• अनन्तकुमार लाल दास

जुन कालखण्डमा जुन महादेश विश्व मञ्चमा केन्द्रीय भूमिकामा हुन्छ, त्यस कालखण्डमा त्यसकै नाउँले त्यो शताब्दी चिनिन्छ । जस्तै, हरेक दृष्टिकोणले कैयन अर्थमा १६ औं शताब्दी देखि १९ औं शताब्दी सम्म युरोप विश्व मञ्चमा केन्द्रीय भूमिकामा रहेको थियो र यस शताब्दीलाई युरोपेली शताब्दीको रूपमा इतिहासमा अङ्कित गरिएको छ ।

२० औं शताब्दीको प्रारम्भमा विश्व युद्ध पछि युरोप कमजोर हुन थाल्यो र विश्व मञ्चमा केन्द्रीय भूमिका निर्वाह गर्न सकेन । यस शताब्दीको मध्यमा एशियाको केन्दीय भूमिकाको सम्भावनालाई ध्यानमा राखेर २१ औं शताब्दीलाई एशियाली शताब्दीको रूपमा परिकल्पना गरिएको थियो । जसरी एशियाली राष्ट्रहरूमा राष्ट्रभन्दा पनि माथि उठेर महादेशीय सम्बन्ध स्थापित गर्ने होड देख्न पाइयो त्यसबाट यस परिकल्पनालाई अझ बल प्राप्त भयो । एशियाली देशहरूमा साझा आधार र नयाँ विस्तार जसरी–जसरी विकसित हुँदै गयो त्यसले के देखायो भने २१ औं शताब्दी एशियाको नै शताब्दी हो ।

यदि एशियाली शताब्दीको रूपमा २१ औं शताब्दीको परिकल्पना गरिएको छ भने यो निराधार परिकल्पना होइन । यसपछाडि केही ठोस आधारहरू छन् । एशिया संसारमैं क्षेत्रफल र जनसङ्ख्याको दृष्टिकोणले सबैभन्दा ठूलो महादेश हो । सबैभन्दा बढी जनसङ्ख्या भएको यस महादेशमा विश्वको लगभग ५९ प्रतिशत जनसङ्ख्याको बसोवास छ र यसको क्षेत्रफल विश्वको भूभागको ३० प्रतिशत रहेको छ । विश्वको सबैभन्दा ठूलो महादेशमा जहाँ सबैभन्दा बढी सांस्कृतिक विविधता छ त्यहीं कैयन प्राचीन धर्मको उद्गमस्थल पनि छ । कैयन प्राचीन सभ्यता यहीं पुष्पित र पल्लवित भएको छ ।

एशिया वैचारिक र दार्शनिक स्तरमा पनि अत्यन्त सम्पन्न र समृद्ध छ । एशियाबारे के पनि सही हो भने यहाँ युरोपजस्तो प्रतिस्पर्धा विकसित भएको छैन जस्तो इङ्गल्यान्ड र फ्रान्स र फ्रान्स र जर्मनीबीच शताब्दीयौंसम्म चलेको थियो र जसले गर्दा दुईटा विश्वयुद्ध भयो । एशियामा यो प्रतिस्पर्धा भूगोलभित्र रहेको देशभित्र नै चलिरह्यो । आज एशियाका केही ठूला देशहरूबीच प्रतिस्पर्धा भइरहेको छ तर यस सँगसँगै एशियाका धेरै देशहरू एकअर्का नजीक पनि आएका छन् ।

एशिया यदि विश्व मञ्चमा २१ औं शताब्दीको केन्द्रीय भूमिकामा आउन चाहन्छ भने यसमा भारत, चीन, जापान जस्ता सम्भावना सम्पन्न देशले आफ्नो ठूलो योगदान दिन सक्छन् । एशियन देशहरूमध्ये भारत र चीन विश्व शक्तिको केन्द्रमा रहेका छन् तर वर्तमानमा यी दुवै देश एकअर्काबाट टाढा हुँदैछन् । यदि यी दुवै देश एशियाली वर्चस्वको लागि आपसी मतभेद बिर्सेर एकजुट हुने हो भने २१ औं शताब्दी एशियाको शताब्दी हुने निश्चितप्रायः छ । चीन र भारत दुवै महाशक्ति हुन् र यी दुइटै देश २१ औं शताब्दीमा विश्व मञ्चमा अहम् र रचनात्मक भूमिका निर्वाह गर्न उन्मुख पनि छन् । तर यिनीहरूको आपसी मतभेदले गर्दा छिमेकी सम्बन्धमा चिसोपना देखिएको छ । प्रविधिको विशाल आधार भएको देश जापान पनि एशियाली शताब्दीको सपना साकार गर्न अहम् भूमिका निर्वाह गर्न सक्छ ।

