- उमाशङ्कर द्विवेदी
उनले आफ्नो बाणको जालो ओछ्याइदिएर कर्णको रथमाथि सूर्य किरणको ओइरोलाई रोकिदिए । अनि कर्णले आफ्नो तीव्रताले त्यस जालोलाई काटेर नौवटा बाण हानेर भीमसेनलाई व्यथित
पारे । यसको जवाफमा भीमसेनले फेरि कर्णलाई आफ्ना बाणबाट आच्छादित पारिदिए । त्यति बेलाको रणक्षेत्र यमलोकझैं भयङ्कर र दुदर्श भइरहेको थियो । अन्य महारथीहरूले त त्यस संग्रामलाई बडो बिस्मयको साथ हेरिरहेका थिए ।
दुवै वीरले एकअर्कामाथि बाणको वर्षा गर्दागर्दै सम्पूर्ण आकाशलाई बाणमय गरिदिएका थिए । दुवै वीरहरूको भीषण बाणवर्षाबाट घोडा, हात्ती र सैनिकहरू मारिएर भुइँमा लडिबुडी गरिरहेका थिए । राजन्, त्यति बेला तपाईंका पुत्रहरूका अनेकौं योद्धाहरू मारिएर कोही प्राणहीन भएर ढलिरहेका थिए भने कैंयन त सोत्तर पनि भइसकेका थिए । यस प्रकार कुरैकुरामा त्यो सम्पूर्ण रणभूमि हात्ती, घोडा र सैनिकहरूको गिंडले भरिभराउ हुन पुग्यो ।
राजन्, अब क्रोधित भएर कर्णले भीमसेनमाथि तीसवटा बाण प्रहार गरे । भीमसेनले तीनवटा बाण हानेर कर्णको धनुषलाई काटिदिए तथा एउटा भल्ल हानेर कर्णको सारथिलाई रथबाट तल झारिदिए । अनि इन्द्रले जसरी बज्रको प्रहार गर्दछन्, त्यसै प्रकार कर्णले एउटा महाशक्ति भीमसेनमाथि हाने तर भीमसेनले सातवटा बाण हानेर त्यस महाशक्तिलाई बीचमैं काटिदिए तथा कर्णमाथि यमदण्डको समान बाणको वर्षा आरम्भ गरिदिए । कर्णले आफ्नो विशाल धनुष तानेर नौवटा बाण हाने । ती बाणहरूलाई भीमसेनले नौवटै बाण हानेर निरस्त पारिदिए । अनि उनले कर्णको धनुषलाई पनि काटिदिए तथा आफ्ना बाणहरूको चोटले उनको घोडालाई मारेर सारथिलाई पनि रथबाट तल झारिदिए ।
कर्णलाई यस प्रकार आपत्तिमा परेको हेरेर दुर्योधनले आफ्ना भाइ दुर्जयसित भने– हरे, तिमीले छिट्टै यस भीमलाई मारेर कर्णको सहायता गर । ‘जो आज्ञा,’ भन्दै दुर्जयले बाणवर्षा गर्दै भीमसेनतिर बढे । उनले नौवटा बाण भीमसेनमाथि र आठवटा बाण उनका घोडाहरूमाथि हाने । छवटा बाण उनको सारथिमाथि, तीनवटा बाण ध्वजामाथि तथा सातवटा बाण स्वयम् भीममाथि हाने । यसबाट भीमसेनको क्रोध झन् उर्लिएर आयो र उनले आफ्ना तीक्ष्ण बाणबाट दुर्जयको मर्मस्थल छेडेर उनको सारथि र घोडालाई पनि यमलोकमा पठाइदिए । भाइको यस्तो दुर्दशा हेरेर कर्णको ह्दय पग्लेर आयो । दुर्योधनले रुँदै दुर्जयको परिक्रमा गरे । यसैबीचमा भीमसेनले कर्णको रथलाई पनि तहसनहस पारिदिए ।
यस प्रकार रथहीन र पुनः पराजित भएर पनि कर्ण एकअर्को रथमाथि चढेर फेरि भीमसेनको सामु आइपुगेर उनलाई बाणवर्षा गरेर पीडित पार्न थाले । भीमसेनले पनि आफ्ना बाणबाट कर्णको प्रतिउत्तर दिन थाले । कर्णले नौवटा बाण हानेर भीमसेनको छातीलाई विदिर्ण पार्दै एउटा बाण हानेर उनको ध्वजालाई काटिदिए । फेरि उनले सम्पूर्ण शरीर फोडेर निस्कन सक्ने अत्यन्त तीक्ष्ण बाण हाने । त्यस बाणले भीमसेनलाई घाइते पार्दै भुइँभित्र छि¥यो ।
अनि भीमसेनले एउटा बज्रको समान कठोर गदा हानेर कर्णका घोडाहरूलाई मारे, दुईवटा बाण हानेर कर्णको ध्वजा काटेर सारथिलाई पनि मारिदिए । अब कर्ण अश्वहीन रथलाई त्यागेर आफ्नो धनुष तानी उभिए । यतिबेला कर्णको अद्भुत पराक्रम देखियो । कर्ण रथहीन भएर पनि भीमलाई रोकिराखे । अनि दुर्योधनले दुर्मुखसित भने– भाइ दुर्मुख, हेर, भीमसेनले कर्णलाई रथहीन पारिदिएका छन् । तिमीले कर्णसम्म अर्को रथ पु¥याइदेऊ । यो सुनेर दुर्मुख भीमसेनमाथि बाण वर्षा गर्दै बडो तीव्र गतिले कर्णतिर हानिए । दुर्मुखलाई संग्रामभूमिमा कर्णको सहायता गरिरहेको हेरेर भीमसेन अत्यन्त प्रसन्न भए र कर्णलाई आफ्नो बाणबाट रोकेर दुर्मुखतिर आफ्नो रथ लगे । त्यहाँ पुगेर उनी तत्कालै नौवटा बाण हानेर दुर्मुखलाई यमलोक पठाइदिए ।
अब कर्णले यताउति नहेरी चौधवटा बाण भीमसेनमाथि हाने । ती बाणहरू भीमसेनको बाहुलाई घाइते पारेर भुइँभित्र छिरे । अनि तीनवटा बाण हानेर भीमसेनले कर्णलाई र सातवटा बाण हानेर कर्णको सारथिलाई घाइते पारिदिए । ती बाणहरूको चोटबाट कर्ण अत्यन्त व्याकुल भएर आफ्ना घोडाहरूलाई तीव्र गतिमा हाँकेर युद्धभूमिबाट बाहिर गइहाले ।
धृतराष्ट्र भन्न थाले– सञ्जय, पुरुषार्थलाई धिक्कार छ, यो त व्यर्थ नै छ, म त दैवलाई नै मुख्य ठानिरहेको छु । हेर, कर्ण यस्तो सावधानीपूर्वक युद्ध गरिरहेका थिए र पनि भीमसेनलाई काबुमा पार्न सकेनन् । दुर्योधनको मुखबाट त मैले कैंयनपटक सुनेको छु कि कर्ण बलवान् हुन्, शूरवीर हुन्, बडो धनुर्धर हुन् र उनले परिश्रमलाई केही पनि ठान्दैनन् । उनको सहायता पाएपछि देउताहरूले पनि संग्राममा मलाई जित्न सक्दैनन्, पाण्डवहरूको त के नै कुरा ? जब उनै कर्णलाई भीमसेनको हातबाट परास्त युद्धभूमिबाट भाग्दै गरेको हेरेर दुर्योधनले के भने ? क्रमशः …