प्रस, वीरगंज, १२ चैत/

नेपाली चलचित्रका अभिनेता निखिल उप्रेतीले हिन्दू धर्मको मूल्य, मान्यता तथा सूत्रलाई खत्तम पार्ने खेलमा नेताहरू लागेको आरोप लगाएका छन् । वीरगंजमा सम्पन्न प्रबुद्ध नागरिक गोष्ठी एवं साहित्य परिचय कार्यक्रममा उनले बताएका हुन् । हिन्दू राष्ट्र स्वाभिमान जागरण अभियानद्वारा वीरगंजको जैन धर्मशालामा आयोजित कार्यक्रममा उनले भने, “आज हिन्दुवादी कुरा गर्ने बित्तिकै सबैले भन्ने गरेका छन्, वैज्ञानिक युगमा रूढिवादी कुरा गर्ने, तर ती व्यक्तिहरूलाई थाहा छैन, सनातन धर्मको वैज्ञानिक पद्धति र सूत्र ।” विदेशी शक्तिको दबाबमा नेपाललाई हिन्दू राज्यबाट धर्म निरपेक्ष राज्य घोषणा गरिएकोप्रति कटाक्ष गर्दै उनले भने नेपाली जनताकै कारण यस्तो अवस्था आएको पनि स्पष्ट पारे ।

 “धर्मलाई राजनीतिसँग जोड्न खोजेको होइन, तर विनाराजनीति धर्म सुरक्षित रहन सक्दैन, त्यसैले अब हामीले चुन्ने नेता सनातन धर्मको मूल्य, मान्यता र परम्परालाई रक्षा गर्न सक्छ कि सक्दैन, त्यो पनि हेर्न जरुरी छ,” उनले भने, “आजको समयमा नेताहरू धर्म र अध्यात्मको बिर्को खोल्नुभन्दा रक्सीको बिर्को खोल्नेमा मस्त छन् ।”

उनले कुनै समस्यालाई बिर्साउन रक्सीले अस्थायीरूपमा मात्र सक्छ, तर धर्म र अध्यात्मले कुनै पनि समस्यालाई जरादेखि निर्मूल पार्ने गरेको पनि दाबी गरे । उनले आजको समयमा छोराछोरी बुबाआमाबाट टाढा भइसकेका छन्, उनीहरूलाई हिन्दू धर्मको मूल्य मान्यता उल्लेख भएको धार्मिक पुस्तक र संस्कारसँग जोड्न पनि आवश्यक रहेको बताए ।

कार्यक्रमका विशिष्ट अतिथि एवं राजनीतिक विश्लेषक दिवेश झाले नेपाल हिन्दू राज्य भएको वैश्विक पहिचानमाथि नेपालका राजनीतिकर्मीहरूले आघात पु¥याएको पनि जिकिर गरे ।

 “अहिले हिन्दूहरूलाई तोड्ने काम भइरहेको छ, कसले र किन गरिरहेको छ, सबैलाई थाहा छ,” उनले भने, “समयमैं सच्चिनुपर्ने अवस्था छ, टोलटोलमा जबसम्म जागरण फैलिंदैन, तबसम्म बहुसङ्ख्यकरूपमा बसोबास गर्ने हिन्दूहरूको कल्याण हुन सक्दैन ।”

कार्यक्रमका विशिष्ट अतिथि एवं वीरगंजका उद्योगपति अशोक बैदले हिन्दूहरूको सङ्ख्या घटाउन पछिल्लो जनगणनामा समेत विभेद र त्रुटि भएको दाबी गरे । “म वीरगंज महानगरको परिचित व्यक्ति हुँ, तर मेरो घरमा जनगणना गर्न कोही आएन,” उनले भने, “नेपालको पछिल्लो जनगणना अनुसार जनसङ्ख्या कम देखिएको छ, त्यसमा पनि विदेशी शक्तिको इशारामा जनगणना भएको छ ।” उनले पछिल्लोपटक नेपालमा हिन्दू धर्मावलम्बीमाथि दिनहुँ प्रहार भइरहेकाले हिन्दू समाज अब जाग्नुपर्ने बेला आएको बताए ।

वीरगंज उद्योग वाणिज्य सङ्घका उपाध्यक्ष तथा कार्यक्रम संयोजक माधव राजपालको अध्यक्षता तथा नन्दन यादवको सहजीकरणमा सम्पन्न कार्यक्रममा साधुद्वय बजरङ्गी दास, शौरभ दास, राजनीतिक दलका अगुवा, समाजसेवीलगायतको सहभागिता थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here