एशियाली शताब्दीको सपना साकार गर्न भारत र चीनबीच मित्रता कायम हुनु जति आवश्यक छ, त्यहीं के पनि आवश्यक छ भने एशियाका सबै देशहरू पनि यस दिशामा अघि बढून् र एशियाको अस्मिता जोगाउन राष्ट्रभन्दा माथिको भावना विकसित गरून् । यसको लागि एशियाली देशहरूले एक आपसमा सद्भाव, सहानुभूति र सह–अस्तित्वको भावना विकसित गर्नुपर्छ अनिमात्र एशिया २१ औं शताब्दीको विश्व मञ्चमा निर्णायक केन्द्रीयता हासिल गर्न सक्छ । यसको लागि एशियाली देशहरूले कम्मर कस्नुपर्छ र यसको लागि प्रयास थाल्नुपर्छ । ठूला देशहरूले साना देशहरू सीमा मिचाइ गर्ने प्रवृत्ति त्याग्नुपर्छ र सहयोगी हातहरू बलियो बनाउनुपर्छ । हरेक देशले आपसी समझदारी विकसित गर्न र एकअर्कालाई विश्वासमा लिन विशेष प्रयासको थालनी गर्नुपर्छ ।

एशियाली शताब्दीको सपना साकार गर्नमा युवाशक्तिले अकल्पनीय योगदान दिन सक्छ भन्ने कुरोलाई केन्द्रमा राखेर एशियाका युवाहरूबीच सम्पर्क बढाउने कुरामा जोड दिनुपर्छ र यसको लागि उनीहरूलाई प्रेरित गर्नुपर्छ । सूचना र सञ्चारको यस युगमा यो काम मुश्किल पनि छैन । जुन बेला महादेशीय उद्देश्यका लागि एशियाली युवाहरू एउटै मञ्चमा जम्मा हुन्छन् भने एशियाली वर्चस्व बढ्नु तय छ । हिजोआज डिजिटल युगको शुरूआत भइसकेको छ । यस परिवेशमा डिजिटल मित्रता बढी उपयोगी सिद्ध हुन सक्छ । डिजिटल नजीक हुनाले जहाँ हृदयबीचको दूरी हट्छ त्यहीं चलचित्र र अन्य रचनात्मक कार्यक्रमको आदान–प्रदानले राम्रो वातावरण तयार हुन्छ जुन महादेशीय समझदारी बढाउन सहायक हुन्छ । यसबाट परस्पर एकीकरणको भावना बलियो हुन्छ ।

एशियाको प्रतिष्ठा बढाउन देशहरूबीच बौद्धिक र सांस्कृतिक आदान–प्रदानलाई प्रोत्साहित गर्नु आवश्यक छ । एशियाका देशहरूमा कैयन प्रकारको खुबी छ जसलाई साझा गर्ने आवश्यकता
छ । जस्तै नेपालको वीरता र अखण्डता, भारतको योग, चीनको स्वयं सुरक्षासँग जोडिएको कला ‘ताई ची’ आदि यस्ता उदाहरण हुन् जसलाई हामी साझा गर्न सक्छौं । यस्ता कुराहरूलाई साझा गर्दा जहाँ परस्पर सम्बन्ध वृद्धि हुन्छ त्यहीं यसबाट सबैलाई लाभ प्राप्त हुन्छ ।

एशियाली शताब्दीको सपना साकार पार्नका लागि नागरिक समाज र समुदायबीच परस्पर सम्बन्ध हुनु आवश्यक छ । नागरिक समाजलाई जोड्नको लागि एशियाका देशहरूबीच धार्मिक पर्यटनलाई बढाउने प्रयत्न हुनुपर्छ । एशियामा यसको धेरै सम्भावना पनि छ । एशियाली देशहरूमा मात्र बौद्ध धर्मका कैयन तीर्थस्थलसँगै इस्लाम धर्मको पनि कैयन पवित्र धर्मस्थलहरू छन् । हिन्दू धर्म नेपाल र भारतमा मात्र नभई यसको विस्तार अनेक ठाउँमा भएको छ ।

