना/जेभीले लिएको छ । तर ८९ प्रतिशत मात्र काम गरेको देखिएको छ ।

यस्तै, यी सातवटा ठेक्कामा सडकको कुल लम्बाइ ३०.६८ किलोमिटर, वित्तीय प्रगति ७८.१३ प्रतिशत रहेको छ भने भौतिक प्रगति ८२.८० प्रतिशत रहेको छ ।

त्यसैगरी, जीतपुरको लालका पुलको ठेक्का इलाइट–एसबिए जेभीले लिएकोमा काम लगभग पूरा भएको छ ।

पुलको काम ९८ प्रतिशत भएको देखिएको छ ।

त्यसैगरी, परवानीपुर चोकमा निर्माण भएको पुलको ठेक्का लुम्बिनी–मृतसञ्जीवनीले लिएकोमा जम्मा ८८ प्रतिशत काम गरेको छ ।

त्यसैगरी, लालपर्सामा निर्माण भएको श्रीसिया पुलको काममा लुम्बिनी–मृत संजीवनीले नै फागुन मसान्तसम्म ८५ प्रतिशत काम गरेका छन् ।

त्यसैगरी, पथलैया चोकदेखि परवानीपुर हुँदै ड्राइपोर्टसम्म ड्रेन कभर र स्ट्रीटलाइटको ठेक्का कानटेक लुम्बिनी जेभीले लिएकोमा जम्मा ८० प्रतिशत काम सम्पन्न भएको छ ।

ड्राइपोर्टदेखि आइसिपी चोकसम्म छ सय मिटर लम्बाइको सडकमा रमन–महावीर जेभीले ९९ प्रतिशत काम गरेको छ । त्यसैगरी, जगरनाथपुर र गण्डक बहुअरीमा निर्माण भएको दुईवटा कल्भर्टको ठेक्का एम/एस सपना निर्माण सेवाले लिएकोमा जम्मा ७५ प्रतिशत काम भएको छ ।

यसरी हेर्दा १३ वटा ठेक्कामा पाँच अर्ब ५७ करोड ९३ लाख ६९ हजार ९१८ रूपियाँको ठेक्का लगाइएकोमा गत फागुन मसान्तसम्म चार अर्ब ३८ करोड २८ लाख ७० हजार रुपियाँ भुक्तानी भइसकेको आयोजना कार्यालयका प्रमुख साहले बताए ।

लामो समयदेखि आयोजना अल्पत्र हुँदा वीरगंजबाट पूर्वी नेपाल हेटौंडातर्फ प्रस्थान गर्ने यात्रुहरूलाई समस्या भोग्नुपरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here