प्रस, वीरगंज, १६ चैत/
नेपाली काङ्ग्रेस पर्साका प्रवक्ता रमेश पाण्डेले पर्सा जिल्लामा नेपाली काङ्ग्रेस स्थानीय चुनावमा गठबन्धन नगरी एक्लै लड्ने बताएका छन् ।
नेका पर्सा जिल्ला कार्यसमितिले गरेको निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता पाण्डेले पर्सा जिल्ला काङ्ग्रेसको गढको रूपमा पहिचान भएको र अन्य दलसँग गठबन्धन गरेको खण्डमा पार्टीको साख नरहने बताए ।
उनले केन्द्रीय कमिटीको निर्णय अनुसार आवश्यक परेको खण्डमा गठबन्धन गर्ने निर्देश भएकोले पर्सा जिल्लामा त्यस्तो गठबन्धनको काङ्ग्रेसलाई आवश्यकता नभएको प्रस्ट्याए । उनले पर्सा जिल्लाको चौधवटै पालिकाहरूमा प्रतिनिधि छनोटको लागि काम भइरहेको र चैत २० गतेसम्म प्रतिनिधिहरूको नाम छनोट भएर जिल्लामा पठाउने तयारी भएको बताए ।
जिल्ला कार्यसमितिले सभापति जनार्दनसिंह क्षत्रीको अध्यक्षतामा कार्य सम्पादन समिति निर्माण गरेको र सो समितिमा उपसभापति रामनारायण कुर्मी, अशोक गुप्ता, सचिव इम्तियाज आलम, दिनेश चौधरी, सहसचिव नवीनकुमार सिंह, मदन अहिर, कोषाध्यक्ष प्रेमबहादुर थापालगायत रहेको बताए ।