धर्मेन्द्र चौरसिया, पोखरिया, २१ फागुन/
नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले हेटौंडा–परवानीपुर–पोखरिया १३२ केभी प्रसारण लाइनको अवलोकन गरेका छन् ।
घिसिङले शनिवार बिहान पर्साको पोखरिया वितरण केन्द्रसम्म पुगेर प्रसारण लाइनको अवलोकन निरीक्षण गरेका थिए । जग्गाको मुआवजा विवाद टुङ्गिएपछि निर्माणको चरणमा रहेको उक्त प्रसारण लाइन निर्माणपछि वीरगंज–पोखरिया पनि औद्योगिक कोरिडोर बन्न सक्ने वीरगंजका उद्योगीको भनाइ छ ।
घिसिङले पोखरियामा अगुवाहरूसँगको कुराकानीमा पोखरियासम्म १३२ केभीको प्रसारण लाइन बनेपछि वीरगंज–पथलैयासँगै वीरगंज–पोखरिया पनि औद्योगिक कोरिडोरको रूपमा विकसित हुने बताए ।
हेटौंडादेखि परवानीपुर ५० किलोमिटर र परवानीपुरदेखि पोखरिया २० किलोमिटर दूरीमा पर्छ । पोखरिया वितरण केन्द्रको लागि आवश्यक १२ बिघा जग्गामध्ये १० बिघा जग्गा प्राधिकरणले खरीद गरिसकेको र बाँकी दुई बिघा जग्गा पनि खरीद गर्ने प्रक्रियामा रहेको उनले बताए । निरीक्षणको अवसरमा प्राधिकरणका प्रादेशिक प्रमुख मुनिन्द्र ठाकुर, वीरगंज वितरण केन्द्रका प्रमुख जीतेन्द्र झा, पोखरिया वितरण केन्द्रका प्रमुख जगरनाथ झा, कलैया वितरण केन्द्रका प्रमुख हरदेव गुप्ता, आयोजनाविज्ञ अभय न्यौपाने, पोखरिया नपाका वडाध्यक्ष बङ्काप्रसाद कुर्मीलगायतको सहभागिता थियो ।