• अनन्तकुमार लाल दास

नेपालको शिक्षा व्यवस्था मात्र सरकारी प्रयासले सम्भव नभएकोले निजी लगानीमा अधिकांश अङ्ग्रेजी माध्यमका विद्यालयहरू सञ्चालित छन् । ती विद्यालयहरूको प्रभावले गर्दा सरकारी विद्यालयमा पनि अङ्ग्रेजी माध्यमबाट छुट्टै कक्षा सञ्चालन हुन थालेको छ । एकातिर निजी अर्थात् संस्थागत विद्यालयहरू सरकारी उपेक्षाका शिकार छन् भने सरकारी अनुदान, कैयन सुविधा, दक्ष शिक्षकशिक्षिकाका बावजूद इमानदार अनुगमनको अभावमा सामुदायिक विद्यालयमा मनपरीतन्त्र हावी हुँदै गएको छ । विद्यालय र सम्बन्धित निकायको मिलेमतोमा ‘तैं चुप, मैं चुप’ संस्कृति मौलाएको छ भने निजी विद्यालयहरूका लागि कानून बनाइए तापनि उनीहरू सङ्गठित भई आफ्नै नियमकानूनले चलिरहेका छन् । यी यावत् समस्याको प्रभावकारी समाधान तबसम्म कठिन छ जबसम्म समाजको हरेक वर्गले यसमा सहयोग गर्दैन ।

शिक्षाको गुणस्तरीयताको विकासमा अभिभावक र शिक्षकको भूमिका अति महŒवपूर्ण हुन्छ । यदि नेपालका सबै अभिभावक र शिक्षकहरू आफ्नो निहित स्वार्थ त्यागेर एकजुट भई यसतर्फ ध्यान दिन्छन् वा चिन्तन मनन वा इमानदार छलफल गर्छन् भने राम्रो, गुणस्तरीय र देश सुहाउँदो शिक्षाको विकासमा एउटा महŒवपूर्ण पाइला साबित हुनेमा कुनै शङ्का छैन । के भनिन्छ भने केटाकेटीहरू एक चौथाई शिक्षा शिक्षकसँग, एक चौथाई स्वयंसित र आधा आमाबुवा वा अभिभावकसँग सिक्छन् । यस आधारमा अभिभावकसँग शिक्षा र त्यसको गुणस्तरीयताको विकासमा सहयोग लिनु अत्यन्त महŒवपूर्ण हुन्छ । त्यसैले होला, विद्यालयमा शिक्षक–अभिभावक सङ्घको मह(वलाई प्रतिपादन गरिएको । तर विडम्बना के छ भने सामुदायिक विद्यालयमा यो निष्क्रिय अवस्थामा छ भने देशमा नै केही संस्थागत विद्यालय बाहेकमा यो गठन नै भएको छैन ।

केटाकेटीहरूको शैक्षिक विकासमा शिक्षक र अभिभावकको महŒवपूर्ण योगदान हुन्छ तर दुवैको शिक्षासम्बन्धी भूमिका र परस्पर अपेक्षा बेग्लाबेग्लै हुन्छ । शिक्षकले केटाकेटीहरूको जुन समस्यालाई आफ्नो दृष्टिकोणले हेर्दछ, त्यसैमा अभिभावकको दृष्टिकोण भिन्न हुन्छ । यसको प्रमुख कारण के हो भने शिक्षकका लागि त्यो कैयौं विद्यार्थीमध्ये एक विद्यार्थी हो भने आमाबुवाका लागि एक मात्र र स्वयंको अंश । शिक्षकले जहाँ केटाकेटीहरूको समान विकासको कुरा गर्दछ त्यहीं आमाबुवा वा अभिभावकको रुचि शिक्ष्Fकले उसको सन्तानको अधिकाधिक विकासमा सहयोग गरोस् भन्ने हुन्छ । यस प्रकारको सोचले गर्दा नै केटाकेटीहरूको क्षमता, रुचि, व्यवहारगत दोष सम्बन्धमा अभिभावकको सोच र शिक्षकहरूको सोचमा भिन्नता देखा पर्दछ । यहाँनिर ध्यान दिनुपर्ने अर्को कुरो के हो भने केटाकेटीहरू शिक्षकहरूको तुलनामा अभिभावकसँग बढी समय व्यतीत गर्छन् । यस कारण अभिभावकको सोच नै केटाकेटीमाथि बढी हाबी हुने गर्दछ ।

