प्रस, ठोरी, १ फागुन/

नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य रमेश रिजालले अमेरिकी सहयोग परियोजना (एमसिसी)लाई कम्युनिस्टहरूले हाउगुजी बनाएको आरोप लगाएका छन् ।

आइतवार ठोरी गाउँपालिका–४, विजयबस्तीमा पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै उनले अमेरिकाले पहिले पनि नेपाललाई सहयोग गर्दै आइरहेको प्रसङ्ग कोट्याउँदै संसारका करीब ४० देशमा एमसिसी परियोजना लागू भएको बताए । उनले नेपालले पनि विद्युत् प्रसारण लाइन निर्माणका लागि एमसिसी अनुमोदन गर्नुपर्नेमा जोड दिए ।

नेका कार्यसम्पादन समिति सदस्यसमेत रहेका रिजालले एउटा सरकारले अर्को सरकारको स्तरमा गरेको सम्झौता फिर्ता भए नेपालको विश्वसनीयता नै अन्तर्राष्ट्रियस्तरमा गुम्न सक्ने बताए । उनले संसारबाट पतन भएको कम्युनिस्ट व्यवस्था अब नेपालमा नरहने भन्दै कम्युनिस्टले जनतामाझ एउटा कुरा गर्ने र व्यवहारमा अर्कै काम गर्ने भएकाले दुई जिब्रे पार्टी भएको आरोप लगाए ।

नेका ठोरी गापा–४ कार्यसमितिद्वारा आयोजित कार्यक्रममा मधेस प्रदेशका प्रदेशसभा सदस्य शङ्करप्रसाद चौधरीले मधेसवादी दलका कारण वीरगंज राजधानी बन्न नसकेको आरोप लगाए । उनले पर्साकै मुख्यमन्त्री भएर पनि पर्साको विकास हुन नसकेको बताए ।

नेका मधेस प्रदेशका महामन्त्री वृहस्पतिकृष्ण श्रेष्ठले ठोरीको विकास अब काङ्ग्रेसको नेतृत्वमा मात्र सम्भव हुने बताए । ठोरी गापाको स्थानीय सरकारको आलोचना गर्दै महामन्त्री श्रेष्ठले स्थानीय सरकारले चार वर्षसम्म खानेपानी आयोजना ल्याउन नसकेको तर नेकाले ल्याएको योजनामा भाँजो हाल्ने काम गरेको आरोप लगाए । उनले ठोरी गापाले निर्मलबस्ती खानेपानी उपभोक्ता समितिको अध्यक्ष पदबाट माइकल श्रेष्ठलाई हटाएर गैरकानूनी काम गरेको बताए ।

कार्यक्रममा नेकाका क्षेत्रीय सभापति श्रीकान्त यादव, पूर्वसभापति रमेश पाण्डे, महाधिवेशन प्रतिनिधिहरू सहरूम राउत गद्दी, प्रकाश खनाल, वडाध्यक्ष किशोर तामाङ, प्रेम श्रेष्ठलगायतले मन्तव्य राखेका थिए ।

ठोरी गापा–४ का सभापति मिलन श्रेष्ठको सभापतित्वमा कार्यक्रम सम्पन्न भएको नेपाल शिक्षक सङ्घ ठोरीका अध्यक्ष चिरञ्जीवी सापकोटाले जानकारी गराए ।

प्रस, वीरगंज/
वीरगंजमा युवा सङ्घ नेपालले एमसिसीको विरोधमा प्रदर्शन गरेको छ ।
बिपी उद्यानको लालबङ्गलाबाट निकालिएको विरोध ¥याली घण्टाघरमा पुगेर समापन भएको थियो ।

¥यालीमा सहभागी युवा सङ्घका कार्यकर्ताहरूले एमसिसी चाहिंदैन, देश बेच्न पाइँदै, गो ब्याक एमसिसी, राष्ट्रिय हमला बन्द गरलगायतका नाराहरू लगाएका थिए ।

राष्ट्रिय युवा सङ्घ नेपालका केन्द्रीय सदस्य एवं पर्सा इन्चार्ज अनिल पटेलको प्रमुख आतिथ्य तथा युवा सङ्घ नेपाल वीरगंज महानगरका अध्यक्ष उमेश ठाकुरको अध्यक्षतामा आयोजित कार्यक्रममा सञ्जु चौधरी, राखी खान, आकाश पटेल, अनिल कुशवाहा, दीपक साह, मुकेश पटेल, धर्मेन्द्र पटेललगायतले मन्तव्य व्यक्त गरेका
थिए । कार्यक्रमको सहजीकरण श्रीलाल कुशवाहाले गरेका थिए ।

प्रस, रौतहट/
युवा सङ्घ नेपाल, रौतहटले आइतवार गौरमा विरोध जुलुस प्रदर्शन गरेको छ ।
एमसिसी खारेज गर, देश बेच्न पाइँदैनलगायत नारा लगाउँँदै उनीहरूले नगरपरिक्रमा गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here