विकृति भनेको बिग्रनु हो । त्यसैले बिग्रेकोबाट विकासको सम्भावना हुँदैन । विकासको लागि मात्र होइन, मानिसले आफूलाई मानिस भन्नका लागि पनि विकृतिरहित हुनैपर्दछ । हाम्रो समाजमा विकृतिको चाङ देखिन्छ । जुन पनि क्षेत्रमा विकृतिको चाङमाथि चाङ देखिन्छ । विकृति भौतिकरूपमा मात्र सीमित छैन, वैचारिक र बौद्धिक विकृति झन् टडकारो देखिन्छ । कुनै पनि विकृति हटाउन, विकासका सम्भावनाहरू खोज्न वैचारिक परिधि फराकिलो हुनुपर्छ । तर विचार नै विकृत छ भने, बौद्धिक धरातलमैं विकृति व्याप्त छ भने भौतिक विकृतिको निर्मूलन कसरी सम्भव हुन्छ ? भौतिक सक्रियताको मूल विचार हो । तसर्थ विचार जस्तो हुन्छ, काम–कारबाई पनि त्यस्तै हुन्छ । विचार विकृत छ भने काम कारबाई विकृत हुनुबाहेक अरू केही सोच्नै
सकिन्न । सबैले भन्छन् समाजमा बालविवाह छ, दाइजो प्रथा छ, पारिवारिक हिंसा छ, छुवाछूतको भावना छ, शिक्षाको प्रचार छैन, सबै शिक्षित छैन, जातिपाति भावना छ, उचनीचको भावना छ, श्रमको सम्मान छैन, तस्करहरू समाजको अगुवा बन्छन् । तर यी विकृतिको निर्मूलन होइन, सुधारतर्फ पनि कोही अग्रसर हुँदैन । किनकि सुधारका लागि काम गर्नेहरू नै कुनै न कुनै रूपमा यी विकृतिमा आफैं लिप्त छन् ।

समाजमा दण्डहीनता व्याप्त छ । दण्डहीनता रहेसम्म विकृति हट्नु असम्भव हुन्छ । दण्डले मानिसलाई नियम पालन गर्न हौस्याउँछ । तर हामी आफूमा क्षमाजस्तो दैवीय गुण व्याप्त रहेको विश्वास गर्छौं । त्यसैले बलात्कार, हत्या, भ्रष्टाचार र जस्तै पनि कुकृत्यका लागि क्षमालाई प्राथमिकता दिन्छौं । सरकारले कुख्यात बदमाश, हत्यारा, बलात्कारीलाई क्षमादान दिएर दण्डबाट जोगाउँछ । सानो गल्ती त हो नि भनेर क्षमादान दिंदा त्यस क्षमाको शहमा व्यक्ति ठूलो बदमाश बन्न पुग्छ । अन्तमा त्यही व्यक्ति अनुकरणीय बन्न पुग्छ । समाजमा ‘सबल को नहीं कछु दोष गुसाईं’ भन्ने धारणा बलवती बन्न पुग्छ । अनि विकृति असाध्य हुन्छ, सुधार दुष्कर बन्छ । एउटा कार्यक्रममा पर्साका प्रमुख जिल्ला अधिकारी यिनै विषयमा चर्चा गर्दै थिए । सामुदायिक सेवा केन्द्र, मुर्ली–श्रीपुरले आयोजना गरेको लागू पदार्थ र साइबर क्राइम अन्तक्र्रिया कार्यक्रममा उनले विकृति नहटेसम्म सुन्दर समाजको निर्माण नहुने बताएका थिए । माथि भनिसकिएको छ समाजमा विकृतिको चाङैचाङ छ । तर कसले र कसरी यो विकृति हटाउने ? लोकतान्त्रिक व्यवस्थामा यो काम जनप्रतिनिधि र तिनले निर्माण गरेको सरकारले हटाउनुपर्ने हो । तर ती आफैं विकृति हटाउने होइन, थरीथरीका विकृति उत्पादन गर्ने मेशीन बनेका छन् ।

अहिले देशमा एमसिसीको कोलाहल व्याप्त छ । केही विरोधमा छन् भने केही समर्थनमा । मज्जको कुरा के भने जो आज विरोधमा छन्, ती सरकारमा हुँदा एमसिसीका समर्थक थिए । जनप्रतिनिधि मात्र होइन, देशकै नीति निर्माता, सरकार सञ्चालकहरू यसरी द्वैध चरित्र देखाउँछन् भने विकृति कसरी हट्छ ? गराइ र भनाइको फरकमा कमजोर चरित्रले काम गरिरहेको हुन्छ । हाम्रा नेताहरूको चरित्र भनेको जसरी पनि सत्तामा लहसिनु हो । त्यसका लागि कुनै पनि कुकर्म र विरोधाभासपूर्ण क्रियाकलाप जायज मान्दछन् । यस्तो चरित्र नै विकृतिको पहिलो उत्पादन स्थल हो । त्यसैले जनताले जति मरिमेटे पनि देशबाट न विकृति हटेको छ, न देश विकास मार्गमा अघि बढ्न सकेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here