राधेश्याम पटेल, परवानीपुर, ९ चैत/

भारत, बिहार राज्यको पश्चिमी चम्पारणको बलथर ग्राम पञ्चायत अहिले सुनसान बनेको छ । पर्साको छिपहरमाई गाउँपालिकाको सीमावर्ती ग्राम पञ्चायतमा गत शनिवार होलीको दिन भएको स्थानीय र प्रहरीबीचको हिंसाका कारण गाउँ सुनसान बनेको छ ।

बलथर थानाका सुरक्षाकर्मीको कुटपिटबाट बलथर ग्राम पञ्चायत वडा नं ६ आर्यानगरका ३५ वर्षीय अनिरुद्ध यादवको थाना परिसरमैं मृत्यु भएपछि उक्त गाउँमा हिंसा भडेको थियो । पछि थाना घेराउ गर्न पुगेका गाउँलेको समूहले आक्रमण गर्दा बलथर थाना मातहतको प्रसुतीपुर थानाका हवलदार बिहार, लखिसराय जिल्ला निवासी ५० वर्षीय रामजतन सिंहको घटनास्थलमैं गम्भीर घाइते भई उपचारको लागि प्राथमिक स्वास्थ्य केन्द्र सिकटामा लैजाँदा चिकित्सकले मृत्यु भएको घोषणा गरेको थियो । प्रहरीको मृत्युपछि प्रहरी र गाउँलेबीच तनाव बढेर थप हिंसा भडेको थियो ।

गत शनिवार आर्यानगरमा गाउँलेले होली मनाइरहेको बेला अनिरुद्धले डिजे बजाएर होहल्ला गरेको भन्दै थानामा स्थानीयले गुनासो गरेपछि बलथर थानाका सुरक्षाकर्मीले यादवलाई हिरासतमा लिएर बाँसको लट्ठीले टाउकोमा प्रहार गर्दा उनको थाना परिसरमैं मृत्यु भएको मृतकका भाइ कन्हैया यादवले बताए ।

 “दिउँसो २ बजे प्रहरीले पक्रेर लगेको थियो, अढाई बजे हामीलाई थाहा भयो कि प्रहरीको कुटाइबाट दाइको मृत्यु भयो,” उनले भने, “त्यसपछि होली जस्तो चाडमा पनि प्रहरीको दमनविरुद्ध सबै गाउँले थाना घेराउ गर्न पुगेका थिए ।” पश्चिमी चम्पारण (बेतिया)का एसपीलाई बोलाउन र क्षतिपूर्तिको माग गर्दै थानाअगाडि नै अनिरुद्धको शव राखेर गाउँले धर्नामा बसे । अपराह्न ३ बजेपछि गाउँलेले थानामा ढुङ्गामुढा तथा तोडफोड शुरू गरेका थिए । गाउँलेले थानाका आधा दर्जनभन्दा बढी गाडी जलाएर नष्ट पारेको प्रहरीको दाबी छ भने गाउँलेका अनुसार आगजनी गाउँलेले नगरी प्रहरीले नै गरेको थियो ।

बलथर थानाका थाना प्रभारी सबइन्स्पेक्टर अजयकुमार चौधरीका अनुसार करीब एक हजार गाउँलेले ४० जना सुरक्षाकर्मी रहेको थाना घेरेर सुरक्षाकर्मीमाथि आक्रमण गरेका थिए । “गाउँलेले थानाको दोस्रो तलाको झ्यालको टपमा लागेको मौरीको घारमा पनि ढुङ्गा प्रहार गरी भागदौड मचाएर आक्रमण गरी क्षति पु¥याए,” उनले भने, “बलथर थानामा गार्डमा खटेका हवलदारको टाउको ताछिएर मारिएको छ, गोली प्रहार गरी मारिएको हो कि कोदालो वा धारिलो हतियारले टाउकोमा हानेको हो, फरेन्सिक ल्याब मुजफ्फरपुरको टोलीले जाँच गरिरहेको छ ।

शनिवार नै राति प्रहरीले थाना वरपरबाट ठूलो परिमाणमा सुरक्षाकर्मी परिचालन गरी दुवै शव नियन्त्रणमा लिएर शल्यपरीक्षणको लागि बेतिया पठाएको थियो । शल्यपरीक्षणपछि शवहरूको अन्त्येष्टि गरिएको छ । घटनाको भोलिपल्ट अर्थात् आइतवारदेखि सुरक्षाकर्मीले गाउँलेलाई धरपकड गर्न शुरू गरेपछि गाउँलेमा त्रास मचेको छ ।

छवटा वडा रहेको बलथर ग्राम पञ्चायतमा करीब १४ हजार जनसङ्ख्या रहेको छ भने करीब एक हजार २०० घरधुरी छ । तर अहिले प्रहरीले गाउँलेलाई दङ्गा भड्काएको, प्रहरी हवलदारलाई मारेको तथा थानामा  आक्रमण गरेको मुद्दामा छुट्टाछुट्टै धारा लगाएर करीब एक हजार ८०० भन्दा बढी गाउँलेमाथि मुद्दा चलाएको छ ।

गत शनिवार र आइतवार दिनभरि गाउँलेमाथि सुरक्षाकर्मीले लट्ठी चार्ज गरी अवस्था साम्य बनाउने प्रयत्न गरेको थियो । जसमा दर्जनौं गाउँले तथा महिला निर्घात कुटपिट गरिएपछि घाइते भएका छन् ।

मृतक यादवकी पत्नी सुशीला देवीलाई समेत कम्मरमा कुटपिट गरी घाइते बनाइएको छ । गाउँमा अहिले वृद्धवृद्धा, बालबालिका तथा महिलाहरू मात्र छन् । अधिकांश पुरुष नजीकको गाउँमा आफन्तजन तथा नेपालमा समेत भागेर शरण लिएका छन् । प्रहरीले हालसम्म एकजना महिला, एकजना नाबालक गरी १४ जनालाई पक्राउ गरी बेतिया जेल चलान गरिसकेको छ भने अन्यको खोजी कार्य जारी राखेको छ ।

बलथरमा अहिले करीब पाँच सय सुरक्षाकर्मी परिचालन गरी हाई अलर्टमा सुरक्षा प्रबन्ध मिलाइएको छ । बलथर ग्रामवासीका अनुसार प्रहरीले झूटो मुद्दा बनाएर सयौं निर्दोषलाई फसाउन खोजेको  आरोप गाउँलेले लगाएका छन् । गाउँलेले दोषीमाथि मुद्दा चलाउनुपर्ने, निर्दोषलाई न्याय दिनुपर्ने र गाउँमा पुनस्र्थापन गराउनुपर्ने राज्य र केन्द्र सरकारसँग माग गरेको स्थानीय वृद्ध दरोगा तुरहाले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here