• अनन्तकुमार लाल दास

सदीयौंदेखि महिलालाई वस्तु र पुरुषलाई सम्पत्तिको रूपमा समाजले ठाउँ दिंदै आएको छ । पुरुषले महिलालाई कुट्न सक्छ । उसको हृदय र शरीरसँग खेल्न सक्छ । उसको मनोबल खण्डित गर्न सक्छ र उसको ज्यान पनि लिन सक्छ । कस्तो लाग्छ भने महिलाप्रति पुरुषले यस्तो गर्ने अघोषित अधिकार हासिल गरेको छ । तर के पनि सत्य हो भने कैयन महिलाले जस्तोसुकै विपरीत परिस्थितिको सामना, हटेर होइन डटेर, गर्दै त्यसमा जीत हासिल गरेका छन् र इतिहासमा आफ्नो नाउँ लेखाएका छन् । वर्तमान बदलिंदो तथा अनुकूल परिस्थितिमा महिलाहरूले पनि स्वयंलाई परिवर्तन गर्ने र पुरुषप्रधान समाजद्वारा रचित बन्धनबाट स्वयंलाई स्वतन्त्र गराउन प्रतिबद्ध छन् । यस कारण विश्वका हरेक महिलाको सम्मानमा प्रत्येक वर्ष ८ मार्चको दिन अन्तर्राष्ट्रिय महिला दिवस मनाइन्छ तर महिला दिवसको इतिहासबारे धेरै मानिस अनभिज्ञ छन् । यस आलेखमा इतिहासको चर्चा गर्नुका साथै कति हदसम्म महिलाहरूले आफूलाई परिवर्तन गर्न सक्छन् र किन भन्नेबारे छलफल गरिएको छ ।

वैदिककालमा महिला र पुरुष समान थिए । महिलाहरू शिक्षित थिए । उनीहरूको बिहे परिपक्व उमेरमा हुन्थ्यो र उनीहरूलाई आफ्नो ‘वर’ छान्ने स्वतन्त्रता थियो । मध्यकालमा उनीहरूको स्थिति खस्कन थाल्यो । बालविवाह, विधवा विवाहमाथि रोक, बहुविवाह, दासी प्रथा, घुम्टोप्रथा जस्ता कुरीतिहरूले गर्दा महिलाको शोषण हुन थाल्यो । त्यसविरुद्ध समान अधिकारको लडाइँ आम महिलाहरूद्वारा प्रारम्भ गरियो । प्राचीन ग्रीसमा लीसिसट्राटा नाम भएकी एक महिलाले फ्रान्सको राज्य क्रान्तिको बेला युद्ध रोक्ने माग राख्दै यस आन्दोलनको शुरूआत गरेकी थिइन् । फारसी महिलाहरूको एक समूहले वरसेल्समा यस दिन एउटा मोर्चा निकालेको थियो जसको उद्देश्य युद्धको कारण महिलाहरूमाथि बढिरहेको अत्याचारलाई रोक्नु थियो । इस्वी सन् १९०९ मा सोसलिस्ट पार्टी अफ अमेरिका द्वारा पहिलोपटक अमेरिकाभरि २८ फेब्रुअरीका दिन महिला दिवस मनाइएको थियो । सन् १९१० मा सोसलिस्ट इन्टरनेशनलद्वारा कोपेनहेगेनमा महिला दिवसको स्थापना भयो र सन् १९११ मा आस्ट्रिया, डेनमार्क, जर्मनी र स्वीटजरल्यान्डमा लाखौं महिलाद्वारा चुनावमा भोट खसाल्ने अधिकार, सरकारी कार्यकारिणीमा ठाउँ, जागीरमा भेदभावको समाप्तिजस्ता मुद्दा लिएर ¥यालीको आयोजना गरिएको थियो ।

सन् १९१३–१४ मा प्रथम विश्वयुद्धको बेला रूसी महिलाहरूद्वारा पहिलोपटक शान्ति स्थापनाको लागि फेब्रुअरी महीनाको अन्तिम आइतवार महिला दिवस मनाइयो । युरोपभरि युद्धको विरोधमा प्रदर्शन भयो । सन् १९१७ सम्म विश्वयुद्धमा रूसका करीब २ लाखभन्दा बढी सैनिक मारिए । एकपटक फेरि रूसी महिलाहरूले रोटी र शान्तिको लागि यसै दिन हडताल र विरोध प्रदर्शन गरे । रूसी नेताहरू यस आन्दोनको विरोधमा थिए तर महिलाहरूले कसैको कुरा सुनेनन् र आफ्नो आन्दोलन निरन्तर जारी राखे । परिणामस्वरूप रूसको जारले गद्दी त्याग्नुप¥यो र महिलाहरूलाई भोट खसाल्ने अधिकारको घोषणा पनि गर्नुप¥यो ।

