वाशिंगटन, १७ चैत/एएनआई/स्पुतनिक

रूस विषयक पहिलो उच्चस्तरीय वार्तामा अमेरिका र युरोपेली सङ्घका प्रतिनिधिहरूले मस्कोलाई थप एक्लो पार्न सक्ने कदमबारे छलफल गरेका छन् । अमेरिकी विदेश मन्त्रालय र युरोपेली बाह्य कार्य सेवाले संयुक्तरूपमा जनाए अनुसार युरोपियन युनियन र संयुक्त राज्य अमेरिका आज वाशिंगटन डीसीमा आयोजित पहिलो अमेरिका–इयु उच्च स्तरीय वार्तामा अर्थतन्त्र र अन्तर्राष्ट्रिय वित्तीय प्रणालीबाट रूसलाई अलग गर्न थप कदमबारे पनि छलफल गरेका छन् ।

अमेरिकी प्रतिनिधिमण्डलको नेतृत्व राजनीतिक मामिलाका उपसचिव भिक्टोरिया नुल्यान्ड र इयुको नेतृत्व राजनीतिक मामिलाका लागि युरोपेली बाह्य कार्य सेवाका उपमहासचिव एनरिक मोराले गरेको विज्ञप्तिमा उल्लेख छ ।

दुवै पक्ष सन् २०२२ को अन्त्यतिर रूसबारे अर्काे उच्चस्तरीय वार्ता गर्न सहमत भएका छन् ।

द्वन्द्वले रूस र युक्रेनको अर्थतन्त्र प्रभावित हुने

लन्डन/एएफपी

रूसको अर्थतन्त्र यस वर्ष १० प्रतिशत र युक्रेनको कुल गार्हस्थ्य उत्पादन २० प्रतिशतले सङ्कुुचित हुने प्रक्षेपण गरिएको छ । पुनर्निर्माण र विकासका लागि युरोपेली बैंकका अनुसार दुर्ई देशबीचको युद्धले ५० वर्षको लागि ‘सबैभन्दा ठूलो आपूर्ति झटका’ निम्त्याउने छ ।

फेबु्रअरी २४ मा रूसले आफ्नो पश्चिमा समर्थक छिमेकीमाथि आक्रमण गर्नु अघि लन्डनस्थित युरोपेली बैंक फर रिकन्स्ट्रक्शन एन्ड डेभलपमेन्टले यो वर्ष युक्रेनी जिडिपी ३.५ प्रतिशतले वृद्धि हुने र रूसी अर्थतन्त्र तीन प्रतिशतले विस्तार हुने भविष्यवाणी गरेको थियो ।

अमेरिकी र युक्रेनी राष्ट्रपतिबीच फोन वार्ता

किभ/सिन्हवा

अमेरिकाका राष्ट्रपति जो बाइडेन र युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीबीच फोन वार्ता भएको छ ।

रूसको आक्रमणमा परेको युक्रेनले रूससँग लड्नका लागि सहयोग आवश्यक परिरहेकोले सहयोग गर्न सबैलाई आह्वान गर्दै आएको छ ।

बाइडेन र जेलेन्स्कीबीच पनि युक्रेनलाई आवश्यक सहयोग र अमेरिकाले गर्न सक्ने सहयोगबारे कुराकानी भएको छ ।

 “हामीले प्रतिरक्षाका लागि आवश्यक पर्ने सहयोगबारे कुराकानी गरेका छौं, चाँडै नै नयाँ प्याकेज लागू हुने विश्वास लिएका छौं, त्यस्तो प्याकेज आर्थिक तथा मानवीय सहायतासम्बन्धी हुनेछ”– जेलेन्स्कीले सामाजिक सञ्जाल ट्वीटरमा लेखेका छन् ।

राष्ट्रपति बाइडेनसँग भएको कुराकानीपछि उनले सन्तोष व्यक्त गर्दै युक्रेनलाई कूटनीतिक, आर्थिक र भौतिक सहयोग बढ्ने आशा लागेको जानकारी दिए ।

अमेरिकी राष्ट्रपति बाइडेन र युक्रेनी राष्ट्रपति जेलेन्स्कीबीच झन्डै एक घण्टा कुराकानी भएको अधिकारीहरूले जनाएका छन् ।

अमेरिकी राष्ट्रपतिको कार्यालयले पनि युक्रेनी राष्ट्रपतिसँग फोन वार्ता भएको पुष्टि गर्दै सैन्य, आर्थिक र मानवीय सहयोग प्रदान गर्नेबारे कुराकानी भएको जनाएको छ ।

अमेरिकाले युक्रेनमाथि आक्रमण गरेर रूसले गल्ती गरेकोले तत्काल आक्रमण रोक्न माग गर्दै आएको छ ।

रूस र युक्रेनका विदेशमन्त्रीहरू दुर्ई साताभित्र भेट्न सक्ने : टर्की

इस्तानबुल/एएफपी

रूसी विदेशमन्त्री सर्गेई लाभरोभ र उनका युक्रेनी समकक्षी दिमित्रो कुलेबा दुर्ई हप्ताभित्र वार्ताका लागि भेट्न सक्ने टर्कीले बिहीवार बताएको छ ।

टर्कीका विदेशमन्त्री मेभलुत काभुसोग्लुले एक टेलिभिजन अन्तर्वार्तामा भने–“कम्तिमा एक वा दुर्ई हप्ताभित्र विदेशमन्त्रीहरूको स्तरमा उच्चस्तरीय बैठक हुन सक्छ ।” रासस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here