इस्लामाबाद, २० चैत/एएनआई

पाकिस्तानका राष्ट्रपति अरिफ अल्भीले संसद् विघटनको प्रस्ताव सदर गरेका छन् ।

प्रधानमन्त्री इमरान खानको प्रस्तावलाई उनले आइतवार सदर गरेसँगै पाकिस्तानी संसद् विघटन भएको छ । 

संसद् विघटनसँगै उनले आगामी ९० दिनभित्र निर्वाचन गर्ने घोषणा पनि गरेको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।

प्रधानमन्त्री खानले संसद्मा आफूविरुद्ध अविश्वास प्रस्ताव पेश गर्न उपसभामुखले अस्वीकार गरेको केही बेरमंै संसद् विघटनको सिफारिश गरेका हुन् । 

विपक्षी दलहरूले काम गर्न नदिएकाले अहिलेको संसद् विघटन गरेर निर्वाचनमा जान लागिएको उनले स्पष्ट पारे ।

पाकिस्तानमा लामो समयदेखि विपक्षी दलहरूले प्रधानमन्त्री खान र उनी नेतृत्वको सरकारविरुद्ध आन्दोलन गर्दै आएका थिए ।

राष्ट्रका नाममा सम्बोधन गर्दै उनले निर्वाचनका लागि तयारी अवस्थामा रहन आम नागरिकलाई आह्वान पनि गरेका छन् । विपक्षले आफूविरुद्ध गरेको अविश्वास प्रस्तावको विरोध गर्दै उनले यसलाई देशमाथि गरिएको ‘धोका’ को संज्ञा दिएका थिए ।

प्रधानमन्त्री खानले निडर भएर स्वतन्त्र र लोकतान्त्रिक पाकिस्तानका लागि लडाइँ जारी राख्ने बताएका छन् ।

उनले पाकिस्तानका युवालाई बाह्य शक्तिहरूले गरेको षड्यन्त्रविरुद्ध आन्दोलन गर्न र आवाज उठाउन भन्दै आफू अन्तिमसम्म सत्यको पक्षमा लडिरहने बताएका छन् ।

खानले प्रतिपक्षी दलका नेताहरूले लगाएको आरोप जनमतद्वारा खारेज गर्ने चेतावनी पनि दिएका छन् । रासस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here