शिक्षाको क्षेत्रमा खासगरी समस्याग्रस्त केटाकेटीहरूमाथि गरिएको शोधले के देखाएको छ भने उनीहरूको समस्यामाथि सामाजिक पर्यावरणको महŒवपूर्ण प्रभाव पर्दछ । यही कुरा उनीहरूले हासिल गर्ने उपलब्धिले पनि साबित गरेको छ । यसर्थ विद्यार्थीहरूको शैक्षिक प्रगतिमा परिवार र पर्यावरणको महŒवपूर्ण प्रभाव देख्न सकिन्छ । सही कुरो त के हो भने अभिभावक वा आमाबुवा केटाकेटीहरूका पहिलो शिक्षक हुन् । यस कारण पहिलो शिक्षक र विद्यालयको शिक्षकबीच परस्पर सहयोगले देशको भावी नागरिकको शैक्षिक विकासमा दुई गुणा योगदान मिल्न सक्छ । यस कारण अभिभावक–शिक्षक सङ्घको स्थापना र सञ्चालन सबै खाले विद्यालयका लागि अनिवार्य मात्र होइन, अपरिहार्य हुनुपर्छ । यसतर्फ सम्बन्धित निकायले ध्यान दिनुपर्ने खाँचो छ ।

अभिभावकहरूलाई विद्यालयसँग जोड्न शिक्षकहरूले महŒवपूर्ण भूमिका निर्वाह गर्न सक्छन् । विद्यालयमा आएका अभिभावकसँग शिक्षकहरूले विद्यार्थीको शिकायत मात्र गर्छन् भने उनीहरू पुनः विद्यालय आउन चाहँदैनन् । यही कुरा शिक्षकहरूको सन्दर्भमा पनि लागू हुन्छ जसको सन्तान अन्य विद्यालयमा पढ्छन् । शिक्षकहरूले पनि सकारात्मक व्यवहारको अपेक्षा गर्छन् । साथै व्यावहारिक समस्यालाई व्यावहारिक तरीकाले हल गर्नुपर्ने हुन्छ । यस्तोमा समुदायबाट सहयोग प्राप्त भएमा कैयन समस्याको समाधानमा सहयोग पुग्छ । यसर्थ कुनै पनि विद्यालयमा अभिभावक–शिक्षक सङ्घ हुनैपर्छ ।

शिक्षक–अभिभावक सङ्घको पहिलो उद्देश्य के हुन सक्छ भने शिक्षक र अभिभावकबीच परस्पर बुझाइ विकसित गर्नु र दोस्रो, शिक्षक र अभिभावकको परस्पर सहयोगले विद्यार्थीहरूको समस्या समाधान गर्नु । तर हाम्रो देशको सामुदायिक विद्यालयहरूमा शिक्षक–अभिभावक सङ्घको बुझाइ एक अर्काको खिचाइ गर्नु र विद्यालयमा राजनीति गर्नु मात्र हो । यसबाहेक विद्यालय विकासका लागि आउने रकमबाट केही अंश प्राप्त गर्नु वा विद्यालयबाट केही भत्ता हासिल गर्नु पनि हिजोआज चलनचल्तीमा देखा पर्न थालेको छ । संस्थागत विद्यालयमा यस सङ्घका सदस्यहरूको सन्तानलाई निश्शुल्क पढाउन दबाब दिनु अन्यथा विद्यालयको कमीकमजोरी सार्वजनिक गर्ने बुझाइ भएकोले दुवै खालै विद्यालयहरूमा जुन उद्देश्यको लागि यो खोलिएको हो त्यो सफल भइरहेको छैन । यस कारण शिक्षक–अभिभावक सङ्घको प्रभावकारी सञ्चलनका लागि तपसीलका कार्यक्रम आयोजित गर्न सकिन्छ ।

