प्रस, वीरगंज, १४ फागुन/
पर्सा जिल्लाका पाँचवटा पालिकामा शनिवार नेपाली काङ्ग्रेसको सभापतिको लागि निर्वाचन भएको छ भने एउटा पालिकाको मात्र परिणाम सार्वजनिक भएको छ । शनिवार बिहान ९ बजेदेखि मतदान हुने भनिए पनि कतै ११ बजे कतै दिउँसो ४ बजेदेखि मतदान शुरू भएको थियो ।
वीरगंज महानगरमा बिहान ११ बजेदेखि मतदान भयो र साँझ ६ बजे सकियो । ५२४ जना मतदाता रहेको वीरगंज महानगरको सभापतिमा दीपेन्द्र चौहान, राधेश्याम चौरसिया र मणिन्द्रलाल श्रेष्ठ उम्मेदवार छन् ।
मतगणना बेलुकी ८ बजेदेखि हुने बताइएको छ । यहाँको परिणाम आइतवार दिउँसो आउन सक्ने अनुमान गरिएको छ ।
बलिराम शुक्ल, बिरूवागुठी/
बहुदरमाई नगरपालिकामा नेपाली काङ्ग्रेसको नगर अधिवेशनका लागि निर्वाचन सम्पन्न भएको छ । १३५ जना मतदाता रहेको नगरपालिकामा १२९ जना मतदाताले मतदान गरेका थिए ।
साँझ ७ बजेसम्म ४० प्रतिशत मतदान सकिएको र राति परिणाम आउन सक्ने निर्वाचन अधिकृत अशोक साहले बताए ।
पर्सागढी नगरपालिकामा दिउँसो ४ बजेदेखि साँझ ६ बजेसम्म दुई घण्टा मतदान भयो ।
शुक्रवार तीनजनाले उम्मेदवारी दिए पनि आज एकजना जङ्गबहादुर चौधरीले उम्मेदवारी फिर्ता लिए ।
सहमतिको लागि अधिकतम प्रयास गरिएकोले आजको निर्वाचन निर्धारित समयमा हुन नसकेको हो । निर्वाचनमा १४५ जना मतदातामध्ये १४२ जना सहभागी भए । मतगणनामा निवर्तमान अध्यक्ष विश्वमोहन दास थारू ८६ मत ल्याएर विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी घनश्यामप्रसाद चौधरीले ५६ मत ल्याए । उपसभापतिमा अच्छेलाल यादव र आत्माराम अधिकारी विजयी भएका छन् ।
बहुदरमाईमा नेपाली काङ्ग्रेसको देउवा पक्षबाट सभापतिमा रामानन्दराउत अहिर र कोइराला पक्षबाट डा प्रमोद कुशवाहा उम्मेदवार छन् ।
धर्मेन्द्र चौरसिया, पोखरिया/
नेपाली काङ्ग्रेस पोखरिया नगरको नगर सभापतिमा दुईजना उम्मेदवार छन् । रामबाबू चौहान, कोइराला पक्ष र लक्षुमन साह कानु, देउवा पक्षबाट चुनाव लडिरहेका छन् । दुवैजना पोखरिया नगरपालिकाका वडाध्यक्ष हुन् ।
१४६ मतदाता रहेको पोखरियामा १४० जनाले मतदान गरेका थिए । मतगणना रातिदेखि शुरू हुने र परिणाम बिहानसम्म आउन सक्ने अनुमान गरिएको छ ।
माधव तिमिल्सिना, ठोरी/
नेपाली काङ्ग्रेस ठोरी गाउँपालिकाको सभापतिमा मीनबहादुर (सन्तोष) श्रेष्ठ विजयी भएका छन् ।
८० जना मतदातामध्ये ७९ जना मतदानमा सहभागी भएका र सोमध्ये श्रेष्ठले ४६ र उनका प्रतिद्वन्द्वीले ३१ मत ल्याएका थिए । अध्यक्ष पदमा दुई मत बदर भयो । उपाध्यक्ष्Fमा पनि श्रेष्ठकै प्यानल विजयी भएको छ ।
केदारबहादुर देउवा, हस्तबहादुर डुमजन, सचिवमा थीर सिंह, भक्तबहादुर श्रेष्ठ, सहसचिवमा राजकुमार श्रेष्ठ, सालिकराम आचार्य विजयी भएको निर्वाचन अधिकृत रामबालक यादवले बताए ।
सदस्य पदमा १३ जना हिजै निर्विरोध भएका थिए । मतदानमा सबैभन्दा बढी जनजातिबाट महिला सदस्य पोक्सीमाया श्रेष्ठले ६९ मत पाइन् । खसेको मतभन्दा १० मत मात्र उनले गुमाइन् ।