प्रस, रक्सौल, २० माघ/
भारत–नेपाल सीमा अन्तर्गत रक्सौल कस्टम हाउसस्थित इमिग्रेशन कार्यालयले बिहीवार पञ्जाब–महाराष्ट्र कोअपरेटिभ बैंक सोसाइटीका निर्देशकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बैंकका पूर्वनिर्देशक दलजीत सिंह रहेका छन् । उनीमाथि सन् २०१९ मा बैंकको भारतीय रुपैयाँ चार हजार ३५५ करोड हिनामिना गरेको आरोप लागेको छ ।
महाराष्ट्रमा रहँदै आएका सिंह र उनको परिवार विगत दुई वर्षदेखि फरार छन् । नेपाल हुँदै क्यानडा जाने योजनामा रहेका सिंहलाई सोधपूछको क्रममा रक्सौल कस्टम हाउसस्थित इमिग्रेशन कार्यालयले पक्राउ गरेको हो । उनलाई महाराष्ट्र लैजानका लागि इओडब्लु विभागका पदाधिकारी शुक्रवार अबेर राति रक्सौल पुग्ने जनाइएको छ ।