१) शिक्षकहरूद्वारा विद्यार्थीहरूको घरसँगको सम्पर्क

यदि शिक्षक वास्तवमा अभिभावकको मित्र र उनीहरूको सन्तानका लागि सहयोगी हो भने निश्चित रूपले यस प्रकारको पाइला शिक्षकहरू द्वारा वा विद्यालयद्वारा चाल्नुपर्छ । यसले शिक्षकहरूलाई विद्यार्थीहरूको आर्थिक, सामाजिक र भौगोलिक परिवेश बुझ्न सहयोग गर्छ र यसले पाठ्यवस्तुको स्थानीय उदाहरणको अध्ययनमा पनि सहयोग पु¥याउँछ । प्रायः हाम्रो देशको सदरमुकाममा भएका विद्यालयका शिक्षकहरूमा विद्यार्थीको घर जाने चलन नै छैन तर सुदूर गाउँमा शिक्षक त्यस बेला मात्र विद्यार्थीको घर जान्छन् जब ऊ कुनै समस्याले ग्रस्त हुन्छ । यसबाट विद्यार्थीहरूमा समस्या देखापर्नु पूर्व नै समस्या समाधान हुन्छ । यसबाट प्राथमिक स्तरमा हुने अपव्यय र अवरोधजस्ता समस्या रोक्न सहयोग मिल्छ । शिक्षक–अभिभावक सङ्घले पारिवारिक वित्तीय सङ्कट, सामाजिक समस्या आदिको कारण विद्यालय छोड्ने विद्यार्थीहरूको लागि समाधान दिन सक्छ ।

२) अभिभावकहरूद्वारा विद्यालयमा सम्पर्क

जसरी शिक्षकहरूका लागि विद्यार्थीहरूको परिवारसँग सम्पर्क राख्नु आवश्यक छ, त्यसैगरी शिक्षक–अभिभावक सङ्घबीच गहिरो सम्बन्ध स्थापित गर्न अभिभावकहरू पनि विद्यालय आउनु जरूरी छ । यसबाट अभिभावक र विद्यार्थीहरूमा विद्यालयप्रति विश्वासमा वृद्धि हुन्छ तर प्रायः के देखिएको छ भने विद्यार्थी भर्नाको बेला र परिणाम घोषित हुने बेला मात्र विद्यालयद्वारा अभिभावकहरूलाई आमन्त्रित गरिन्छ । केही विद्यालयहरूले वार्षिकोत्सव वा अन्य विशेष प्रयोजनका लागि आमन्त्रित गर्छन् तर यसबाहेक न विद्यालय, न अभिभावक नै एकअर्कासँग भेट्न चाहन्छन् । कहिले काहीं सन्तानमा देखा परेको समस्या समाधानका लागि पनि अभिभावकहरू विद्यालय आउँछन् तर विद्यालयको उद्देश्य र त्यसमा अभिभावकको सहयोगसम्बन्धी कुनै कार्यक्रम हुँदैन जुन एउटा विचारणीय प्रश्न हो ।

३) शिक्षण कार्यक्रम र अभिभावकको सहभागिता

यदि विद्यालयहरूले वास्तवमा अभिभावकहरूको चाहना अनुसार कार्यक्रम आयोजित गर्न चाहन्छन् भने कार्ययोजना तयार गर्दा अभिभावक प्रतिनिधिहरूसँग संस्थापक वा प््रधानाध्यापकले सल्लाह गर्नुपर्छ र उनीहरूको भावना अनुसार उपयुक्त समयमा कार्यक्रम आयोजना गर्नु आवश्यक मात्र नभई अपरिहार्य हुन्छ । अध्यापनको क्षेत्रमा खासगरी यस्ता विषय, जो सीपमा आधारित छन्, त्यसमा पनि अभिभावकको सल्लाह तथा आंशिक सहयोग–सेवा लिन सकिन्छ ।

