नरेश यादव, पर्सागढी, १२ फागुन/

उखु किसानले पनि मलको अभाव झेल्नुपरेको छ । कात्तिकमा उखु रोप्दा मलको अभाव झेलेका उखु किसानहरूले फागुनमा पनि अभावलाई झेल्नुपरेको छ । उखुको लागि युरिया, डिएपी, पोटास तीनैथरीका मल आवश्यक हुन्छ । उखु रोप्दा यी तीनैथरीको मल आवश्यक भएपनि अहिले पर्सा जिल्लाका किसानहरूले मल पाउन सकेका छैनन् ।

पर्सागढी नगरपालिका–१ एकटाँगाका उखु किसान गगनदेव यादवले उखु रोप्ने बेलामा मलको अभाव भएको बताए । उनले सहकारीहरूमा मल नपाएर किसानहरूले भारतबाट महँगोमा मल ल्याउनुपरेको बताए । नेपालमा प्रतिबोरा (५० किलो) डिएपी रु २२५० पर्छ भने त्यही मललाई भारतबाट ल्याउँदा ३२ सयदेखि ३५ सयसम्म खर्च गर्नुपरेको उनले बताए ।

यसैगरी, युरिया प्रतिबोरा (५० किलो)को रु ८५० नेपालमा पर्छ भने भारतबाट ल्याउनेहरूले दोब्बरी मूल्य तिर्नुपरेको छ । पोटास मात्र किसानहरूले सहजरूपमा पाइरहेका छन् । एक कट्ठामा उखु लगाउँदा किसानलाई आठ किलो डिएपी, दुई किलो युरिया र पोटास आवश्यक पर्छ । तीनथरीका यी मल हालेर उखु रोप्दा प्रतिकट्ठा ४० क्विन्टलसम्म उखु उत्पादन हुने गर्छ ।

पर्सागढी कृषि सहकारी संस्था लि.का सञ्चालक रामाशिष यादवले कृषि सामग्री कम्पनी र साल्ट टे«डिङ कम्पनीबाट मल नपाएको बताए । उनले मलको लागि बारम्बार धाउँदा पनि मल छैन भनेर फर्काएको बताउँदै मल प्राप्त भएमा किसानहरूलाई वितरण गरिने बताए ।

कालिकामाई गाउँपालिकाका उखु किसान अनुप तिवारीले उखुको समयमा किसानहरूले मलको अभाव झेल्नुपरेको र यसबाट उत्पादन प्रभावित हुन सक्ने बताए । उनले मल पाउँदाको अवस्थामा पनि उखु किसानहरूले विभिन्न झन्झटहरूको सामना गर्नुपरेकोले यो खेती पछिल्लो समयमा घटिरहेको बताए । पर्सा जिल्लाभरि करीब २५ सय बिघामा उखुखेती हुँदै आएकोमा अहिले १९ सय बिघामा मात्र उखुखेती भइरहेको उनले बताए ।

तिवारीले उखुखेती गर्दा प्रतिकूल मौसम भएमा विभिन्न रोगहरू लागेर उखुहरू बढी बिग्रिने, सप्रिएका उखुको भुक्तानी पनि मिलबाट समयमा नपाउने जस्ता समस्याहरूले किसानहरू पीडित भएको बताए । उखुखेती गर्ने किसानहरूले एकपटक उखु रोपेपछि दोस्रो र तेस्रोपटक रोप्नुपर्दैन । मोरहम (नयाँ उखु) रोपेका किसानले आगामी दुई वर्षसम्म उखु रोप्नुपर्दैन ।

उखुको खुटीबाटै नयाँ उखु पलाउँछ । उखु किसानहरूलाई स्थानीय पालिका, चिनीमिलसमेतबाट कुनै प्रकारको सहयोग नहुने गरेको उनले बताए । प्राविधिक सहयोगसम्म पनि किसानहरूलाई उपलब्ध गराएको खण्डमा यो खेती अझ फस्टाउने उनको सुझाव छ ।

पर्सा जिल्लाको वीरगंज महानगर, पर्सागढी, बहुदरमाई, पोखरिया नगरपालिका, कालिकामाई, पकाहामैनपुर, जगरनाथपुर, जीराभवानी, पटेर्वासुगौली गाउँपालिकालगायतमा उखुखेती हुने गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here