- अनन्तकुमार लाल दास
शिक्षाको वास्तविक अर्थ हुन्छ, केही सिखेर आफूलाई पूर्ण बनाउनु । यस दृष्टिकोणले शिक्षालाई मानव जीवनको आँखा पनि भनिन्छ । त्यस आँखाले मानिसलाई जीवनप्रति सही दृष्टि प्रदान गरेर कसरी उसको भलो हुन्छ भन्ने बाटो देखाउँछ । उसले के गर्दा सही हुन्छ र के गर्दा गलत भन्ने ठम्याउन सक्छ । उसलाई सबै खाले प्रगतिशील काम गर्ने योग्य बनाउँछ ।
शिक्षाले मानिसमा भएको समझलाई विकसित गर्दछ जसले गर्दा ऊ सही अर्थमा मानवीय जीवन व्यतीत गर्न सक्छ । उसको कार्य क्षमतामा वृद्धि हुन्छ र उसमा सुषुप्त अवस्थामा रहेको शक्तिलाई जागृत गरेर राष्ट्रिय जीवनलाई पनि प्रगति पथमा अग्रसर गराउन सामथ्र्यवान् बनाउन सक्छ । शिक्षाको उद्देश्य मानिसको हृदयभित्र लुकेको क्षमताको प्रकटीकरण हो ।
तर के आजका विद्यार्थीहरूले जुन प्रकारको शिक्षा हासिल गरिरहेका छन् र शिक्षा प्रणालीको जुन रूप विद्यमान छ, त्यसबाट के उनीहरू सबै थोक गर्न सक्षम छन् ? यसको जवाफ ‘होइन’ मात्र हुन सक्छ । वर्तमान शिक्षा प्रणालीको जन्मदाता मैकालेको उद्देश्य देशको लागि चाहिने कर्मचारी र जागीरे पैदा गर्नु थियो । हुनत हाल नेपालमा शिक्षाको धेरै विस्तार भएको छ तर धेरै कम प्रतिशत मानिस शिक्षित र धेरैजसो साक्षर हुनुभन्दा बढी केही भएका छैनन् । उनीहरूले आफूलाई सुशिक्षित त के, सामान्य स्तरको शिक्षित हुने दाबी पनि गर्न सक्दैनन् ।
यसको एकमात्र कारण त्यही पुरानो शिक्षा प्रणालीको विद्यमानता हो । बर्सेनि त्यसको बाहिरी जिल्द मात्र फेरिन्छ तर भित्री कुरा केही फेरिएको छैन । जुनसुकै दलको सरकार भए पनि हालसम्म देश आज पनि साक्षरताको अँध्यारो गल्लीमा भौंतारिइरहेको छ । त्यो पनि विदेशी माध्यममा । स्वदेशीपनको त सर्वथा अभाव छ, उपेक्षित छ ।
पहिले गुरु र शिष्यको सम्बन्ध सौहार्दपूर्ण थियो । गुरुले शिष्यलाई आफ्नै छोराछोरी सरह माया गर्दथे । शिक्षाको उद्देश्य शारीरिक, मानसिक र आत्मिक विकास गर्नु
थियो । तर आज यस सम्बन्धले व्यावसायिक रूप लिएको छ । शिक्षकहरू आज पसले बनेका छन् भने विद्यार्थीहरू ग्राहक हुन् । बुझ्नुपर्ने कुरा के हो भने कुनै पनि देशको भावी कर्णधार त्यस देशको युवा शक्ति नै हुने गर्दछ ।
यस अर्थमा देशका युवाहरूलाई जस्तो शिक्षा प्राप्त हुन्छ, त्यस देशको भविष्य पनि त्यस्तै हुन्छ । मैकालेलाई के थाहा थियो भने कुनै पनि देशलाई गुलाम बनाउनको लागि त्यहाँको साहित्य र इतिहास समाप्त गर्नुपर्छ र त्यहाँको शिक्षा प्रणाली आफ्नो अनुकूल बनाउनुपर्छ । आज हाम्रो देशमा पनि यही भइरहेको छ । उदाहरणका लागि सामुदायिक विद्यालयमा अङ्ग्रेजी माध्यमबाट पढाइ हुनु र नेपाली भाषा र संस्कृतिलाई उपेक्षाको दृष्टिले हेरिनु हो ।
