• अनन्तकुमार लाल दास

परीक्षाको मौसम प्रारम्भ भइसकेको छ । विद्यार्थीहरूमा परीक्षाको तयारीलाई लिएर चिन्ता प्रस्टरूपमा देखा पर्न थालेको छ । यस सन्दर्भमा यदि तपाईं नपढी उत्कृष्ट ग्रेड हासिल गर्न चाहनुहुन्छ भने यस्तो हुँदैन किनभने भाग्यको भरोसामा केही हासिल हुँदैन । यस कारण राम्रो त के हुन्छ भने तपाईं जति पढ्नुहुन्छ त्यसलाई ध्यान दिएर पढ्नुहोस् । पढ्न मन लाग्दैन भने जबर्दस्ती पढ्ने बानी बसाल्नुहोस् । यहाँ विद्यार्थीहरूले बुझ्नुपर्ने कुरो के हो भने परीक्षामा सफलताको कुनै सटीक फर्मुला छैन । अर्को कुरो हामीकहाँ परीक्षा वर्षभरिमा २० देखि ४० दिनसम्म मात्र हुन्छ र बाँकी दिन विद्यार्थीहरूले ‘कल क्या होगा किसे है पता, अभी जिन्दगीका ले लो मजा’ भन्ने गाना गाइरहन्छन् । ठीक यसको विपरीत यदि वर्षभरि ३००+दिन परीक्षा भइरहन्छ भने हामीलाई परीक्षाको कुनै भय हुँदैन किनभने कुनै पनि कार्य यदि हाम्रो दैनिकीमा सामेल हुन्छ भने त्यसबाट कुनै भय हुँदैन र यही कुरो परीक्षामा पनि लागू हुन्छ ।

वार्षिक परीक्षा वा माध्यमिक शिक्षा परीक्षा हुन केही समय बाँकी छ । विद्यार्थीहरू परीक्षामा राम्रो ग्रेड हासिल गर्ने तयारीमा जुटेका छन् । परीक्षाको तयारी यदि सही तरीकाले गरियो भने ‘ए प्लस’ सजिलै हासिल गर्न सकिन्छ । हुनत अधिकांश विद्यार्थीहरूको चिन्ता के हुन्छ भने परीक्षाको तयारी कसरी गर्ने किनभने केही सातामैं पाठ्यक्रम पूरा गर्नुपर्छ । यो चिन्ताको नभई चिन्तन गर्नुपर्ने विषय हो । प्रस्तुत आलेखमा दिइएका उपाय अवलम्बन गर्दा निश्चय नै फाइदा हुनेछ चाहे तपाईंसँग तयारीका लागि केही महीना होस् वा केही साता, यी उपाय सहयोगी साबित हुनेछन् ।

कम समयमा परीक्षाको तयारी गर्नको लागि पछिल्लो केही वर्षका प्रश्नपत्रहरूको विश्लेषण गर्नु नितान्त आवश्यक हुन्छ किनभने तपाईंसँग हरेक अध्याय पढ्न थोरै समय बाँकी छ । यस कारण परीक्षामा राम्रो ग्रेड हासिल गर्न आफूसँग शेष रहेको समयलाई कुशलतापूर्वक उपयोग गर्ने आवश्यक छ । प्रारम्भ पछिल्लो वर्षका प्रश्नपत्रहरूको विश्लेषणबाट गर्नुपर्छ । यसका लागि कम्तीमा तीन वर्षको प्रश्नपत्र एकत्रित गरेर विभिन्न प्रश्नहरूको गम्भीरता र सिलसिलाको ‘क्रस चेक’ गर्नुपर्छ । यो यस कारणले महŒवपूर्ण छ कि यसबाट बढी वेटेज, कम वेटेज, बढी महŒवपूर्ण र कम महŒवपूर्ण पाठको पहिचान गर्न सकिन्छ । यसबाट हरेक एकाइको महŒवपूर्ण कुरा बुझ्न सजिलो हुन्छ जसलाई परीक्षाको दृष्टिकोणले अध्ययन गर्न अति आवश्यक हुन्छ ।

