ब्रसेल्स, १० चैत/एएफपी
नेटोका प्रमुख जेन्स स्टोल्टेनबर्गले बिहीवार रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनमा आक्रमण गरेर ठूलो गल्ती गरेको आरोप लगाएका छन् । “राष्ट्रपति पुटिनले ठूलो गल्ती गरेका छन् र त्यो भनेको स्वतन्त्र सार्वभौमसत्ता सम्पन्न राष्ट्रविरूद्ध युद्ध शुरू गर्नु हो”– उनले भने ।
“रूसले युक्रेनी जनताको शक्ति, युक्रेनी जनता र उनीहरूको शस्त्र बल र बहादुरीलाई कम मूल्याङ्कन गरेको छ”– स्टोल्टेनबर्गले ब्रसेल्समा शिखर सम्मेलन शुरू हुनु अघि भनेका छन् ।
स्टोल्टेनबर्गले जनाए अनुसार अमेरिकी नेतृत्वको सैन्य गठबन्धनका नेताहरूले पूर्वी सदस्यहरू रोमानिया, हंगेरी, स्लोभाकिया र बुल्गेरियामा नयाँ तैनाथीलाई सहमति दिएर लामो अवधिमा हाम्रो प्रतिरोध र रक्षाको पुनः स्थापनाको आवश्यकतालाई सम्बोधन गरिने छ ।
युरोपमा थप सैनिक पठाउने
ब्रसेल्स/सिन्ह्वा
उत्तर एटलान्टिक सन्धि सङ्गठन, नेटोले पूर्वी युरोपमा थप सैन्य पठाउने जानकारी गराएको छ । नेटोका महासचिव जेन्स स्टोल्टबर्गले पूर्वी युरोपमा थप सैनिक पठाउने विषयमा कुराकानी भइरहेको र सम्भवतः नेटो आबद्ध राष्ट्रहरूले यसलाई सहमति प्रदान गर्ने बताए ।
नेटोको आसन्न सम्मेलनको पूर्वसन्ध्यामा ब्रसेल्समा अयोजित एक पत्रकार सम्मेलनमा उनले सो धारणा व्यक्त गरेका हुन् । उनले हाल युक्रेनमा रूसले जारी राखेको आक्रमणलाई पनि मध्यनजर राख्दै पूर्वी युक्रेनमा थप सैनिक आवश्यक रहेको आफ्नो विचार व्यक्त गरे ।
उनले सो पत्रकार सम्मेलनमा भने– मलाई लाग्छ अहिले पूर्वी युरोपमा थप सैनिक आवश्यक छ, यो योजना हामी प्रस्तुत गर्नेछौं र नेटो आबद्ध राष्ट्रहरूले यसलाई समर्थन गर्नेछन् ।
युक्रेनका राष्ट्रपति र बेलायतका प्रधानमन्त्रीबीच फोनवार्ता
किभ/सिन्ह्वा
युक्रेनका राष्ट्रपति भोलोदोमिर जेलेन्स्की र बेलायतका प्रधानमन्त्री बोरिस जोनसनबीच फोनवार्ता भएको छ । उनले बेलायतका प्रधानमन्त्री बोरिस जोनसनसँग फोनमा कुराकानी गरेको बुधवार युक्रेनी मिडियालाई जानकारी दिएका छन् ।
उनले बुधवार भनेका थिए–“हामीले बेलायतका प्रधानमन्त्रीसँग कुराकानी गरेका छौं र यतिखेर युक्रेनमाथि भएको रूसी हमलाविरूद्ध आवश्यक सहयोगबारे छलफल गरेका छौं । युक्रेनका राष्ट्रपति जेलिन्स्किीले बिहीवार हुन लागेको ग्रुप अफ ७ को बैठक अगाडि नै बेलायतले युक्रेनलाई केही सहयोग गर्ने विषयमा बेलायती प्रधानमन्त्री जोनसनले जानकारी गराएको बताए ।
यस अघि नै बेलायतका प्रधानमन्त्री जोनसनले पनि युक्रेनलाई आवश्यक सहयोग उपलब्ध गराउन विश्व समुदायलाई आग्रह गरेका थिए । उनले ट्वीट गरेर युक्रेनलाई बचाउन विश्व समुदायले सैन्य सहयोग उपलब्ध गराउनु आवश्यक रहेको पनि प्रधानमन्त्री जोनसनले विश्व समुदायलाई आग्रह गरेका थिए । रासस