प्रस, सेढवा, २ फागुन/
जगरनाथपुर गाउँपालिकाको कार्यालयमा बुधवार विद्यार्थीहरूले तोडफोड गरेका छन् । वडा नं ५ स्थित नेरामावि, मसिहानीका विद्यार्थीहरूले गाउँपालिका कार्यालयमा तोडफोड गरेका हुन् ।
विद्यालयमा शिक्षक अभाव पूर्ति नभएको भन्दै विद्यार्थीहरू आन्दोलनरत छन् । शिक्षक अभाव हुँदा माध्यमिक स्तरको पठनपाठन नभएका कारण आन्दोलन गर्नुपरेको एकजना विद्यार्थीले बताए । छ महीनादेखि माविस्तरको गणित विषयको पढाइ नभएको विद्यार्थीहरूको गुनासो छ ।
तोडफोडका कारण गापा कार्यालयको झ्यालको सीसा, गमला, डिजिटल होडिङ बोर्ड र दुईवटा सिसिटिभी क्यामरामा क्षति पुगेको इलाका प्रहरी कार्यालय, पटेर्वासुगौलीका प्रहरी निरीक्षक रामकाजी थापाले बताए । करीब दुई सयजना विद्यार्थीले ढुङ्गामुढा गरेको प्रनि थापाले बताए ।