प्रस, वीरगंज, ४ फागुन/
भारतीय सीमावर्ती बजार रक्सौलबाट धूलो उडाएर डर्टी कार्गो ल्याउने कार्य भइरहेको छ । रक्सौल रेलवे स्टेशनको डर्टी कार्गो गोदाम क्षेत्रबाट टिपरमा दैनिक धूलो उडाउँदै धूलोजन्य औद्योगिक कच्चा पदार्थ वीरगंज भित्रिरहेको छ । वीरगंज भन्सारको पुरानो भन्सार नाका मितेरी पुल हँुदै वीरगंज भित्रिने गाडीहरूलाई प्रहरी प्रशासनले कडाइ नगर्दा धूलो उडाउँदै वीरगंज भित्रिरहेका छन् ।
सिमेन्ट तथा इँटा उद्योगमा काम लाग्ने कोइला, स्लेग, फ्लाइएस, जिप्समलगायतका सामान लोड दैनिक ३० भन्दा बढी गाडी रक्सौलबाट वीरगंज आउने गरेको व्यवसायीहरू बताउँछन् । एउटा गाडीमा क्षमता अनुसार २७ टनदेखि ४० टनसम्म डर्टी कार्गो वीरगंजको मितेरी पुल आसपास, बाइपास, परवानीपुर, ड्राइपोर्ट क्षेत्रमा भण्डारण गरिन्छ । आवश्यक परेको बेला भण्डारण गरिएको यार्डबाट पार्टीलाई माल बेचिन्छ ।
भन्सार अधिकारीका अनुसार धूलो उड्ने वस्तु ढुवानी गर्दा पानीले भिजाएर, त्रिपालले छोपेर बाटोमा पनि नखस्ने गरी ओसारपसार गर्नुपर्ने पटकपटक व्यवसायी तथा चालकलाई ताकेदा गर्दा पनि सो अनुरूप कार्य नगरिएको बताए ।
वीरगंज भन्सारका प्रमुख भन्सार अधिकृत हरिहर पौडेलले यस विषयमा यहाँका व्यवसायी तथा ट्राफिक प्रहरी गम्भीर हुनुपर्नेमा सुझाव दिए । “मासिकरूपमा करीब तीन रेक कोइला र एक रेक अन्य धूलोजन्य सामान रक्सौलमा अनलोड गरी वीरगंज ल्याइन्छ,” उनले भने, “प्रहरीले कडाइ ग¥यो भने स्वास्थ्यसँग खेलबाड हँुदैन ।” धूलो उडाएर सामान ल्याउँदा बाटोमा सर्वसाधारणका आँखामा धूलो पर्ने, श्वासप्रश्वासमा समस्या हुने हुन्छ ।