• अनन्तकुमार लाल दास

विद्यार्थीहरूले हालसम्म सिकेका कुराहरू र सम्बन्धित विषयमा उनीहरूको ज्ञानको मूल्याङ्कन गर्न परीक्षा आयोजन गरिन्छ । हाम्रो देशमा परीक्षाबाहेक विद्यार्थीहरूको क्षमता मूल्याङ्कन गर्ने अर्को कुनै साधन प्रयोग गरिंदैन । विडम्बना के छ भने परीक्षाको नामले नै उनीहरूको कलिलो मनभित्र एउटा भय उत्पन्न हुन्छ, जसले परीक्षाको तयारी गर्न मनलाई एकाग्रचित्त हुन दिंदैन । हिजोआज के देखिएको छ भने परीक्षा आउनुपूर्व नै विद्यार्थीहरू निराश हुन थाल्छन् । परीक्षामा असफल हुने भय निरन्तर विद्यार्थीहरूको मनमा रहन्छ । परिणामस्वरूप उनीहरू सही ढङ्गले तयारी गर्दैनन् । प्रस्तुत आलेखमा परीक्षाको लागि कसरी राम्ररी तयारी गर्ने भन्ने कुरा विस्तारपूर्वक बताइएको छ जो विद्यार्थीहरूका लागि शतप्रतिशत उपयोगी र सहयोगी साबित
हुनेछ ।

विद्यार्थीहरूको जीवन सङ्घर्ष र चुनौतीले भरिएको हुन्छ । उनीहरूको मनमा परीक्षाको भय सँगसँगै परीक्षा पास गर्ने डर पनि भरिएको हुन्छ । परीक्षा कसरी पास गर्ने, कसरी विभिन्न विषयमा राम्रो ग्रेड हासिल गर्ने, कक्षामा पहिलो स्थान कसरी प्राप्त गर्नेजस्ता प्रश्न सधैं विद्यार्थीहरूको मनमा उठिरहन्छ । यी सबै प्रश्नहरूको एउटै जवाफ छ–“परीक्षाको राम्रो तयारी ।”

उसो त परीक्षाको नाम सुन्नासाथ विद्यार्थीहरूको मनमा भय उत्पन्न हुन्छ । परीक्षा परिणाममा सबैभन्दा अग्रपङ्क्तिमा आउनको लागि उसले कसरी तयारी गर्ने ? यस्ता धेरै कुराले विद्यार्थीहरूको मनमा तनाव र अवसाद पैदा गर्छ । विद्यार्थी सँगसँगै उनको परिवार पनि त्यत्तिकै चिन्तित र परेशान हुन्छ । परीक्षा विद्यार्थीका लागि एक प्रकारले कठिन समय हो । यसखाले समस्याबाट छुटकारा पाउन विद्यार्थीहरूले आफ्नो पाठ्यक्रम र हरेक विषयमा राम्ररी ध्यान केन्द्रित गर्नुपर्ने हुन्छ । जुन विद्यार्थीले कक्षामा पढाइएका पाठहरूको निरन्तर अभ्यास गर्छ उसका लागि यस प्रकारको समस्या अलि न्यून हुन्छ तर अन्य विद्यार्थीले पनि भयभीत नभई परीक्षाको तयारीमा जुट्नुपर्छ ।

कक्षामा शिक्षकहरूद्वारा विभिन्न विषयबारे विद्यार्थीहरूलाई विस्तृत जानकारी गराइएको हुन्छ । विद्यार्थीहरूले कति ज्ञान हासिल गरे सोबारे उनीहरूको मूल्याङ्कनका लागि लिखित, प्रायोगिक र मौखिक माध्यम प्रयोग गरिन्छ जसलाई हामी परीक्षा भन्छौं । यस माध्यमबाट नै शिक्षकहरूलाई विद्यार्थीहरूको बौद्धिक क्षमताको जानकारी प्राप्त हुन्छ । सामान्यतया हाम्रो देशमा सत्र–अन्त्य अर्थात् चैत महीनामा वार्षिक परीक्षा लिने चलन छ, तर यस वर्ष स्थानीय चुनावले गर्दा यो वैशाख महीनामा सञ्चालन हुनेछ । तर कक्षागतरूपमा यस्तो परीक्षा साप्ताहिक, मासिक, त्रैमासिक वा चौमासिक लिने पनि चलन छ ।

वार्षिक परीक्षा घोषणा हुनासाथ विद्यार्थीहरू त्यसको तयारीमा संलग्न हुन्छन् । नोट्स तयार गर्ने, अध्ययन सामग्री थुपार्नेजस्ता तयारी विद्यार्थीहरूले पहिलेदेखि नै प्रारम्भ गर्छन् । यसले गर्दा नै उनीहरू अलि तनाव र चिन्तामा हुन्छन् । आमाबुवा पनि छोराछोरी सँगसँगै चिन्तित र परेशान रहन्छन् । उनीहरू आफ्नो सन्तानको मार्गदर्शन, समर्थन र उनीहरूको आत्मविश्वास बढाइरहन्छन् । कुनै पनि विद्यार्थीको लागि परीक्षा त्यो स्थल हो जहाँबाट उनीहरूको भविष्य निर्माण र निर्धारित हुन्छ किनभने परीक्षाको परिणामले नै विद्यार्थीहरूको भविष्य सपार्छ र जीवनलाई एउटा लक्ष्य प्रदान गर्दछ ।

