– शीतल गिरी
जोसमनि सन्त परम्पराका सम्बन्धमा प्रपन्नाचार्य (२०५९)का अनुसार कारणवश आफ्नै सम्प्रदायमा केही न केही उत्पात भएकै कारणले भुरेबाबा र शशिधर पौडी गढ्वाल आएपछि मुनि सम्प्रदायको स्थापना गरेको देखिन्छ। शशिधरमुनिले मुनि सम्प्रदाउको जरो छोडे भने नेपालमा आएर जोसमनि सम्प्रदाय स्थापना गरेको देखिन्छ। त्यसैले विष्णु स्वामीबाट मुनि सम्प्रदाय नैष्ठिक ब्रह्मचारी भएर स्थापना गरे भने गृहस्थ भएर जोसमनि सम्प्रदाय स्थापना गर्न समर्थ भए।
साङ्ख्य दर्शनका बारेमा मोदनाथ प्रश्रित (२०६९) भन्छन्– वास्तवमा मूल साङ्ख्यको दार्शनिक चिन्तन र योगको व्यावहारिक विद्या तन्त्रवादबाटै विकसित भएका छन्। साङ्ख्यले तन्त्रवादमा मूल सिद्धान्तलाई प्रखररूपले दर्शनको रूपमा अभिव्यक्त ग–यो। प्रकृतिलाई प्रधान मान्ने सिद्धान्त साङ्ख्यले तन्त्रवादबाटै लिएको हो। मूल साङ्ख्य दर्शन भौतिकवादी छ। त्यसले सृष्टिको मूल कारण या प्रधान कारण प्रकृतिलाई मानेको छ। प्रकृतिबाट स्वभावतः भौतिक संसार, प्राणीहरू, तिनका इन्द्रिय, मन चेतना आदिको सिर्जना हुँदै जान्छ भन्ने त्यसको धारणा छ। त्यसले ईश्वर या ब्रह्मालाई सृष्टिको कारण मान्दैन। (प्रश्रित ः २०६९)।
यसरी नै साङ्ख्य दर्शनको बारेमा वेदुराम भुसाल (२०६८) भन्छन्– साङ्ख्य दर्शन प्रकृतिलाई सृष्टिको मूल वा प्रधान कारण मान्ने दर्शन हो। यस दर्शनमा पछि आएर ईश्वरवाद थपिएको भए तापनि यसले मूलतः ईश्वरलाई सृष्टिकर्ता मान्दैन। यो पुरुष र प्रकृति नामक दुई तत्वको परम सत्तालाई स्वीकार गर्ने द्वैतवादी दर्शन हो। यसले प्रकृतिलाई कत्र्री र पुरुषलाई चेतना मानेको छ।
सिद्ध/नाथ सम्प्रदायका सम्बन्धमा भूमिराज गौतम (२०७०)का अनुसार नाथ शब्दको चर्चा गर्दा वैदिक साहित्यसम्म पुग्नुपर्दछ। नाथ सम्प्रदायका प्रमुख गुरुहरू आदिनाथ, मत्स्यन्द्रनाथ, गोरखनाथ साक्षात् शिवका अवतार मानिन्छन्। उनले “नाथ सम्प्रदाय र सिद्ध रतननाथ– एक परिचय” शीर्षकको लेखमा विषय परिचय, नाथ शब्दको प्राचीनता, नाथ सम्प्रदाय आदि शीर्षकमा नाथ सम्प्रदायको परिचय दिंदै सिद्ध रतननाथको बारेमा साङ्गोपाङ्गो वर्णन गरेका छन्। उनका अनुसार नाथ सम्प्रदायमा रूढिवादी, जातपात, मूर्तिपूजा र बहुदेवतावादको स्थान छैन। किनभने नाथ सम्प्रदायले अन्तर साधना र ईश्वर उपासनामा जोड दिएको छ। नाथ सम्प्रदायले समाजमा निष्ठा, योग तथा आचरण शुद्ध पार्ने कार्यमा अतुलनीय योगदान दिएको छ भनी उनले नाथ सम्प्रदायको परिचय तथा चिन्तनका बारेमा चर्चा गरेका छन्।
यसैगरी, धर्मेन्द्रनाथ भट्टराई