हिन्दू मन्दिरको सबैभन्दा ठूलो परिसर कम्बोडियामा छ भने विश्वका सबैभन्दा ठूलो मुस्लिम देश, इन्डोनेशियामा आज पनि राम कथामा आधारित सङ्गीत–नृत्यको परम्परा कायम छ । अर्थात् धार्मिक पर्यटनमा एशिया अत्यन्त समृद्ध छ र यसलाई प्रोत्साहित गरेर नागरिक समाजबीच सम्बन्ध बढाउन सकिन्छ । मात्र धार्मिक पर्यटन होइन, यस क्रममा पर्यटनलाई पनि प्रोत्साहित गर्नुपर्छ किनभने एशिया विविधताले भरिएको महादेश हो । यस परिप्रेक्ष्यमा यदि समस्त एशियावासी पर्यटनको सम्पर्कमा आउँछन् भने आफ्नो महादेशलाई बुझ्न सजिलो हुन्छ जसबाट एशियाली चेतनाको सञ्चार हुन्छ । यस्ता कुरा विश्व मञ्चमा एशियाको केन्द्रीय भूमिकाको लागि सहयोगी हुन्छ ।

एशियाली शताब्दीको सपना साकार पार्न एशियाका देशहरू एकअर्काको पूरक बन्नुपर्छ र यसको लागि व्यापारिक र व्यावसायिक सम्बन्ध बलियो बनाउनुपर्छ । यस क्षेत्रमा पर्याप्त सम्भावना पनि छ । यस्ता सम्भावनाहरूलाई नौलो आधार दिएर हामी एशियालाई केन्द्रीय भूमिकामा विश्व मञ्चमा ल्याउन सक्छौं । एशियाली शताब्दीको सपना साकार पार्नको लागि सबैभन्दा महŒवपूर्ण कुरा के हो भने एशियाली देशहरू एक आपसमा मित्रता र सहयोगको सम्बन्ध कायम गरी वैश्विक महŒवका मुद्दाहरूमा एकबद्धता प्रदर्शन गर्ने । साथै वैश्विक महŒवका निकायहरूमा एशियाका देशहरूको गहिरो दखल र तालमेल पनि हुनुपर्छ । यसरी वैश्विक सरोकारका विषयमा जब एशियाका देशहरूको एकमत देखापर्छ अनि मात्र विश्व मञ्चमा एशियाको प्रभुत्व कायम हुन्छ र अमेरिका र अन्य पश्चिमा देशको वर्चस्व कम हुन्छ जसको प्रभाव संयुक्त राष्ट्रजस्ता वैश्विक निकायमाथि बढी छ ।

माथि उल्लिखित विषय अघि बढेर मात्र एशियाली शताब्दीको सपना साकार गर्न सकिन्छ । सबैभन्दा पहिले सम्पूर्ण एशियाली मुलुकहरूले यी कुरामाथि गम्भीरतापूर्वक चिन्तन–मनन गर्नुपर्छ । हामीसँग भएको सम्भावनालाई बलियो आधार दिने आवश्यकता छ । हामीसँग पर्याप्त साधन र स्रोत पनि छ । यस परिप्रेक्ष्यमा एशियाली शताब्दीको सपना साकार पार्न कठिन
छैन । लक्ष्य हाम्रो धेरै नजीक छ । एशियाको शाब्दिक अर्थ हो ‘उदाउँदो सूर्य’ । यस अर्थलाई वास्तविकतामा बदल्ने बेला भइसकेको छ । अर्थात् उदाउँदो सूर्यको तापलाई सम्पूर्ण विश्वले महसूस गरोस् । यसको लागि आपसी मतभेद र एकअर्काको सीमा मिचाइ बिर्सेर एशियाका देशहरूलाई एउटै धरातलमा उभिनु आवश्यक हुन्छ । यदि यसरी शुरूआत गरियो भने हाम्रो सपना अवश्य नै पूरा हुनेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here