प्रस, परवानीपुर, १३ चैत/

सोरठी बिर्जाभारका चर्चित गायक तथा नायक सलीम अहमद समानीले आफूसँग भारतीय क्यासेट कम्पनीले धोकाबाजी गरेको आरोप लगाएका छन् ।

पर्सा, धोबिनी गाउँपालिका–३ बडकी हरिहरपुर घर भएका सलीमले बीस वर्ष अघि गुपचुप रेकर्ड गरिएको भिडियोबाट गङ्गा क्यासेटले करोडौं रुपियाँ कुम्ल्याएको र आपूलाई एक सुको पनि नदिएको उनले बताए ।

बीस वर्ष अघि धोबिनी गापाको जगरनाथपुर टोलको बिर्जाभार नाच टीमलाई गङ्गा क्यासेटको टोलीले दिल्लीको एउटा होटलमा तीन रात लगातार नाच गराएर उक्त भिडियो खिचेको र युट्युबमा रिलिज गरी अहिलेसम्म करोडौं रुपियाँ कमाइसकेको उनले दाबी गरे ।

उनले त्यति बेला नाच कार्यक्रमको लागि मात्र सम्झौता भएको र गङ्गा क्यासेटले कार्यक्रमबापत रु ३५ हजार दिएर भिडियो र गीतसम्बन्धी प्रतिलिपि अधिकारसम्बन्धी कागजातमा पनि औंठा छाप गराएर धोका दिएको बताए । उनले गङ्गा क्यासेटसँग रोयाल्टीबापत रकम उपलब्ध गराइदिन नेपालका सरोकारवाला निकायसँग पहल गरिदिन माग गरेका छन् । ६५ वर्षीय सलीमले ४५ वर्षदेखि बिर्जाभारको प्राचीन कथा प्रस्तुत गर्ने सोरठी बिर्जाभार नाच पार्टी चलाउँदै आएका छन् । भारत, राजस्थानको सोरठपुरका राजा उदयभान सिंहकी छोरी सोरठी र बिर्जाभारबीच प्रेम सङ्घर्षको कथा वाचन गर्ने टोलीलाई बिर्जाभार–टोली भनिन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here