एक स्थानका मानिस घुमघामकै लागि अर्को स्थानमा पुग्दछ भने ऊ पर्यटक हो। “एक स्थानका मानिस अर्को स्थानमा गएर रात बिताउँछ भने त्यो पर्यटक हो,” भन्ने  भनाइ पनि  छ। यातायात र सञ्चारको वर्तमान युगमा यो भनाइ पुरानो भयो। एक स्थानका मानिस सयौं किमी दूरीको स्थानमा घुमघाम गरेर सोही दिन घर फर्कन पनि अब असम्भव कुरा रहेन। अब ‘एक स्थानका व्यक्ति दृश्यावलोकन, घुमघाम, रमाइलो तथा मनोरञ्जन गर्न एवं आत्मसन्तुष्टिका उद्देश्यले अर्को स्थानमा पुग्दछ भने ऊ पर्यटक हो’ भन्दा उपयुक्त हुन्छ। जसको क्रियाकलापबाट आर्थिक कारोबार वा अन्य व्यक्तिको रोजगार सृजनामा टेवा पुगिरहेको हुन्छ। जस्तै रक्सौलका व्यक्ति वीरगंज घुम्न आयो र उसले रात बिताएन तर वीरगंज घुम्नका लागि रिक्शा वा बस प्रयोग ग–यो भने त्यो पर्यटक हो। उसको आगमनबाट रिक्शा वा ट्याम्पो चालकको आम्दानीमा वृद्धि भएको हुन्छ। को पर्यटक हो र को पर्यटक होइन भन्ने बुझाइ स्पष्ट नहुँदा पनि पर्यटन पूर्वाधार विकासमा हेलचक्रयाइँ हुन जान्छ।

देशबाहिरबाट आउनेलाई मात्रै पर्यटक ठान्ने समस्या हामीकहाँ छ। त्यसैले कुनै कारणवश बाहिरका पाहुना नेपाल नआउँदा पर्यटन व्यवसायीहरू थला पर्ने गरेका छन्। किनभने हामीहरूले मानसिकता र पर्यटन पूर्वाधारसमेत विदेशी पाहुनालाई मात्रै मध्यनजर गरेर निर्माण गरेका हुन्छौं। कुनै पनि पर्यटकलाई विशेषतः सम्मान, सद्भाव, शान्ति–सुरक्षा, स्वास्थ्य, सञ्चार, सहजीकरणको अनुकूल वातावरण हुनुपर्छ। यसको साथै मौलिकता पनि। यति हुने हो भने मुलुकभित्रै आन्तरिक पर्यटकको घुइँचो हुन्छ। कृषक, मजदूर, कर्मचारी जोसुकै पनि केही दिन पेशागत काम गरेपछि मानसिकरूपमा पुनर्ताजगी चाहन्छन्। समयमा पुनर्ताजगी पाए, फेरि नयाँ ऊर्जाका साथ कार्यक्षेत्रमा अगाडि बढ्ने जाँगर पलाउँछ। पुनर्ताजगीका उल्लिखित अनुकूल वातावरणसहित आफ्नो सामथ्र्यले भ्याउन सक्ने स्थानको अभाव खडकिरहेको हुन्छ। फेरि पनि मानिसहरू कुनै न कुनै बहाना गरेर पुनर्ताजगीको प्रयास गरिरहेका छन्। हाम्रो मुुलुकभित्र हाम्रै समाजका बासिन्दाको आर्थिक हैसियतले धान्न सक्ने किसिमको पर्यटन व्यवसाय सञ्चालनको खाँचो छ।

प्राकृतिकरूपमा फरक हिमाल, पहाड र तराई आन्तरिक पर्यटनको लागि वरदान हो भने यहाँका विभिन्न जातजाति, भाषाभाषी, धर्म र संस्कृतिले सुनमाथि सुगन्ध थपेको छ। गर्मी महीनामा तराईका बासिन्दाको लागि हिमाली तथा पहाडी क्षेत्रको भ्रमण लोभलाग्दो हुन सक्छ। त्यसैगरी, हिमाल, पहाडका बासिन्दालाई हिउँदमा तराई क्षेत्रको भ्रमण उपयुक्त हुन्छ। एक प्रकारको धरातलका बासिन्दा फरक धरातलमा पुग्दा त्यसले कृत्रिमता नभई प्राकृतिकरूपमा नै आनन्द अनुभूति हुन्छ। यसमा खानपान र मनोरञ्जनसमेत आयातित नभई स्थानीयकरण गर्दा व्यवस्थापन पक्षको लगानी पनि कम लाग्छ र स्वदेशी पर्यटकको हैसियत अनुसार सेवा प्रदान गर्न सकिन्छ। आन्तरिक पर्यटनलाई चलायमान गराउन सके मुलुकभित्रको संस्कृति आदानप्रदान भई राष्ट्रिय एकतामा महत्वपूर्ण टेवा पुग्नेछ। आपसी सामीप्यता भएपछि अवसरको पहिचान सहज हुने र एक स्थानको उत्पादनले मुलुकको अर्को स्थानसम्म बजार पाउनेछ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here