• उमाशङ्कर द्विवेदी

कर्ण र भीमसेनका बाणहरूबाट व्यथित भएर सिन्धु–सौवीर र कौरवसेना युद्धस्थलबाट टाढा गई उभिए । यतिबेला रणमा मरेका हात्ती, घोडा र मानिसहरूको रक्तबाट उत्पन्न भयङ्कर खोलो नै बग्यो, जसमा मरेका हात्ती, घोडा र मानिसहरूका शव तैरिन थाले ।

राजन्, अब कर्णले भीमसेनमाथि तीनवटा बाण हानेर अनेकौं चित्र–विचित्र बाणहरूको वर्षा आरम्भ गरिदिए । अनि भीमसेनले अत्यन्त तीक्ष्ण कर्णी नामक बाण कर्णको कान ताकेर प्रहार गरे । त्यस बाणबाट कर्णको कुण्डसहित कान काटिएर तल झ¥यो । यसपछि भीमसेनले एउटा बाणबाट कर्णको छातीमाथि प्रहार गरेर दशवटा बाण अझै हाने । त्यो बाण कर्णको निधार फोरेर भित्र छि¥यो । यस प्रकार अत्यन्त घाइते भएको कर्णलाई मूच्र्छा लाग्यो तथा उनी रथको सहारा लिएर आँखा चिम्ले । अलिकबेरपछि होश खुल्दा कर्ण अत्यन्त क्रोधित भएर भीमसेनको रथतिर दौडे र उनीमाथि एक सयवटा बाण हाने ।

अनि भीमसेनले क्षुरप्र नामक बाण हानेर कर्णको धनुषलाई काटिदिएर बडो जोडले गर्जना गरे । कर्णले अर्को धनुष लिए तर भीमसेनले त्यसलाई पनि काटिदिए । यस प्रकार भीमसेनले एक/एक गरी कर्णका अठारवटा धनुष काटिदिए । भीमसेनले सिन्धु–सौवीर र कौरवहरूका अनेकौं सेनालाई मारेको तथा उनले मारेका सयकडौं हात्ती घोडा र मानिस रणभूमिमा सोत्तर भएको हेरेर कर्णलाई अत्यन्त क्रोध भयो र उनी भीमसेनमाथि बडो तीखो–तीखो बाण हान्न थाले तर भीमसेनले ती जम्मै बाणलाई काटिदिएर कर्णमाथि भीषण बाणवर्षा गर्न थाले ।

अब कर्णले अस्त्रकौशलबाट अनेकौं बाण हानेर भीमसेनको तरकस, धनुष, प्रत्यञ्चा तथा घोडाको रास काटिदिएर उनका घोडाहरूलाई पनि मारिदिए तथा सारथिलाई पनि घाइते पारिदिए । त्यो सारथि तत्कालै आफ्नो रथबाट हाम्फालेर युधामन्युको रथमाथि गई बस्यो । कर्णले भीमसेनको रथको ध्वजा र पताकालाई बाणले हानेर उडाइदिए । यस प्रकार हातमा धनुष नभएपछि महाबाहु भीमसेनले एउटा शक्ति उचालेर बडो क्रोधले कर्णको रथमाथि हाने । कर्णले दशवटा बाण हाने त्यस शक्तिलाई बीचमैं काटिदिए । अब भीमसेनले हातमा तरबार लिएर कर्णको रथमाथि हाने । त्यो तरबारले प्रत्यञ्चासहित कर्णको धनुषलाई काटेर भुइँमा झारिदियो । अनि कर्णले अर्को धनुष लिएर भीमसेनलाई मारिदिने मनसायले बाणवर्षा गर्न थाले ।

कर्णको बाणबाट व्यथित भएर भीमसेन आकाशतिर उफ्रे । उनको यस्तो कर्म हेरेर कर्ण अत्यन्त आत्तिएर रथमा लुकेर आफूलाई भीमसेनको प्रहारबाट बचाए । कर्ण आत्तिएर रथको पछिल्लो भागमा गई लुकेर बसेको हेरी भीमसेनले कर्णको रथको ध्वजा समातेर उभिई गरुडले जसरी सर्पलाई तान्दछ, त्यसै प्रकार उनले कर्णलाई रथबाट बाहिर तान्न प्रयत्न गर्न थाले । अनि कर्णले उनीमाथि बडो वेगले धावा गरे । भीमसेनका शस्त्र सकिएको थियो, त्यसैले उनी कर्णको रथको बाटोबाट बाँच्नको लागि रणभूमिमा अर्जुनले मारेका हात्तीको लाशको ओटमा गई लुके । अनि भीमसेन कर्णमाथि प्रहार गर्नको लागि हात्तीको एउटा लाश हातमा उचाले तर कर्णले आफ्नो बाणबाट त्यस हात्तीको लाशलाई टुक्राटुक्रा पारिदिए । अनि भीमसेनले हात्तीको लाशका ती टुक्राहरूलाई नै कर्णमाथि हान्न थाले र रणभूमिमा भेटिने रथका पाङ्ग्रा वा मरेका घोडाहरूलाई नै उनीतिर हान्न थाले तर उनले फाल्ने गरेका ती जम्मैलाई कर्णले बाण हानेर काटिदिन्थे ।

अब भीमसेनले मुक्का तानेर नै कर्णलाई मार्न चाहे तर अर्जुनको प्रतिज्ञा सम्झेर समर्थ भएर पनि कर्णलाई मार्ने विचारलाई छाडे । यतिबेला कर्णले पटकपटक आफ्ना तीक्ष्ण बाणहरूको मारबाट भीमलाई मूर्छितझैं पारिदिए तर कुन्तीलाई दिएको वचनको सम्झना गरेर कर्णले शस्त्रहीन अवस्थामा रहेका भीमसेनको वध गरेनन् । कर्ण भीमसेनको नजीक गई आफ्नो बाणको चुच्चोले उनको शरीरमा घोचे । त्यस बाणको स्पर्श हुने बित्तिकै भीमसेन झन् क्रोधित भएर उनले कर्णको धनुष खोसेर उनको निधारमाथि बजारिदिए ।

भीमसेनको यस चोटबाट कर्णका आँखाहरू क्रोधले राताराता भए र उनले भीमसेनसित भन्न थाले– हरे नपुंसक, अरे मूर्ख, तँलाई त अस्त्रशस्त्र सम्हाल्ने धैर्य पनि छैन तर युद्ध गर्न उत्सुकता यति छ कि मसित भिड्ने चञ्चलता गरिरहेका छौ । हरे, दुर्बुद्धि, खानेपिउने पर्याप्त हुने ठाउँमा पो तिमी बस्नुपर्दछ, युद्धमा मेरोसामु तिमीले आफ्नो मुख देखाउनुहुँदैन । तँ त फल, मूल खान तथा व्रत–नियम आदिको पालना गर्नमा अवश्य कुशल छस् तर युद्ध गर्न तँ जान्दैनस् । कहाँ मुनि वृत्ति र कहाँ युद्ध । भाइ, तँलाई युद्ध गर्ने धैर्य छैन, तँ त वनमैं रहेर प्रसन्न रहन सक्छस् । त्यसैले तँ वनमैं जा र तैंले युद्ध नै गर्नु छ भने अन्यसित भिड्न जाती हुन्छ । मजस्तो वीरको सामु तिमी जस्तो मान्छे पर्नु शोभा दिंदैन । क्रमश…

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here