वर्तमान शिक्षा प्रणाली शिक्षित हुने अहङ्कार बोक्ने मानिसहरूको उत्पादन गर्ने निर्जीव मेशीन बनेर रहेको छ । यस कारणले नै होला यस शिक्ष्Fा पद्धतिले उत्पादनको नाउँमा प्रत्येक वर्ष लाखौं दिशाहीन युवा जन्माएर आफ्नो कर्तव्य सम्पन्न भएको बुझ्दछ । आज मानिस शिक्षित भएर पनि आफूलाई थाकेको र पराजित महसूस गरिरहेको छ । स्यानो समस्याले पनि उसलाई विचलित बनाउँछ ।
श्रमको सम्मान कसरी गर्ने भन्ने कुरा उसलाई थाहा छैन । यो वर्तमान शिक्षा प्रणालीको दोष होइन भने के हो ? यस्ता मानिस देशको लागि केही गर्न सक्छन् भन्ने आस राख्नु व्यर्थ हो । विडम्बना त के छ भने हाम्रो इतिहास गौरवशाली र समृद्ध रहेको कुरा आज विद्यार्थीहरूलाई थाहा छैन र यो उनीहरूको रुचिको विषय पनि होइन । आज शिक्षक र विद्यार्थी दुवैको श्रम–क्षमतामा ¥हास आएको छ । आज छात्र र शिक्षक दुवै छिटोछरितो बाटोबाट धनार्जनको अनुचित मार्ग खोजिरहेका भेटिन्छन् जसबाट समाजमा अनैतिकताले प्रश्रय पाएको छ ।
परीक्षाको उद्देश्य कुनै पनि मानिसको योग्यताको जाँच गर्नु हो तर वर्तमान परीक्षा प्रणालीले विद्यार्थीहरूको योग्यताको वास्तविक जाँच हुँदैन । यसर्थ हाल यसमा केही साधारण सुधार गरिएको छ तर यसप्रति आम जनमानसको बुझाइ प्रस्ट छैन । भन्न के खोजिएको हो भने यस परीक्षा प्रणालीमा विद्यार्थीहरूको वास्तविक योग्यताको मूल्याङ्कन त केः यसबारे अनुभव पनि हुन दिंदैन । वास्तवमा यसले हालसम्म योग्य र अयोग्यको कुनै ठोस मापदण्ड प्रस्तुत गर्न सकेको छैन । यस प्रणालीमा प्रायः योग्य विद्यार्थीहरू पिछडिएर दिगभ्रमित हुन्छन् र अयोग्य त्यसबाट लाभान्वित हुन्छन् । बढी विषयको भारले गर्दा विद्यार्थीहरू कुनै पनि विषयमा दक्षता हासिल गर्न पाउँदैनन् मात्र यो–यो विषय पढेको गन्ती गर्न सक्छन् ।
अर्कोतिर वर्तमान शिक्षा प्रणाली बोझिलो र महँगो हुँदै गएको छ । सामुदायिक विद्यालयको निश्शुल्क शिक्षामा पनि अङ्ग्रेजी शिक्षाको नाममा शुल्क लिन थालिएको छ भने संस्थागत विद्यालयहरूमा बर्सेनि शुल्क वृद्धि हुँदै गएको छ तर सम्बन्धित निकाय मौन छ । सरकारले पनि यस्ता विद्यालयहरूको लागि कागजमा मात्र नियमावली ल्याएको छ तर व्यवहारमा कहीं पनि कार्यान्वयन भएको देखिंदैन । जसले गर्दा धेरैजसो मानिस वा परिवारलाई शिक्षामा लाग्ने खर्च धान्न गा¥हो भइरहेको छ ।
