प्रस, सिम्रौनगढ, २९ माघ/
नेपाली काङ्ग्रेसका सहमहामन्त्री फरमुल्लाह मन्सुरले लोकतन्त्र स्थापित भएपछि पत्रकार पनि पूर्णरूपमा स्थापित भएको बताएका छन् ।
नेपाल प्रेस युनियन, बाराको १७औं साधारणसभाको सिम्रौनगढमा शनिवार उद्घाटन गर्दै प्रमुख अतिथि नेकाका सहमहामन्त्री मन्सुरले पत्रकारिता जिम्मेवारीपूर्ण पेशा भएको र समाजका हरेक कुरालाई उजागर गर्नुपर्ने दायित्व रहेको बताए । उनले लोकतन्त्रलाई बलियो बनाउने कार्यमा पत्रकारको भूमिका अहम् हुने जिकिर गरे ।
नेता मन्सुरले सिम्रौनगढ स्वतन्त्रता सेनानीको गढ पनि भएको र पर्सा, बारा, रौतहटका स्वतन्त्रता सेनानीको प्रशिक्षण केन्द्र भएको जिकिर गरे ।
उनले स्वतन्त्रता सेनानीहरूको लुक्ने स्थल झरोखर पोखरी भएकोले प्रजातान्त्रिक आन्दोलनको लडाइँमा झरोखर पोखरीको योगदान ठूलो भएको बताए । संविधानसभा सदस्य डा शोभाकर पराजुलीले सिम्रौनगढ प्रसिद्ध ऐतिहासिक, पर्यटकीय स्थल भएको बताए । उनले ललितकला, वास्तुकलाका बिजोड नमूनाहरू सिम्रौनगढमा भएपनि त्यसको संरक्षण र संवद्र्धन नभएको चर्चा गरे ।
उनले सिम्रौनगढको विकास र पहिचानको सवालमा सरोकारवालाहरू सबैले ध्यान दिनुपर्ने बताए । डा पराजुलीले एमसिसीको बारेमा विरोध र समर्थन गर्नुपर्ने थलो संसद् भएको तर संसद् चल्न नदिएको भन्दै एमालेको आलोचना गरे ।
बाराका प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कटुवालले पत्रकारहरूलाई सरोकारवालाहरूको सवालमा उनीहरूको कुराहरू पनि राखेर समाचार लेख्न सुझाए । उनले प्रशासन र पत्रकार सबै मिलेर जानुपर्ने र दुवै जनताको सेवक भएको चर्चा गरे ।
कार्यक्रममा पत्रकारिता क्षेत्रमा योगदान पु¥याएका बाराका छजना पत्रकार उमेशलाल दास, सत्यप्रसाद श्रेष्ठ, रामेश्वर मेहता, सुजित अर्याल, भोजराज भट्टराई र रेशम तिवारीलाई प्रमुख अतिथि नेता मन्सुरले दोसल्ला ओढाएर सम्मान गरेका थिए । प्रेस युनियन बाराका अध्यक्ष श्यामबाबूप्रसाद यादवको अध्यक्षतामा भएको कार्यक्रममा नागरिक समाज बाराका अध्यक्ष उमेशलाल दास, नगरप्रमुख विजयशङ्कर यादव, पत्रकार महासङ्घ बाराका अध्यक्ष रेशम तिवारी, पूर्वअध्यक्ष गुरुप्रसाद गौतमलगायतले मन्तव्य व्यक्त गरेका थिए ।
कार्यक्रममा बाराका प्रहरी नायब उपरीक्षक राजेश थापा, सशस्त्र प्रहरी उपरीक्षक राजेन्द्र लामा, अनुसन्धान प्रमुख सन्तोष ढुङ्गेल, नेका मधेस प्रदेश सदस्य उपेन्द्र जयसवाल, मोहनप्रसाद कुशवाहा, नेका सिम्रौनगढ नपाका सभापति नागेन्द्रप्रसाद गुप्तालगायतको सहभागिता थियो । कार्यक्रममा वसन्त खतिवडाले स्वागत र प्रेस युनियन बाराका सचिव सजिर मन्सुरले सहजीकरण गरेका थिए ।