विश्लेषणपछि विद्यार्थीहरूले प्रश्नहरूको सङ्ख्या, अङ्क भार र कठिनाई स्तर अनुसार महŒवपूर्ण पाठहरूको प्राथमिकता निर्धारित गर्नुपर्छ । प्राथमिकता सूची अनुसार हरेक पाठको समय तोक्नुपर्छ र बढी वेटेज वा सजिलो पाठदेखि अध्ययन प्रारम्भ गर्नुपर्छ । विद्यार्थीहरूले ध्यान दिनुपर्ने सबैभन्दा महŒवपूर्ण कुरा के हो भने आफ्नो टाइम टेबल वा अध्ययन योजनामा पटक–पटक फेरबदल गर्नु सही हुँदैन । मात्र प्राथमिकता सूची अनुसार अध्ययन कार्यक्रम निर्धारित गरेर राम्रो परिणामको लागि त्यसको अनुसरण गर्नुपर्छ ।

प्रायः के सुनिन्छ भने विद्यार्थीहरू आफ्नो मोबाइल, ल्यापटप, टैबलेट आफू नजीक राखेर पढ्न बस्छन् जसबाट उनीहरूको ध्यान निरन्तर भङ्ग भइरहन्छ । पढ्न बस्दा बिर्सेर पनि यस्ता उपकरण नजीक राख्नुहुन्न किनभने यसबाट एकाग्रता प्रभावित हुन्छ र समय पनि खेर जान्छ । यसर्थ पढ्नको लागि नभइ नहुने सामग्रीहरू मात्र नजीक राखेर पढ्न बस्नुपर्छ जस्तै नोटबूक, पाठ्यक्रम, प्रश्नपत्र र स्टेशनरी आदि । सँगसँगै के पनि ध्यान राख्नुपर्छ भने यी सामग्रीको आवश्यकता हुँदा पढाइ छोडेर उठ्न नपरोस् ।

प्रायः विशेषज्ञहरूले परीक्षाको लागि तयारी गर्दा बीचबीचमा ब्रेक लिने सल्लाह दिएका छन् तर कसैले पनि कति समयको लागि र कतिपटक ब्रेक लिने उल्लेख गरेका छैनन् । आदर्श स्थितिमा हरेक ४५ मिनेटको अध्ययनपछि १५ मिनेट ब्र्रेक लिनुपर्छ । तर १५ मिनेटको ब्र्रेकलाई १०+५, ५+१० वा ५+५+५ मा विभाजन गर्नु सही हुँदैन किनभने यसबाट भ्रमित र विचलित हुने सम्भावना बढी हुन्छ । यो समय तपाईंको लागि अति नै महŒवपूर्ण भएकोले पढाइमा एकाग्रता कायम राख्नु नितान्त आवश्यक हुँदा एक घण्टामा एउटा स्यानो ब्रेक लिनुपर्छ अर्थात् ६० मिनेट . ४५ मिनेट अध्ययन + १५ मिनेटको ब्रेक ।

परीक्षामा राम्रो प्रदर्शनका लागि पढेका कुराहरूलाई रिभिजन गर्नु पनि त्यतिकै आवश्यक हुन्छ किनभने यसबाट सम्बन्धित विषयमा कति कमान्ड छ भन्ने थाहा हुन्छ । कुनै एउटा परीक्षाको लागि बनाइएको रिभिजन स्ट्रैटजी कुनै अर्को परीक्षाको लागि पनि त्यतिकै राम्रो हुन्छ भन्ने छैन तर रिभिजन गर्दा केही विशेष तरीका निकै लाभदायी हुन्छ । जस्तै त्यो विषय पढ्ने खाँचो हुन्छ जसको सिकाइ अत्यन्त आवश्यक छ । त्यस विषयलाई सरल बनाउनुका लागि जवाफ र सम्बन्धित विषय देखाउनको लागि बुलेट नम्बरिङ, विशेष प्रतीक वा माइन्ड मैपिङ अर्थात् डायग्रामको उपयोग गर्न सकिन्छ । के गर्दा राम्रो हुन्छ भन्ने कुरा आफ्नो हिसाबले निर्धारित गर्न सकिन्छ । रिभिजन गर्दा सबैभन्दा महŒवपूर्ण शान्त र सकारात्मक हुनु हो भन्ने कुरा बिर्सनुहुन्न । यसरी रिभिजनबाट आफ्नो कमजोरी थाहा हुन्छ जसले नयाँ रणनीति तयार गर्न सघाउँछ ।