हाम्रो देशमा परीक्षा प्रायः तीन प्रकारले आयोजित गरिन्छ – मौखिक परीक्षा, लिखित परीक्षा र प्रायोगिक परीक्षा । मौखिक परीक्षामा परीक्षार्थीहरूको क्षमता मूल्याङ्कन थोरै समयमा गरिन्छ । यस प्रकारको परीक्षामा विद्यार्थीहरूले प्रश्नको जवाफ तुरून्त दिनुपर्ने हुन्छ । लिखित परीक्षाको माध्यमले विद्यार्थीहरूको लेख्ने क्षमता, शब्द प्रयोग र उनीहरूले गर्ने त्रुटिहरूको मूल्याङ्कन गरिन्छ भने प्रायोगिक परीक्षामा दिइएको विषयलाई प्रयोगको रूपमा गरेर देखाउनुपर्ने हुन्छ ।

परीक्षाको मिति नजीकिंदा विद्यार्थीहरूमा तनाव, भ्रम र नकारात्मकता जन्मन थाल्छ । जसैजसै परीक्षाको मिति नजीक आउन थाल्छ विद्यार्थीहरूको कठिनाई पनि बढ्दै जान्छ । यस समय विद्यार्थीहरूले के निश्चित गर्न सक्दैनन् भने परीक्षाको तयारी कसरी र कहाँबाट शुरू गर्ने ? विद्यार्थीहरूमाथि परीक्षामा उत्कृष्ट ठाउँ ओगट्ने र राम्रो ग्रेड ल्याउने दबाब पनि हुन्छ । यस दबाबले गर्दा उनीहरू सही र राम्रो तरीकाले तयारी गर्न पाउँदैनन् र परीक्षामा राम्रो ग्रेड पाउँदैनन् । एउटा होनहार विद्यार्थीमा पनि यो कुरा देख्न सकिन्छ, जसले गर्दा उसले पनि परीक्षामा औसत ग्रेड मात्र हासिल गर्छ ।

विद्यार्थीहरूले व्यर्थको चिन्ता, तनाव र बेचैनी त्यागेर परीक्षाको तयारी गर्नुपर्छ । तनावमुक्त भई राम्ररी तयारी गर्ने विभिन्न तरीका छन् । जस्तै परीक्षाको तयारी पहिलेदेखि नै प्रारम्भ गर्नुपर्छ र विषयगत पाठ्यक्रमको आधारमा तयारी गर्दा बढी बेस हुनेछ । परीक्षाको तयारी गर्न बस्नुपूर्व नै अध्ययन सामग्री र नोट्स आदि सङ्ग्रह गरेर राख्नुपर्छ । समयतालिका बनाई पढाइ गर्नुपर्छ । सकारात्मक सोच र अनुशासनको पालना इमानदारी साथ गर्नुपर्छ । यसबाहेक सन्तुलित खाजा र खाना खानुको साथै पर्याप्त निद्रा लिनुपर्छ । केही समय व्यायामको लागि पनि निकाल्नुपर्छ । समयानुसार पढाइबाट ब्रेक पनि लिनुपर्छ । ब्रेकको बेला मस्तिष्कलाई शान्त र खुशी पार्न केही बेर मनोरञ्जन पनि गर्नुपर्छ । यसका साथै सफल हुने विश्वासका साथ पढाइ गर्दा आत्मविश्वास पनि बलियो हुन्छ ।

परीक्षाको मिति निर्धारित भएपछि विद्यार्थी हमेशा तनावग्रस्त र चिन्तित रहन्छन् । विद्यार्थीहरूले आफ्नो मनलाई शान्त राख्ने प्रयास गर्नुपर्छ । पढाइमाथि पूर्ण फोकस गर्नुपर्छ । परीक्षाको तयारी गर्दा विद्यार्थीहरूले केही विशेष कुरामा ध्यान पु¥याउनुपर्ने हुन्छ ।

१) समय तालिका अनुसार पढाइको लागि समय निर्धारण

धेरैजसो विद्यार्थी समयतालिकाबेगर परीक्षाको तयारी गर्छन् भने केही मात्र समयतालिका अनुसार अध्ययन गर्छन् । यहाँनिर विद्यार्थीहरूले ध्यान दिनुपर्ने कुरो के हो भने हरेक विद्यार्थीले बेग्लाबेग्लै विषय पढ्न एउटा समयतालिका अवश्य निर्माण गर्नुपर्छ र सोही अनुसार पढाइ गर्नुपर्छ । सँगसँगै बेलाबेला ब्रेक लिनु पनि आवश्यक हुन्छ । समयतालिका सँगसँगै विद्यार्थीहरूले पढाइको लागि निश्चित समय पनि निर्धारण गर्नुपर्छ । विज्ञहरूको भनाइ अनुसार बिहान कुनै पनि कुरा याद गर्ने उपयुक्त समय हो र सन्ध्याको समय त्यसको अभ्यास गर्दा बढी फाइदा हुन्छ । यसरी पढाइ गर्दा दीर्घकालसम्म स्मरणमा रहिरहन्छ ।

