प्रस, निजगढ, २६ फागुन/

बारामा काठ चोरी तस्करीका घटनामा गत वर्ष केही कमी आए पनि चोरी तस्करीका घटना फेरि बढ्न थालेको छ । जिल्लाको वन क्षेत्रको नाका कुरेर बसेका सशस्त्र वनरक्षक र वन कर्मचारीलाई झुक्याउँदै काठ चोरी तस्करीका घटना भइरहे पनि गत बिहीवार राति करीब २ बजे डिभिजन वन कार्यालय, बारालाई सफलता मिलेको छ ।

बाराको निजगढ–कोल्हवी सडकखण्डको भीमसखुवा सडक हँुदै कोल्हवीतर्फ गइरहेको शङ्कास्पद ट्याक्टरलाई चेकजाँच गर्दा सालको चिरान काठले भरिएको एक टेलर काठसहित तीनजना तस्कर र ट्याक्टरलाई स्कर्टिङ गर्ने बा.६४प ७८३४ नम्बरको स्कूटीसमेत सशस्त्र वनरक्षकको टोलीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा निजगढ नगरपालिका–८ बस्ने वर्ष २८ को चन्द्रे माझी, वर्ष २४ को सन्तोष कुशवार र जीतपुरसिमरा उपमहानगरपालिका–१६ टाँगियाबस्तीका २२ वर्षका शेरफ बमजन रहेको डिभिजन वन कार्यालय, बाराले जनाएको छ ।

ना.४ त ७७९ नम्बरको ट्याक्टरमा माथि धानको भुस राखी तल सालको चिरान काठ राखी कोल्हवी हुँदै सिम्रौनगढ लैजाँदै गर्दा पक्राउ परेको हो ।

उक्त चिरान काठ जीतपुरसिमरा उपमहानगरपालिका–१६ टाँगियाबस्तीबाट जिल्लाकै दक्षिण भेग सिम्रौनगढ लैजान लागेको खुलेको छ । पक्राउ परेका अभियुक्तहरूमाथि अनुसन्धान शुरू भइसकेको डिभिजन वन कार्यालय, बाराका प्रमुख एवं डिएफओ मन्जुर अहमदले जानकारी दिए ।

पक्राउ गरिएको उक्त ट्याक्टर, काठ, स्कूटी र तस्करहरू तामागढी सबडिभिजन वन कार्यालय, निजगढ, कोल्हवी सबडिभिजन वन कार्यालय र डिभिजन वन कार्यालय, बाराले संयुक्तरूपमा पक्राउ गरेको कोल्हवी सबडिभिजन वन कार्यालयका इन्चार्ज एवं रेन्जर अब्दुल करिम मियाँले जानकारी दिए ।

कोल्हवी नाकामा इलाका प्रहरी कार्यालय, कोल्हवी र झुरझुरे प्रहरी चौकी सडकछेउमैं रहे पनि काठ तस्करलाई प्रहरीले पक्राउ नगर्दा त्यस नाकाबाट काठ चोरी तस्करी हँुदै आइरहेको घटनाक्रमले देखाएको छ । करीब एक महीनाअघि सोही नाका भएर पिकअप भ्यानमा बाराको राष्ट्रिय वन क्षेत्रबाट दुईवटा हरियो रूख ढालेर ९ गिन्डा सालको गोलिया लगिएको थियो । वन कर्मचारीले सूचना पाएपछि पिछा गर्दै जाँदा पनि काठ तस्करहरूछिमेकी जिल्ला रौतहटको विजयपुरतर्फ लागेको डिवका, बारालाई सूचना प्राप्त भएपछि खोजी कार्य भइरहेको वन कार्यालय, बाराले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here