परीक्षाको तयारी गर्दा विद्यार्थीहरूले ध्यान दिनुपर्ने अर्को महŒवपूर्ण कुरा के हो भने ६–७ घण्टा गहिरो निद्रा सुत्नु पर्छ । सँगसँगै यस बेला विद्यार्थीहरूले स्वस्थकर र सन्तुलित आहार लिनुपर्छ । केही बेर शारीरिक व्यायाम वा मेडिटेशन गर्नुपर्छ जसले तपाईंको शारीरिक र मानसिक फिटनेस कायम भइरहन्छ । यस बेला खासगरी जङ्क फूड, बढी चिनी भएका उत्पाद वा कैफिनबाट बच्ने सल्लाह चिकित्सकहरूले दिएका छन् किनभने यस्ता खानेकुराले शरीरलाई थकाउँछ र पढाइमा ध्यान केन्द्रित हुन दिंदैन । विद्यार्थीहरूले आफूलाई जति व्यवस्थित राख्छन् सफलताको सम्भावना पनि त्यतिकै बढी हुन्छ । यस कारण रिभिजनको लागि एउटा निश्चित कार्यतालिका बनाउनुपर्छ अर्थात् प्रत्येक दिन एउटा निश्चित समयमा रिभिजन प्रारम्भ गरेर समाप्त गर्ने बानी बसाल्नुपर्छ । रिभिजन एकाबिहानै गर्दा राम्रो हुन्छ किनभने यस समय मस्तिष्क चुस्त हुन्छ र इन्द्रियसँग पनि कुनै खास काम हुँदैन अर्थात् सजिलै पढाइप्रति ध्यान एकाग्र हुन्छ ।

परीक्षा शब्द आपैंmमा विद्यार्थीहरूमा भय उत्पन्न गर्न पर्याप्त हुन्छ । अर्कोतिर हामीसबै आआफ्नै किसिमले परीक्षाको तयारी पनि गर्छौं तर सो अनुरूप परीक्षा दिदैनौं । हुनु के पर्ने हो भने प्रारम्भदेखि नै हरेक विषयमा ध्यान दिंदा परीक्षामा टेंशन हुँदैन र राम्रो ग्रेड सजिलै हासिल गर्न सकिन्छ । तर केही साता मात्र परीक्षाको तयारीका लागि बाँकी रहेको हुनाले ‘मूड’ अनुसार तयारी सम्भव हुँदैन त्यसैले जबर्दस्ती पढ्ने बानी बसाल्नुपर्छ । प्रायः के देखिएको छ भने ९० प्रतिशत विद्यार्थीहरू परीक्षा हुनुभन्दा केही साता पहिलेदेखि पढ्न शुरू गर्छन् । यसो गर्दा कम समयमा बढी पढाइ गर्नुपर्छ । यस अवधिमा प्रत्येक विषयको सन्तुलित अभ्यास गर्नुपर्छ । प्रत्येक दिन वा प्रत्येक साता शिक्षक, मन मिल्ने साथी वा स्वयं अभ्यास परीक्षा दिई राख्नुपर्छ सँगसँगै विषयगत शिक्षकहरूको सम्पर्कमा रहेर समस्याको समाधान गर्नुपर्छ । विद्यार्थीहरूले यहाँ ध्यान दिनुपर्ने अर्को कुरा के हो भने घरमा परीक्षा दिन ठीक त्यही बेला बस्नुपर्छ जति बेला परीक्षा भवनमा दिनुपर्ने हुन्छ । यसो गर्दा सबैभन्दा ठूलो फाइदा के हुन्छ भने तपाईंको जीउको प्राकृतिक घडी स्वतः त्यस बेला परीक्षा दिन तयार हुन्छ र परीक्षाको दिन तयार हुने आवश्यकता पर्दैन । 