(२०७०)ले “साङ्ख्य दर्शनमा प्रकृतिको स्वरूप, सृष्टि प्रक्रिया र तरुण तपसीमा त्यसको प्रभाव” शीर्षकको लेखमा साङ्ख्य दर्शनबारेमा चर्चा गरेका छन्। उनले साङ्ख्य दर्शनको पृष्ठभूमि, साङ्ख्यका तत्वहरू, सत्मार्गवाद, परिणामवाद, प्रकृतिको स्वरूप, गुणहरूको स्वरूप, पुरुषको स्वरूप, सृष्टि प्रक्रिया जस्ता विभिन्न शीर्षकमा साङ्ख्य दर्शनलाई चिनाउने प्रयास गरेका छन्। उनले साङ्ख्य दर्शनले परोक्ष ईश्वर ब्रह्मा, परमात्मा आदि तत्वको चर्चा गर्नुभन्दा प्रत्येक जीवधारीमा अन्तर्निहित अनेक पुरुष (जीवात्मा)लाई नै आफ्नो अध्ययन विश्लेषणको विषय बनाएको र प्रकृतिलाई नै सम्पूर्ण जगत्को सृष्टिकर्ता मानेकोले यो दर्शनले आध्यात्मिकताका साथ भौतिकजगत्लाई पनि समेटेको छ भन्ने ठम्याइ छ।
यसरी विभिन्न समयमा विभिन्न लेखक, अनुसन्धाताहरूले साङ्ख्य दर्शन, सिद्धनाथ सम्प्रदाय, जोसमनि सन्त परम्परा, सत्यहाङ्मा पन्थ आदिका विषयमा चर्चा गर्दै आएका छन्। यद्यपि तिनीहरूबीच एकअर्कामा परेको प्रभाव र साङ्ख्य दर्शनदेखि सत्यहाङ्मा पन्थसम्मको विगतदेखि वर्तमानसम्मको अवलोकन भने हालसम्म भएको देखिंदैन। त्यसैले पनि यस प्रकारको अध्ययन अनुसन्धानको आवश्यकता टड्कारो देखिन्छ। नेपाल प्राचीन समयदेखि नै बहुल जाति, बहुल संस्कृति, धर्म र दर्शनमा आधारित मुलुक भएकोले यहाँ बसोबास गर्ने विभिन्न जाति, वर्ग र समुदाय एकअर्काका धर्म, संस्कृतिबाट प्रभावित बन्दै आएका छन्। त्यसैले यस प्रकारको अध्ययन–अनुसन्धानबाट उनीहरूमा आपसी एकता, सद्भाव तथा दिगो पारम्परिक सम्बन्ध स्थापित गराउनका लागि पनि महत्वपूर्ण योगदान पुग्दछ।
प्रचलित धार्मिक विश्वासहरूमा जब रूढि र अनैतिक विश्वासहरूले प्रवेश पाउँछन्, तब ती प्राचीन धार्मिक विश्वासहरू जनताको जीवनको उपयोगी हुन छाड्छन्। धर्म भनेको समाज सञ्चालन गर्ने एक व्यावहारिक पद्धति हो। कुनै पनि धार्मिक मत प्रवर्तनको उद्देश्य यही हो। कालान्तरमा धर्मको व्यावहारिक रूप वा पक्ष लुप्त हुँदै जान्छ र जनतामा त्यस धर्मप्रति अन्धविश्वास पैदा हुन जान्छ। अन्धविश्वासहरूले न ऐहिक, न पारलौकिक साध्यको निमित्त सहायता गर्दछन्। फलतः तत्तत् सम्प्रदायमा भएका जीवनोपयोगी तत्व समाप्त हुन्छ। समाजमा भएका कुरीतिहरू र सङ्गठनको अभावमा समाजमा हुन आएका कमजोरीहरूलाई सन्तहरू केलाएर हेर्दछन्। केवल आफ्नो आत्मशुद्धिको निमित्त अथवा पारलौकिक साध्यका लागि कन्दरामा तपस्या गर्ने सन्तहरू र मत–प्रवर्तन गर्ने सन्तहरूमा ठूलो अन्तर छ। जनजीवनसित प्रयोजन नराखी आफ्नै साध्यका लागि जपतप गर्ने सन्त वा सिद्धको अस्तित्व अब छैन। हरेक मतले जीवनलाई संयममा राख्ने उपदेश दिन्छ तर आचार गर्नेहरू त्यसलाई पालन गर्न सक्तैनन्। फलतः त्यस्ता मतका मूल अभिप्राय त्यहीं हराउँछन् र अवान्तर पक्षमा रङ्गमगिन थाल्छ र बिस्तारै–बिस्तारै जनतालाई जीवन दिने खालको ओज त्यसमा रहँदैन। समाज अरू दुष्प्रभावित हुन्छ र त्यस्तो स्थितिमा नयाँ मत लिएर पुनः सन्तहरूको