धेरै ठाउँबाट, प्रायः सबैले योग्य उम्मेदवारलाई भोट दिन सुझाउ दिन्छन् । योग्य उम्मेदवार जित्यो भने उसले जनहितको काम गर्छ । तर योग्य उम्मेदवार को हो, कसरी थाहा पाउने कुनै उम्मेदवारविशेष योग्य हो कि होइन ? उम्मेदवार योग्य नलागेमा के गर्ने ? मतदाता भोट दिन जान्छ तर प्रायःले अरूभन्दा यो असल भनेर मात्र ठम्याएको पाइन्छ । यो समग्रमा असल हो भनेर भोट दिएको पाइन्न । देशमा बहुदलीय निर्वाचन हुने हुँदा, दलकै नाम र अस्तित्वको लागि पनि योग्य–अयोग्य जे भए पनि उम्मेदवार दिइन्छ । कतिपय बेला योग्य र कर्मठ कार्यकर्ता छटनीमा पर्छ, किनकि ऊसँग चुनाउ जित्न सक्नेजति रकम हुँदैन । कतिपय ठाउँमा निर्वाचनविशेष क्ष्Fेत्रमा कुन जातिको भोट बढी छ र त्यहाँका मतदाता जातीयताप्रति कति समर्पित छ, त्यस आधारमा अयोग्यलाई उम्मेदवार बनाइन्छ । मतदाताको माग योग्य उम्मेदवार हुन्छ भने राजनीतिक दलको आकाङ्क्षा जित्ने उम्मेदवार हुन्छ । जित्ने उम्मेदवार असल नहुन सक्छ । यस कारण मतदाता (जनता) र राजनीतिक दलहरूको चाहना नै विपरीत हुन जान्छ । यस्तोमा योग्य उम्मेदवारको चयन कसरी हुने ?
हाम्रो निर्वाचनको बाध्यता के छ भने मानिस चुनिएपछि उसले गर्ने कामबाट ऊ असल कि कमसल भन्ने छुट्टिन्छ । मतदाताले पहिले नै थाहा हुनेगरी प्रायः थोरै मात्र उम्मेदवार निर्वाचन दङ्गलमा आएका हुन्छन् । हामीकहाँ राष्ट्रिय र स्थानीय दर्जाका सयभन्दा बढी राजनीतिक दलहरू छन् । तीमध्ये नेपाली काङ्ग्रेस मात्र एक्लो पार्टी छ, जसले एक नाममा उम्मेदवार खडा गर्ने हैसियत राख्दछ । वामपन्थी दलहरू विभिन्न टुक्रामा विभाजित भएकाले कुन चाहिं वामपन्थी उम्मेदवारले वाम रुझान भएको मतदाताको प्रतिनिधित्व गर्छ, निक्र्योल गर्नै गा¥हो छ । यीबाहेक राप्रपा तेस्रो राजनीतिक धारको पार्टी हो, जसले निरन्तर ३० भन्दा बढी वर्षदेखि सङ्गठन चलाइरहेको छ । यसबाहेक अन्य दलहरू मौसमको अनुकूलतामा फस्टाएका हुन् । मधेस आन्दोलनबाट जन्मेको मधेस पार्टी कोमामा पुगिसकेको छ, तर सोही विचारधारालाई अङ्गालेका केही थान मधेसवादी पार्टीहरू छन्, यिनले सङ्गठनात्मक काम गर्नै पाएका छैनन्, तसर्थ यिनका योग्य उम्मेदवार को भन्ने खुट्याउन मतदाता त के स्वयं पार्टी नै धरमरमा पर्ने अवस्था छ । यस्तोमा जो दबङ्ग देखिन्छ, जोसँग जातीय भोट बैंक छ, जसले केही भोट पैसाको भरमा तान्न सक्छ, अर्थात् जो जसरी पनि जित्न सक्छ, पार्टीले उसैलाई उम्मेदवार बनाउँछ । अनि कसरी कसैले पूर्वानुमान गर्ने, को योग्य छ र को अयोग्य ?
यसको एउटै विकल्प छ, नो भोटको प्रावधान । मतदाताले जसलाई मन पराउँछ, जो असल छ, उसलाई त भोट दिन्छ नै, तर असल र मनपायक उम्मेदवार छैन भने खराबमा ‘कम खराब’लाई छान्नुपर्ने बाध्यता आउँछ । मतदाताको यो बाध्यता हटाउनुपर्छ । संविधानले मतदाता (जनता) लाई सार्वभौम मानेको छ । सार्वभौम भनेको एउटा भूगोलभित्रको सबै, जसको हो । तर संविधान जनतालाई सार्वभौम बनाउने भूमिकामा चुकेको छ । सार्वभौमनिहित जनता (मतदाता) ले एउटा पार्टीले दिएको उम्मेदवारलाई विवशतावश भोट दिनुपर्ने किन ? उसले त पार्टीलाई निर्देशित गर्न पाउनुपर्छ मलाई फलानो उम्मेदवार चाहियो, अन्यथा तिमीले दिएको उम्मेदवारलाई नकारात्मक भोट दिन्छु । त्यो नकारात्मक भोट दिने हैसियत जनतामा हुनुप¥यो ।