२) सोसल मिडिया र टेलिभिजनबाट टाढा रहने

विद्यार्थीहरूले के कुरा विशेषरूपले ध्यानमा राख्नुपर्ने हुन्छ भने जबसम्म परीक्षा समाप्त हुँदैन, दिमागमा व्यर्थको कुरा पस्न नदिन सोसल मिडिया र टेलिभिजनबाट टाढा बस्नुपर्छ । यसो यस कारणले भनिएको हो किनभने फ्रेश माइन्डले पढेको कुरो लामो समयसम्म याद राख्छ र समयको सदुपयोग पनि हुन्छ ।

३) स्वयंलाई स्वस्थ र मस्तिष्कलाई सकारात्मक राख्नुपर्छ

परीक्षाको मौसममा विद्यार्थीहरू चिन्ता र तनावले गर्दा समयमा खाना खाँदैनन् र बिरामी पर्छन् । यस कारण विद्यार्थीहरूले परीक्षाको मौसम प्रारम्भ हुनासाथ समयमैं खाना खानुपर्छ र व्यायाम पनि गर्नुपर्छ । विद्यार्थीहरूले के बिर्सनुहुन्न भने परीक्षा महŒवपूर्ण अवश्य छ तर जीवनभन्दा बढी महŒवपूर्ण छैन । यो पढाइको एउटा हिस्सा मात्र हो । विद्यार्थीहरू परिश्रम र लगनका साथ पढ्दा अवश्य नै सफल हुन्छन् किनभने हरेक विद्यार्थी योग्य हुन्छन् । आवश्यकता मात्र ध्यान दिएर पढ्नु हो ।

४) बाँकी रहेको दिनमा परीक्षाको तयारी कसरी गर्ने ?

धेरैजसो विद्यार्थीको चिन्ताको विषय के हो भने हालसम्म उनीहरूले केही पढेका छैनन् र अब उनीहरूले के गर्ने ? विद्यार्थीहरू यो कुरा सोचेर डराउने वा परेशान हुने कुनै आवश्यकता छैन । उनीहरूले मात्र आफूलाई शान्त राखेर आफूले गरेको परिश्रम र स्वयंमाथि सफल हुने विश्वास गरेर पढाइमा जुट्नुपर्छ । पढाइको लागि चाहिने सबै आवश्यक कुरा जम्मा गर्नुपर्छ । समय निर्धारित गरे पढाइ शुरू गरिहाल्नुपर्छ । विद्यार्थीहरूले के प्रयास गर्नुपर्छ भने उनीहरू आफ्नो कक्षा वा कोचिङ नोट्सबाट पढ्नुपर्छ । यसरी पढ्दा कोर्स छिट्टै सकिन्छ र मनको शङ्का पनि टाढा हुन्छ । केही यस्ता पनि विद्यार्थी हुन्छन् जो प्रतिदिन पढ्दैनन् । यस्ता विद्यार्थीहरूले दिनमा मात्र २–३ घण्टाबाट प्रारम्भ गरेर पछि पढ्ने समयमा वृद्धि गर्न सक्छन् । समयानुसार विषयगत महŒवपूर्ण कुरामा ध्यान दिन सक्छन् । यसका साथै विद्यार्थीहरूले स्वयंलाई के विश्वास दिलाउनुपर्छ भने उनीहरू यस भन्दा पनि बढी राम्रो गर्न सक्छन् । परीक्षाको लागि बाँकी दिनहरूलाई ध्यानमा राखेर आफ्नो इच्छाशक्तिलाई बलियो बनाएर विद्यार्थीहरूले विषयगत रूपमा छनोट गरिएका, परीक्षाको दृष्टिले महŒवपूर्ण कुराहरू पढ्दा अवश्य सफल हुन्छन् ।

अन्त्यमा विद्यार्थीहरूले परीक्षाको तयारीका लागि समय प्रबन्धनसँगै सबै विषय समयमैं पढेर सक्याउनको लागि आफ्नो प्रतिभा र सीपको प्रदर्शन गर्नु पनि आवश्यक हुन्छ र आत्मविश्वास पनि कायम राख्नु जरूरी छ । समय छँदै प्रारम्भ गरिएको काम, परिश्रम, लगन र आत्मविश्वासले अवश्य नै सफलता दिलाउँछ । विद्यार्थीहरूले परीक्षाको दिन समयमा सन्तुलित आहार, उचित निद्रा, व्यायाम आदि गरेर परीक्षा दिन बस्ने हो भने सजिलै राम्रो ग्रेड हासिल हुने कुरामा कुनै शङ्का रहन्न ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here