प्रस, परवानीपुर, ५ फागुन/
वीरगंजमा पुनः कपडा बैंक सञ्चालनमा आएको छ । व्यवस्थित वीरगंज अभियान, ग्रीन सिटी सामुदायिक प्रहरी सेवा केन्द्र र वुमेन क्रिएशनको संयुक्त सहभागितामा विगत दुई वर्षदेखि सञ्चालनमा आएको कपडा बैंकले यस वर्ष पुनः कपडा वितरणको काम थालेको छ ।
कोरोना महामारीको कारण केही महीना स्वास्थ्य मापदण्ड पालना गर्नको लागि कपडा वितरणको काम स्थगित गर्नुपरेकोमा हाल अवस्था सामान्य र सहज बन्दै गएपछि गरीब, विपन्नको लागि नयाँ र पुराना कपडा वितरणको काम शुरू गरिएको छ ।
बिहीवार आयोजित कार्यक्रममा जरुरी परेका सर्वसाधारण ५० जनालाई कपडा वितरण गरिएको व्यवस्थित वीरगंजका अध्यक्ष दीलिपराज कार्कीले जानकारी गराए ।
बैंकले आगामी दिनमा हरेक बिहीवार साँझ ५ बजे निश्शुल्क कपडा वितरण गर्ने कार्यतालिका बनाएको छ । छठ, दीपावली, ईदलगायतका पर्वको बेला पनि यस बैंकले कपडा वितरण गर्दै आएको वुमेन क्रिएशनकी अध्यक्ष नुतन सरावगीले जानकारी गराइन् ।