त्यहीं आत्मबोध, राष्ट्रबोध, सामुदायिकबोध र मानवीयताबोध गराउन वर्तमान शिक्षा प्रणाली असफल रहेको छ । यस कारण वर्तमान शिक्षा प्रणालीमा परिवर्तनको खाँचो
छ । यसका लागि धेरै आयोगहरू पनि गठन नभएको होइन तर कुन विवशताले गर्दा हालसम्म परम्परागत प्रणाली अन्तर्गत नै विद्यालयहरूमा शिक्षा दिइँदै आएको छ थाहा हुन सकेको छैन । आज पनि राष्ट्रको इच्छा, आकाङ्क्षा र आवश्यकताविपरीत शिक्षण प्रणालीलाई कोलको गोरुजस्तै आफ्नो काँधमा लादेर मानिसहरू किन घुमिरहेका छन् बुझ्न गा¥हो भइसकेको छ । यस प्रकारको मानसिकतालाई कुनै पनि प्रकारले स्वस्थ र सुखद भन्न सकिंदैन ।
हाम्रो वर्तमान शिक्षा प्रणालीमा अन्य कैयन दोष छन् जसबारे विस्तारपूर्वक वर्णन गर्दा एउटा किताब तयार हुन सक्छ । छोटकरीमा भन्नुपर्दा वर्तमान शिक्षा प्रणालीमा नैतिक शिक्षाको अभाव छ भने यसले बेरोजगारी पनि वृद्धि गरेको छ । यसबाट के प्रस्ट हुन्छ भने वर्तमान शिक्षा प्रणालीले डिग्री बाँड्ने काम मात्र गरेको छ तर रोजगार हासिल गर्ने योग्यता दिएको छैन । शिक्षाको अर्थ योग्य, सुखी र समृद्ध नागरिक उत्पादन गर्नु र आफ्नो कर्तव्यप्रति सजग हुनु हो । तर वर्तमान शिक्षा प्रणाली आफ्नो दायित्व निर्वाह गर्न असफल भएको कारण नै यसलाई परिवर्तन गर्न नितान्त आवश्यक रहेको छ ।
सबैभन्दा पहिले शिक्षालाई शिक्षार्थी अनुकूल बनाउने खाँचो छ । त्यसपछि यसको पाठ्यक्रम र विषयहरूको चयन, साक्षर बनाउन मात्र नभई लोक व्यवहारमा निपुण बनाउने खालको हुनुपर्छ । उदाहरणका लागि आज पढाइ हुने केही विषय जीवनोपयोगी र विद्यार्थीहरूको इच्छा अनुसार नभई मात्र परीक्षा उत्तीर्ण गर्नको लागि पढाइन्छ । शिक्षण पद्धति पनि, किताबी मात्र नभई, व्यावहारिक हुनुपर्छ । यसैगरी बन्द कोठाको साटो खुला वातावरणमा शिक्षा दिने प्रावधान हुनुपर्छ । अनि मात्र शिक्षा आफ्नो वास्तविक लक्ष्य हासिल गर्न सक्छ ।
यदि हामी देश र देशवासी सबै जातिको भलो होस् भन्ने चाहन्छौं भने यथासम्भव उधारोमा हासिल भएको यस शिक्षा प्रणालीलाई परिवर्तन गरेर यसको ठाउँमा देश र समय सुहाउँदो आवश्यकता अनुरूप कुनै नयाँ प्रणाली लागू गर्ने आवश्यकता छ अन्यथा हामी बिस्तारै आफ्नो अस्मिता गुमाई घरको न घाटको हुनेछौं र त्यस परिस्थितिबाट बाहिर निस्कन धेरै कठिन हुन जानेछ । आज शिक्षाप्रति सजग हुनु जरूरी छ । शिक्षा स्वदेशको इच्छा–आवश्यकताको वाहक र स्वदेशी माध्यमबाट दिने बनाउनु अत्यन्त खाँचो छ । यदि वर्तमान शिक्षा प्रणालीमा परिवर्तन गरिएन भने यस देशको पशुपतिनाथ नै मालिक हुनेछन् ।