• उमाशङ्कर द्विवेदी

तपाईंका महारथी पुत्रहरू यस प्रकार मारिइरहेको देखेर कर्णको नेत्रमा जल भरिएर आयो र उनलाई विदुरजीको कुराको सम्झना हुन थाल्यो । अलिकबेरमैं उनी अर्को रथमा चढेर भीमसेनको सामु आइपुगेर उनीमाथि बाण वर्षा गर्न थाले । कर्णको बाण प्रहारबाट भीमसेनको सम्पूर्ण शरीर घाइते हुन पुग्यो । यतिबेला कर्ण यति वेगले बाण हानिरहेका थिए कि उनको धनुष, ध्वजा, उपस्कर, छत्र, इषादण्ड सबैबाट बाणको वर्षा भइरहेकोजस्तो लाग्दथ्यो । उनको यस्तो प्रबल वेगबाट हानिएका बाणबाट आकाश ढाकियो तर जुन प्रकार कर्णले भीमसेनलाई बाणबाट आच्छादित पारे, त्यसै प्रकार भीमसेनले पनि बाणहरूको झरी लगाइदिए । यतिबेला सङ्ग्राममा भीमसेनको अद्भुत पराक्रम हेरेर तपाईंका योद्धाहरू पनि उनको प्रशंसा गर्न थाले । भूरिश्रवा, कृपाचार्य, अश्वत्थामा, शल्य, जयद्रथ, उत्तमौजा, युधामन्यु, सात्यकि, श्रीकृष्ण र अर्जुन–यी कौरव र पाण्डव पक्षका दश महारथी साधु–साधु भन्दै जोडजोडले सिंहनाद गर्न थाले ।

अनि तपाईंका पुत्र दुर्योधनले आफ्ना पक्षका राजा, राजकुमार र विशेष गरेर आप्mना भाइहरूसित भने– धनुर्धरहरू हो, हेर, भीमसेनको धनुषबाट हानिएका बाणहरूबाट कर्ण नष्ट हुनुभन्दा अगावै उनलाई बचाउने प्रयत्न गर । दुर्योधनको आज्ञा पाएर उनका सातजना भाइ क्रोधित भई भीमसेनमाथि जाइ लागे र उनलाई चारैतिरबाट घेरामा हाले । उनीहरूले भीमसेनमाथि बाण हानेर उनलाई अत्यन्त पीडित पार्न थाले । अनि भीमसेनले उनीहरूमाथि सूर्य किरणझैं टल्किंदो सातवटा बाण हाने । ती बाण उनीहरूको ह्दय चिर्दै उनीहरूको रक्तपान गर्दै बाहिर निस्किए । यस प्रकार उनीहरूको मर्मस्थल बिधिएको कारण ती सात भाइ आप्mना रथबाट भुइँमा झरे । राजन्, यस प्रकार भीमसेनको हातबाट तपाईंका सात भाइ पुत्र शत्रुञ्जय, शत्रुसह, चित्र, चित्रायुध, दृढ, चित्रसेन र विकर्ण मारिए । तपाईंका यी मारिएका पुत्रहरूमध्ये पाण्डुनन्दन भीमसेन आफ्नो प्यारो भाइ विकर्णको निम्ति शोक गर्न थाले । उनले भने– भाइ विकर्ण, मैले यो प्रतिज्ञा गरेको थिएँ कि म धृतराष्ट्रका सम्पूर्ण पुत्रलाई मार्नेछु, त्यसैले तिमी पनि मारियौ । यस्तो गरेर मैले आफ्नो प्रतिज्ञाको रक्षा मात्र गरेको हु । भाइ, तिमी त विशेषतः राजा युधिष्ठिर र हाम्रै हितमा तत्पर रहन्थ्यौ । हरे, युद्ध बडो नै कठोर धर्म रहेछ ।

यसपछि उनी बडो जोडले सिंहनाद गर्न थाले । भीमसेनको यो भीषण सिंहनाद सुनेर धर्मराजलाई बडो प्रसन्नता भयो । यता तपाईंका एकतीस पुत्रहरू युद्धभूमिमा सोत्तर भएको हेरेर दुर्योधनलाई विदुरजीको वचनको सम्झना हुन थाल्यो । उनी मनमनैमा भन्न थाले– विदुरजीले जुन हाम्रो हितको कुरा गरेका थिए, त्यो सामुन्ने आइपुग्यो । उनले धेरै विचार गरे तर पनि यस समस्याको कुनै समाधान फेला परेन । राजन्, द्युतक्रीडाको बेला द्रौपदीलाई सभामा ल्याएर तपाईंका दुर्बुद्धि पुत्र र कर्णले भनेका थिए– कृष्णे, पाण्डवहरू त अब नष्ट भएर सदैवका लागि दुर्गतिमा परिसके, तिमी कोही अर्को पति चयन गरिलेऊ–यो त्यसैको फल सामु आइपुगेको छ । विदुरजीले धेरै रोइकराइ गरेर प्रार्थना गरेका थिए तर पनि तपाईंबाट उनले कुनै सन्तोषजनक उत्तर पाएका थिएनन् । अब तपाईं र दुर्योधन त्यस कुबुद्धिको फल चाख्नुहोस्, यो भारी अपराध तपाईंले गर्दा भएको हो ।

धृतराष्ट्रले भने– सञ्जय, यसमा विशेषतः मेरै अपराध अधिक छ, आज त्यसैको फल मेरोसामु आइपुगेको छ–यो कुरा मैले शोकको साथ स्वीकार गर्नुपरिरहेको छ, तर आज जे हुनु थियो त्यो त भइगयो । अब यस विषयमा के नै गर्न सकिन्छ र ! अब मेरो अन्यायबाट यसपछि वीरहरूको संहार कुन प्रकारले भयो ? मलाइ सुनाऊ ।

सञ्जयले भने– महाराज, महाबली कर्ण र भीम मेघ जसरी जलको वर्षा गर्दछ, त्यसै प्रकारले बाणवर्षा गरिरहेका थिए । भीमसेनले हानेका बाणहरू कर्णको प्राणान्त गर्लान्झैं उनको शरीरमा छिर्दथे । यसै प्रकारले कर्णले हानेका बाणहरूले वीरवर भीमसेनलाई आच्छादित गरिरहेका थिए । भीमसेनको धनुषबाट हानिएका बाणहरूले तपाईंका सेनाको संहार गरिरहेका थिए । युद्धमा मारिएका हात्ती, घोडा र मानिसहरू सम्पूर्ण युद्धभूमिमा आँधीबेरीबाट उखेलिएका वृक्षझैं लडिरहेका थिए । तपाईंका योद्धाहरू भीमसेनको बाणको मारबाट व्याकुल भई युद्धभूमिबाट भाग्न थाले । अनि कर्ण र भीमसेनको बाणबाट व्यथित भएर सिन्धु–सौवीर र कौरवसेना युद्धस्थलबाट टाढा गई उभिए । यतिबेला रणमा मरेका हात्ती, घोडा र मानिसको रक्तबाट उत्पन्न भयङ्कर खोलो नै बग्यो, जसमा मरेका हात्ती, घोडा र मानिसहरूका शव बग्न थाले । क्रमशः…

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here