प्रत्येक वर्ष ८ मार्चको दिन मनाइने अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा सम्पूर्ण विश्वका महिलाहरू देश, जातपात, भाषा, राजनीतिक, सांस्कृतिक भेदभाव छोडेर, एकजुट भई यो दिवस मनाउँछन् । पुरुषहरूले पनि यस दिनलाई महिलाहरूको सम्मानमा समर्पित गर्छन् । वर्तमानमा महिला दिवस विश्वका प्रायः सबै विकसित र विकासशील देशहरूमा मनाइन्छ । यस दिन महिलाहरूलाई उनीहरूको क्षमता, सामाजिक, राजनैतिक र आर्थिकरूपले प्रगति गराउने प्रतिबद्धता पनि व्यक्त गरिन्छ । यस दिन त्यस्ता महिलाहरूलाई पनि स्मरण गरिन्छ, जसले महिलाहरूलाई अधिकार दिलाउनको लागि अथक प्रयास गरेका थिए ।

संयुक्त राष्ट्रसङ्घले पनि महिलाहरूलाई समान अधिकार र सुरक्षा प्रदान गर्नको लागि विश्वभरि केही नीति, कार्यक्रम र मापदण्ड लागू गरेको छ । संयुक्त राष्ट्रसङ्घका अनुसार कुनै पनि समाजमा उत्पन्न सामाजिक, आर्थिक र राजनैतिक समस्याको निराकरणका लागि महिलाहरूको साझेदारीमाथि जोड दिएको छ । नेपालमा पनि महिला दिवस व्यापक रूपमा मनाइन्छ । देशभरि यस दिन महिलाहरूको लागि बिदा दिइन्छ र समाजमा विशेष योगदान दिने महिलाहरूलाई सम्मानित गरिन्छ र ठाउँ–ठाउँमा महिला समारोहको आयोजना गरिन्छ । महिलाहरूलाई हक दिनको लागि नेपालको संविधान २०७२ को भाग २७, आर्टिकल २५२–२५४ मा अन्य आयोगहरू अन्तर्गत ‘राष्ट्रिय महिला आयोग’को प्रावधान दिइएको छ । यसैगरी भाग २, आर्टिकल ११ को नियम ५ मा आमाको नाउँमा नागरिकता दिने प्रावधान रहेको छ भने संविधानको भाग २ मौलिक अधिकार अन्तर्गत, धारा १८ समानताको हक अन्तर्गतको नियम ५ मा ‘पैतृक सम्पत्तिमा लैङ्गिक भेदभावविना सबै सन्तानको समान हक हुनेछ’ भनिएको छ भने धारा ३८ मा छुट्टै ‘महिलाको हक’ अन्तर्गत, नियम १–६ द्वारा महिलाहरूलाई विशेष अधिकार प्रदान गरिएको छ ।

यसरी नेपालमा महिलाहरूलाई निश्शुल्क शिक्षा, भोट खसाल्ने, मौलिक अधिकार र राजनीतिमा भाग लिने अधिकार संविधानले प्रदान गरेको छ । यस दिन महिलाहरूको लागि काम गर्ने गैरसरकारी संस्थाद्वारा पनि कैयन प्रकारका कार्यक्रम आयोजना गरिन्छ । समाज, राजनीति, सङ्गीत, साहित्य र शिक्षा आदिको क्षेत्रमा उत्कृष्ट प्रदर्शनको लागि पनि महिलाहरूलाई सम्मानित गरिन्छ । मधेस प्रदेशले बालबालिकाहरूको शिक्ष्Fामा पहुँच बढाउन साइकल र बीमा योजना ल्याएको छ भने कैयन समाजसेवी संस्थाहरूद्वारा गरीब महिलालाई आर्थिक सहायता र वृद्ध महिलाहरूलाई नेपाल सरकारद्वारा वृद्ध भत्तासमेत प्रदान गरिन्छ । यसरी बिस्तारै हाम्रो देशमा पनि महिलाहरूको स्थितिमा सुधार भइरहेको छ । आज देशका महिलाहरू पुलिस, आइटी, इन्जियनीयरिङ, चिकित्सा, बैंकिङ, उद्योग र व्यापारको क्षेत्रमा समेत संलग्न भई आफ्नो उत्कृष्टता प्रदर्शन गरिरहेका छन् ।