४) अभिभावक समूहमा शिक्षकहरूको सहभागिता     

विभिन्न रुचि र क्षमता भएका अभिभावकहरूको बेग्लाबेग्लै समूहलाई विद्यालय सम्पर्क, विकास, मनोरञ्जन आदिको लागि आमन्त्रित गर्न सकिन्छ । उदाहरणको लागि खेलकूद कार्यक्रममा खेलमा रुचि राख्ने अभिभावकहरूसँग, विद्यालय मेला, विज्ञान प्रदर्शनी, सांस्कृतिक कार्यक्रममा त्यस्ता अभिभावकहरूलाई जो यस प्रकारको कार्यक्रममा रुचि राख्छन् । यस सम्बन्धमा अभिभावक र शिक्षक मिलेर छलफल गरेर विद्यालय र समुदायको हितार्थ कार्यक्रम आयोजित गर्न सक्छन् ।

५) सीप विकासमा अभिभावकको सहयोग

देशभरि विभिन्न योजनाहरू विद्यालयमा समय–समयमा लागू गरियो र दक्ष शिक्षकहरूको अभावमा त्यसलाई खारेज पनि गरियो । वर्तमानमा यस्तै एउटा विषय हो ‘पेशा, व्यवसाय र प्रविधि’ जसमा देश सुहाउँदो सीप अध्ययन गराइन्छ तर यो विषय सही तरीकाले कक्षामा लागू नभएकोले पुनः यसलाई हटाइँदै छ किनभने विभिन्न व्यावसायिक सीपका लागि दक्ष शिक्षक उपलब्ध छैनन् । तर हाम्रै समाजमा सबै खाले सीप भएका मानिस उपलब्ध छन् तीमध्ये कैयौं अभिभावक पनि हुन्छन । अभिभावक–शिक्षक सङ्घको माध्यमले यिनीहरूको आंशिक सेवा लिन सकिन्छ र यो प्रभावकारी पनि हुन्छ ।

६) विद्यालय उद्देश्य र प्रगतिको सन्दर्भमा सूचना

शिक्षक–अभिभावक सङ्घ परस्परसम्पर्कका लागि मात्र नभई विद्यालयसँग अभिभावकलाई जोडेर राख्न पनि निरन्तर विद्यालयको लक्ष्य, कार्यक्रम र प्रगतिको सम्बन्धमा अभिभावकलाई सूचित गर्न सहयोगी हुन्छ । केही विद्यालयले मासिक वा त्रैमासिक विद्यालय बुलेटिन प्रकाशित गरी अभिभावकहरूलाई पठाइराख्छन् ।

विद्यालय र विद्यार्थीको विकासमा अभिभावक र शिक्षकको भूमिका बलियो बनाउन विद्यालयसँग समन्वयात्मक सम्बन्ध हुनु आवश्यक छ । विद्यालय यस्तो ठाउँ हो जहाँ हरेक समुदायका केटाकेटी हुन्छन् । यस यात्रामा उनीहरू हरेक समुदायको संस्कृति बुझ्नुको साथै जीवनोपयोगी सीप पनि हासिल गर्छन् । यदि तपाईं अभिभावक हुनुहुन्छ भने नियमित विद्यालय जानुपर्छ किनभने यसबाट शिक्षकको दृष्टिकोणले सन्तानको सफलता र प्रगति सँगसँगै चुनौती र सहयोगको क्षेत्र पनि पहिचान गर्न सक्नुहुन्छ र ‘बोलाउँदा पनि अभिभावक आउँदैनन्’ भन्ने शिक्षकहरूको गुनासो पनि हटाउन सक्नुहुन्छ । अभिभावक–शिक्षक सङ्घको उद्देश्य पनि यही नै हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here