प्रादुर्भाव हुन्छ। नयाँ मतका निम्ति ज्ञान, बुद्धि र आँटको पनि ठूलो आवश्यकता पर्दछ। यस्ता परिवर्तनका लागि एउटा दर्शन बोकेर आन्दोलनको रूपमा नयाँ मार्ग निर्माण गर्न सक्ने अगुवाको खाँचो हुने गर्दछ। समाजमा प्रचलित परम्परागत हिन्दू धर्ममा समयानुकूल परिमार्जन र परिवर्तनको रथ हाँक्न सक्ने एक धार्मिक योद्धाको उदय आवश्यक भइरहेको अवस्थामा पश्चिम नेपाल लुम्बिनी अञ्चलको अर्घाखाँची जिल्लामा जन्मनुभएका शशिधर स्वामीले यो कदम उठाउनुभयो।
शशिधरले यो नयाँ धार्मिक मार्गको नाम “जोसमनि सम्प्रदाय” प्रचलनमा ल्याउनुभयो। अनेक रूढिवादी परम्पराले ग्रस्त धार्मिक प्रचलनमा नयाँ सुधारका प्रयत्नले समाजमा अनेक स्थानहरू र नेपालभरि नै जोसमनि (“जोसमुनि” बाट अपभ्रंश भएको) सम्प्रदायको प्रभाव बढ्यो। ज्ञानगुन, दर्शन र आचरणका आधारमा कुनै पनि जातजातिका व्यक्ति, गुरु वा चेला हुन सक्ने प्रावधानले यो जोसमनि धर्म लोकप्रिय हुन पुग्यो। अर्थात् यो भूखण्डमा भनी ल्याएको प्रचलनमा उच्च जात भनिएका ब्राह्मणदेखि पानी नचल्ने भनिएका कामी, दमाईसमेतले यो धर्ममा प्रवेश पाउने र समान स्थान लिन सक्ने पनि भयो। सोहीअनुरूप सबै जातजाति (उमेर, वर्ग र लिङ्ग)का व्यक्तिहरू गुरु, पुरोहित पनि हुन सक्ने अवस्था आयो।
यो एउटा धार्मिक सुधार मात्र नभएर सामाजिक सुधारको एउटा आन्दोलन हो भनेर बुझ्न सकिन्छ। नेपाली माटोमा उम्रेर नेपाली समाजका सबै जातजातिमा फैलिएर रहेको यो धार्मिक सम्प्रदायको अध्ययन गर्नु आजको आवश्यकता हो। उत्तर वैदिककाल र ब्राह्मणकालमा यज्ञ–यज्ञादिको प्रचार अधिक थियो । यज्ञ–यज्ञादिले जन्माएका उग्र हिंसावादको विरोधमा जैन धर्मको प्रादुर्भाव भएको थियो। जैन धर्म हिंसाको त्यत्ति नै उग्र विरोधी र अति कठोर आचारयुक्त भएकोले ब्राह्मणवादको उग्रतालाई समाधान गर्न सकेन। यसै समयमा बौद्ध धर्मको प्रादुर्भाव भयो। यी दुई वादको बीचको मार्ग अपनाएकोले बौद्ध धर्मलाई मध्यम मार्ग भनिन्छ। ब्राह्मणवादबाट सताइएकालाई त्राण दिन प्रवत्र्तन गरिएको जैन धर्मका आचारमा पवित्रता भएर मात्र त्यसको महत्ता हुँदैन। धर्म समाज सुधारको निमित्त हो भने धर्मले देश, काल र परिस्थितिलाई बुझेर तदनुरूप आफूलाई बनाउनुपर्दछ। बौद्ध धर्मसित पनि कालान्तरमा देखिएका अनेक सम्प्रदाय र दर्शनले प्रवत्र्तनको मूल आशय समाप्त पार्ने व्यभिचार भयो।
मूर्तिपूजाको विरोधी अथवा शब्दान्तरमा निर्गुणोपासक बौद्ध धर्मका सम्प्रदायहरू स्वयम् बुद्धलाई देवताको रूपमा पूजा गर्न थाले। यसको कारण पनि ब्राह्मणवाद नै थियो। भक्ति, स्तुति, देवदेवी र पूजा आदि सगुण उपासनामा रमाउने जनसाधारण ब्राह्मणवादतिर एकोहोरिएको देखेर बौद्धमार्गीहरूले पनि सगुण उपासनाको एक अलग पन्थ महायान नै खडा गरिदिए। क्रमशः