यदि प्रत्येक दिन एउटा परीक्षा दिने बानी बसाल्ने हो भने परीक्षाको दिन कुनै पनि प्रकारको तनाव हुँदैन र त्यो परीक्षा पनि एउटा आम परीक्षाजस्तै लाग्न थाल्छ । जसरी साथीलाई भेट्दा कुनै डर लाग्दैन किनभने ऊसँग हरेक दिन भेट हुन्छ । यसैगरी परीक्षाको भयबाट पनि मुक्त हुन सकिन्छ । तर यी सबै कुराको लागि विद्यार्थीहरू स्वयं मानसिकरूपले तयार हुनुपर्छ । परीक्षाको तयारी गर्दा शान्त चित्त र सकारात्मक सोच राख्नु आवश्यक हुन्छ किनभने शान्त मस्तिष्कले गरेको कुनै पनि कामबाट चार गुणा बढी फाइदा हुन्छ र गल्ती हुने सम्भावना पनि न्यून हुन्छ । यहाँ विद्यार्थीहरूले के बुझ्नुपर्ने हुन्छ भने परीक्षाको दृष्टिले मात्र अध्ययन गर्नु सबैथोक नभई हस्तलेखन र सही तरीकाले जवाफ लेख्ने ढङ्ग पनि परीक्षामा एउटा प्लस प्वाइन्ट नै हुन्छ । यसरी ध्यान दिंदा तपाईंको जवाफले अन्यको तुलनामा परीक्षकको ध्यानलाई आकर्षित गर्छ । यो कला जो कोहीले सिक्न सक्छ तर यसको लागि केही बढी अभ्यास आवश्यक हुन्छ ।

परीक्षाको एक दिन पहिले विद्यार्थीहरूले कसैको जीवनमा आधारित फिल्म हेर्नुपर्छ । उनीहरूले गरेको सङ्घर्ष हेरेर मनमा जीत हासिल गर्ने उम्मीद पैदा हुन्छ र तपाईं तनावमुक्त भई परीक्षा दिन सक्नुहुन्छ । कुनै पनि काम गर्दास त्यो पढाई नै किन नहोस् निरन्तरता अत्यन्त आवश्यक हुन्छ किनभने यसले हामीलाई असम्भव कुरोलाई सम्भव बनाउन सहयोग गर्दछ । त्यही विद्यार्थीले परीक्षामा राम्रो प्रदर्शन गर्दछ जो लगातार आफ्नो काम गरिरहन्छ । विद्यार्थीहरूले परीक्षाको प्रमुख उद्देश्य बुनुपर्छ । यहाँ ध्यान दिनुपर्ने कुरो के हो भने कुनै पनि परीक्षा अन्तिम परीक्षा नभई एउटा मापदण्ड मात्र हो जसबाट हामीले आफ्नो तयारीको मूल्याङ्कन गर्न सक्छौं । जीवनमा अझ कैयन प्रकारको परीक्षा दिनु बाँकी छ । यदि हामी एउटै परीक्षाबाट डराउनु सही होइन । परीक्षा र समस्या हाम्रो जीवनका अभिन्न अङ्ग हुन् र यसबाट नै हाम्रो व्यक्तित्वलाई एउटा विशेष पहिचान हासिल हुन्छ । परीक्षा दिने सबै विद्यार्थीहरूलाई सफलताको अग्रिम शुभकामना दिंदै के भन्न चाहन्छु भने “जति कठिन सङ्घर्ष हुन्छ त्यतिकै शानदार जीत पनि हासिल हुन्छ ।”

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here