प्रस, निजगढ, २२ माघ/

निजगढ नगर कार्यपालिकाको बैठकले क्रसर उद्योग बन्द गर्न पत्राचार गरेपछि जथाभावी फालिएका टेनडाउन गिट्टी व्यवस्थापन गर्न निजगढका क्रसर उद्योगहरू लागिपरेका छन् ।

जथाभावी सार्वजनिकस्थलमा क्रसर उद्योगद्वारा उत्पादित टेनडाउन गिट्टी फालेपछि उक्त स्थानहरू कुरूप देखिनुका साथै चरिचरनको क्षेत्रसमेत मासिंदै आएको थियो । यहाँ रहेका क्रसरहरूले निजगढ नपा–९ शहीद हीरालाल रङ्गशालाको दक्षिणतर्फको ३० बिघाभन्दा बढी जमीनमा वर्र्षाैंदेखि टेनडाउन गिट्टी जथाभावी फाल्दै आएका छन् ।

यसरी फालिएका टेनडाउन गिट्टीलाई यसअघि पटकपटक उचित स्थानमा व्यवस्थापन गर्न क्रसर उद्योगलाई जानकारी गराउँदा पनि बेवास्ता गरेपछि सो गिट्टीको व्यवस्थापन नगरेसम्म क्रसर उद्योग सञ्चालन नगर्न पत्राचार गरेपछि पाँच दिनयतादेखि धमाधम टेनडाउन गिट्टी क्रसर उद्योगहरूले हटाउन थालेका हुन् ।

सो निर्णय निजगढ नगर कार्यपालिकाले यही माघ १४ गते गरेको सूचना अधिकारी रविन घिमिरेले बताए । “यसरी जथाभावी फालिएका टेनडाउन गिट्टीको व्यवस्थापन नभएसम्म उद्योग सञ्चालन नगर्न निनपा कार्यपालिकाको निर्णय अनुसार क्रसर उद्योगहरूलाई जानकारीका लागि पत्राचार गरेका छौं,” उनले भने ।

पाँच दिनदेखि तीनवटा भ्याकुलोडर र पाँचवटा टिपर प्रयोग गर्दै नजीकैको बकैया खोला ड्यामनजीकै र आसपासमा ओर्सादै राखेको क्रसर उद्योगीले बताए ।

यसरी क्रसर उद्योगद्वारा प्रशोधित, उत्पादित प्रयोगमा तत्कालै नआएका नदीजन्य पदार्थ राख्दै आएपछि यसअघि हराभरा भएको ५०औं बिघाभन्दा बढी नदीउकास जमीन बन्जर र मरुभूमि बन्दै आइरहेको छ । नदीजन्य पदार्थ ठेकेदारबाट किनेर यसरी राखे पनि प्रशोधित गर्न उठाउने बेलामा प्राकृतिक साबिक जमीनभन्दा ५/७ फिट गहिरो गरी उठाउने गरिएको छ ।

उद्योगबाट उत्पादित तत्कालै बिक्रीमा नआउने टेनडाउन गिट्टीलाई जथाभावी नफाल्न आफूले भन्दै आए पनि केही उद्योगीले नमान्दा अहिले सबै क्रसर उद्योगहरूले समान समस्या बेहोर्नुपरेको एकजना क्रसर उद्योगीले बताए ।

अहिले व्यवस्थापनको नाममा वर्षौंदेखि मापदण्डविपरीत चल्दै आएका बारा निजगढका आठवटा क्रसर उद्योगले खासै प्रयोगमा नआउने १० एमएम साइज वा सोभन्दा मसिनो आकारका गिट्टी खोलाको ड्यामतर्फ व्यवस्थापन गरे पनि मानिस, पशु चौपाया, वन्यजन्तुहरूलाई हुन सक्ने जोखिमलाई कम गर्न सकेको छैन ।

यसरी फालिएका मसिनो गिट्टीका कारण वर्षामा भेलबाढीले बगाउन नसकेको थुप्रोमा परी भासिन सक्ने सम्भावना पनि त्यत्तिकै छ । जसका कारण ज्यानै जान सक्ने खतरा झनै बढेको छ ।

केही क्रसर उद्योगले यसरी फालिएका गिट्टीलाई पिंधेर डस्ट बनाइ सिमेन्ट निर्माणका लागि बिक्री गर्न थाले पनि अधिकांश क्रसरले सो प्रविधि नअपनाउँदा ठूलो परिमाणमा उत्पादित टेनडाउन गिट्टीको उचित व्यवस्थापन गर्न कठिनाइ हुँदै आएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here