राधेश्याम पटेल, वीरगंज, २६ फागुन/

प्रधानमन्त्री एवं नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले आगामी स्थानीय निर्वाचनमा गठबन्धन दलसँग तालमेल गर्ने सङ्केत गरेका छन् ।

बिहीवार पर्सा काङ्ग्रेसका नवनिर्वाचित पदाधिकारी तथा कार्यसमितिलाई प्रमाणपत्र वितरणपश्चात् प्रम देउवाले निर्वाचनमा तालमेल मिल्न सक्ने सङ्केत गरेका हुन् । गठबन्धनकै कारण आफू प्रधानमन्त्री बनेको उदाहरण पटकपटक दोहो¥याँदै देउवाले गठबन्धन दलका नेताहरूलाई अनावश्यकरूपमा नचिढ्याउनसमेत आग्रह गरे ।

 “म प्रधानमन्त्री हुने नै थिइनँ, यसपालि । गठबन्धनका साथीहरू तथा मधेसका साथीहरूले सहयोग गरेर प्रधानमन्त्री भएको हुँ,” प्रम देउवाले भने । प्रम देउवाले गठबन्धनको सरकार बनेपछि डरत्रास हटेको तर्कसमेत प्रस्तुत गरे ।

 “काङ्ग्रेसको उद्देश्य नै नेपालमा प्रजातन्त्र स्थायी गराउने हो, सम्पूर्ण मौलिक अधिकारलाई प्रत्याभूत गर्ने प्रणाली बनाउने हो,” उनले थपे, “यसैका लागि मलाई गठबन्धनले प्रधानमन्त्री बनाएको हो ।”

आगामी निर्वाचनमा कसरी जाने भन्नेबारेमा सबै पार्टीमा छलफल हुने उल्लेख गर्दै सबैको सहयोग लिन जरुरी रहेको उनले बताए । अघिल्लो निर्वाचनमा काङ्ग्रेस नराम्ररी पराजित बनेको सुनाउँदै प्रम देउवाले अब पहिलो पार्टी बनाउन नेता, कार्यकर्ताहरू लाग्नुपर्ने निर्देशनसमेत दिए । स्थानीय, प्रदेश र केन्द्रमा पनि हामी पहिलो पार्टी बन्नेतिर लाग्नुपर्छ,” प्रम देउवाले भने, “अर्कोतिर विपक्षी पार्टी एमाले छ । सशक्त छ । उनीहरूमा एकता छ, हाम्रोमा एकता छैन, अब मजबूत बन्नुपर्छ ।” अत्यधिक सिट जित्न भित्री तयारी गर्नसमेत उनले आग्रह गरे ।

कार्यक्रममा पूर्वमन्त्री सुरेन्द्र चौधरी, केन्द्रीय सदस्य रमेश रिजाल,  अजयकुमार चौरसिया, संविधानसभा सदस्य अनिल रूँगटालगायतले मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रममा पर्साका पूर्वसभापति अजयकुमार द्विवेदी, मधेस प्रदेशका खानेपानी तथा ऊर्जामन्त्री ओमप्रकाश शर्मा, वर्तमान सभापति जनार्दनसिंह क्षत्रीलगायतको सहभागिता थियो । कार्यक्रममा सहजीकरण तीर्थराज यादव र स्वागत वृहस्पतिकृष्ण श्रेष्ठले गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here