देशमा कम्प्युटर र प्रविधिको विकाससँगै पैmशन र मनोरञ्जनको क्षेत्रमा पनि क्रान्तिकारी परिवर्तन भएको छ । आज महिलाहरू पुरुषभन्दा कुनै पनि क्षेत्रमा कमजोर छैनन् । उनीहरू आज घरको पर्खालभित्र कैदी जीवन व्यतीत गर्न रुचाउँदैनन् । आज प्रायः आमाबुवाले छोराछोरीलाई समान ठान्छन् । आजको बदलिंदो परिस्थितिमा महिलाहरू आफ्नो पहिरन र जीवनशैलीका साथै समुदाय–विशेषबाहेक जीवनसाथीको चुनाव पनि स्वतन्त्रतापूर्वक गरिरहेका छन् । आज महिलाहरू पुरुष समकक्ष मात्र होइन, उनीहरूभन्दा राम्रो पनि गरिरहेका छन् । तर आज समाजका केही उच्च शिक्षित महिलाहरू के बुझ्न थालेका छन् भने थोरै पहिरन लगाउनु, बेरोकटोक मुक्त जीवन व्यतीत गर्नु, खुला सेक्सको बाटोमा हिंड्नु नै उनीहरूले चाहेको परिवर्तन हो तर सदीयौंदेखि चलिआएको रहनसहन वा आचारविचारलाई चुनौती दिनुबाहेक यस प्रकारको परिवर्तनको उनीहरूसँग तर्कसङ्गत जवाफ छैन ।

महिलाहरू आज घरको पर्खालभित्र सीमित छैनन् भन्ने कुरामा कुनै शङ्का छैन । तर महिलाहरूले के पनि बिर्सनुहुन्न भने घर उनीहरूको लागि सबैभन्दा ठूलो किल्ला र सबैभन्दा ठूलो कार्यक्षेत्र हो जसको एक्लै आर्किटेक्ट उनीहरू हुन् । महिलाहरूले घर बनाउन गरेको प्रयास महान् हुन्छ, जहाँ उनीहरू आफ्नो सन्तानको स्याहारसुसार गरेर देशको भविष्य निर्माणमा अथक भूमिका निर्वाह गर्छन् । घरको हरेक जिम्मेवारी एउटा कुशल व्यवस्थापकको रूपमा पालन गरेर सुखी र समृद्ध परिवारको जग बसाल्छन् । यस्तो सुखी र समृद्ध परिवार नै देशको ताकत बन्छ । घरलाई समृद्ध बनाउन खानपान, स्वास्थ्य र सामान्य आवश्यकतामा ध्यान दिएसँगै घर परिवारको सम्मान सुनिश्चित गर्ने दायित्व पनि रहेको हुन्छ ।

हिजोआज हाम्रो देशका गाउँहरूमा पनि परिवर्तनको हावा बग्न थालेको छ । मनोरञ्जन र सञ्चारको साधन जस्तै– टेलिभिजन, मोबाइल गाउँको घर–घरमा पुगिसकेको छ । ग्रामीण महिलाहरू पनि आज शहरमा बस्न खोज्छन् । सामाजिक नियम र परम्परा सबै गलत हुँदैनन् । अतः कुनै पनि परिवर्तन तर्कसङ्गत हुनुपर्छ र त्यो अरूको हितलाई अतिक्रमण गर्ने खालको हुनुहुँदैन । महिलाहरूले पनि समय, ठाउँ, परिवार, परिस्थिति र क्षमता अनुसार उपयुक्त परिवर्तन आत्मसात् गर्नुपर्छ र त्यो पनि क्रमिकरूपमा ।

महिलाहरू जीवनका वास्तविक कलाकार हुन् र पुरुष उनीहरूको हातको रङ्ग र कागज हुन् । आज विश्व हरेक क्षण परिवर्तन भइरहेको छ र महिलाले पनि स्वयंलाई वर्तमान परिस्थिति अनुरूप परिवर्तन गरिराख्नुपर्छ । महिलाहरू वस्तु होइनन्, दयाका पात्र पनि होइनन् । सबैलाई थाहा भएकै कुरो हो आमाको रूपमा एउटी कमजोर महिलालाई जब सन्तान खतरामा रहेको थाहा हुन्छ, त्यसबेला उसको रक्षाको लागि रणचण्डीको रूप धारण गर्छे । यसर्थ अन्तर्राष्ट्रिय महिला दिवस त्यसबेला सार्थक हुन्छ जब विश्वमंै महिलाहरूले मानसिक र शारीरिकरूपले स्वतन्त्रता प्राप्त गर्छन् । जहाँ कसैले उसलाई प्रताडित गर्दैन, जहाँ दाइजोको लोभमा उसलाई जलाइँदैन, जहाँ कन्या–भ्रूणको हत्या गरिंदैन र जहाँ बलात्कार हुँदैन, जहाँ उसलाई बेचिंदैन । जब समाजको हरेक महŒवपूर्ण निर्णयमा उनीहरूको दृष्टिकोण समावेश गरिन्छ । समग्रमा जहाँ महिलालाई पुरुष सरह मानिस ठानिन्छ । महिलाले ‘हरे १ छोरो किन भइनँ’ भनी पछुतो गर्नुको साटो टाउको ठाडो पारेर महिला हुनुमा गर्वको अनुभूति गर्छे, त्यस बेला मात्र महिला दिवसको सार्थकता प्रस्ट हुन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here