• अनन्तकुमार लाल दास

नेपाल गाउँहरूको देश हो । हाम्रो देशको आत्मा गाउँमा बस्दछ । यो भनाइ त्यतिकै सत्य हो जति पानीमा हाइड्रोजन र अक्सीजन हुन्छ । यस कारण नेपालजस्तो कृषिप्रधान र गाउँप्रधान देशलाई त्यस बेला सम्म विकसित गर्न सकिंदैन जबसम्म हरेक गाउँमा जीवनको लागि चाहिने मूलभूत आवश्यकताको उचित व्यवस्थापन हुँदैन । यदि हाम्रो गाउँ नै समस्याग्रस्त छ भने गणतन्त्र भनौं वा लोकतन्त्रमाथि गर्व गर्नु व्यर्थ हुन्छ । हाम्रो दुर्भाग्य के हो भने हामी कुरा त ठूल्ठूला गर्छौं तर भुईं–सतहमा त्यसलाई कहिल्यै पनि लागू गर्दैनौं ।

२००७ सालदेखि हालसम्म पनि गाउँका धेरैजसो मानिस आआफ्नो आधारभूत आवश्यकताको पूर्तिका लागि सङ्घर्ष गरिरहेका छन् । ध्यान दिनुपर्ने कुरो के हो भने नेपालको लगभग ७९.४२ प्रतिशत जनसङ्ख्या गाउँमा बस्छ तर जनसङ्ख्याको अनुपातमा यिनीहरूलाई नेपालको आर्थिक विकासको लाभ हासिल भइरहेको छैन । अझ पनि धेरैजसो गाउँ देशको मुख्य धारासँग जोडिएका छैनन् । आफूलाई जनहितैषी भन्ने र विकासको नारा लगाउने दलहरू र सरकारले कहिल्यै पनि गाउँको समस्या गम्भीररूपमा लिएको छैन । प्रायः हरेक दल वा सरकार शहरमा बसोवास गर्ने मानिसलाई नै खुशी पार्ने काममा लागि रहन्छन् ।

अर्को ध्यान पु¥याउनुपर्ने कुरो के हो भने सदरमुकाम नजीक भएका गाउँहरू विकसित हुने सम्भावना हुन्छ तर सुदूर र पिछडिएका गाउँप्रति न सङ्घ सरकार, न प्रदेश सरकार, न जिल्ला प्रशासनले आफ्नो कर्तव्यको पालना सही तरीकाले गरिरहेको छ । यसर्थ हाम्रो गाउँ आज पनि सभ्यताको दौडमा पछि छुटेको छ । नेपालको भूबनोटले गर्दा यहाँका गाउँहरूको समस्यामा पनि विविधता पाइन्छ । हिमाली प्रदेशका गाउँहरूको समस्या पहाडी र तराईका गाउँहरूको तुलनामा बेग्लै खालको छ भने तराईका गाउँहरूको समस्या हिमाली र पहाडी प्रदेशभन्दा भिन्न छ । समस्या बेग्लाबेग्लै भए पनि ती समस्याका कारण गाउँले मानिसको सामाजिक, आर्थिक, राजनीतिक र मानसिक विकास अवरुद्ध भइरहेको छ जसलाई तत्काल सम्बोधन गर्नु आवश्यक छ ।

गाउँका गरीब मानिसको स्तर उकास्न, कृषिको आधुनिकीकरण गर्न, बाटोघाटोको विकास गर्न, शिक्षा र स्वास्थ्य सुविधामा सबैको पहुँच बढाउन देशमा विभिन्न पञ्चवर्षीय योजनाहरू समय–समयमा लागू गरिएको छ । त्यसमा यिनै कुराहरूको विकास गर्ने लक्ष्य पनि रहेको छ । तीमध्ये धेरै कम योजना सफल भएका छन् भने बढी योजना असफल देखिएको छ । विकास खर्चको नाउँमा अर्बौ रुपियाँ खर्च भएको छ । सरकारीतन्त्रको बृहत् प्रयोग गरिएको छ । तर आज पनि प्रादेशिक विविधता र व्यापक प्रभाव पार्ने तल उल्लिखित समस्याहरू गाउँ विकासको नाउँमा सुरसा जस्तै मुख खोलेर उभिएको छ ।

१) गरीबी ः संसारको सबैभन्दा ठूलो अभिशाप भनेको नै गरीबी हो । कोरोना कालमा विशेषगरी गाउँमा यसले भयावह रूप धारण गरिसकेको छ । हाल नेपालको करीब २ करोड ९२ लाख जनसङ्ख्यामा १८.७ प्रतिशत गरीबीको रेखामुनि जीवनयापन गर्न बाध्य छ । सुदूर गाउँमा आज पनि धेरै परिवारले इच्छा अनुसार पौष्टिक खाना खान पाउँदैन । कामको अभाव र न्यून आम्दानीका कारण न यिनीहरूसँग राम्रो छ न जीवन धान्ने आवश्यक सामल । शिक्षा, स्वास्थ्य र मनोरञ्जनको त कुरै नगरौं ।

गरीबी निवारणका लागि सबैले कृषिको व्यवसायीकरण र आधुनिकीकरणमा ध्यान दिनुपर्ने हुन्छ । यसको लागि सरकारले किसानहरूलाई अति न्यून ब्याजदरमा ऋण उपलब्ध गराउने, किसानहरूलाई भुक्तानी गर्नुपर्ने रकम अविलम्ब भुक्तान गर्ने, उनीहरूको लागि उन्नत बीउ र खाद सहुलियत दरमा उपलब्ध गराउने र ग्रामीण पर्यटनको विकास गरी नौलो किसिमले कृषि गर्न इमानदार पहल र कार्यान्वयनको खाँचो रहेको छ ।

२) बेरोजगारी ः बेरोजगारी गाउँका सबैखाले समस्याहरूको मूल हो, किनभने हरेक समस्या अर्थसँग गाँसिएको हुन्छ र यसबाट नै त्यसको निदान पनि सम्भव छ । प्रायः गाउँका मानिसहरू कैयन प्रकारका काम गर्न सक्षम हुन्छन् र उनीहरू काम गर्न पनि चाहन्छन् तर रोजगारको अभावमा बेरोजगारी बनेर झन्झन् गरीब हुँदै जान्छन् । नेपालमा शहरी र ग्रमीण बेरोजगारी दर लगभग समान छ । गाउँमा खेतीको काम प्रायः ६ देखि ७ महीना हुन्छ र बाँकी समय किसानहरू त्यसै बस्छन् । यसरी गाउँमा प्रत्यक्षरूपले कृषि कार्यमा संलग्नता भएपनि अद्र्धबेरोजगारीको शिकार हुन्छन् । यहाँ ध्यान दिनुपर्ने कुरा के हो भने ११.४ प्रतिशत अर्थात् करीब २७ लाख गाउँले बेरोजगारी छन् ।

यस समस्याको समाधान गाउँ आधारित अर्थ व्यवस्थाको स्थापना, साना तथा मझौला उद्योगको विकास, कृषिमा पर्याप्त निवेश र किसानहरूको लागि वर्षभरि कृषिकार्य उपलब्ध गराएर गाउँको बेरोजगारी न्यून गर्न सकिन्छ । सँगसँगै सरकारले पनि बेरोजगारीहरूका लागि उचित आय प्रदान गर्ने विभिन्न योजनाहरू सञ्चालन गर्नुपर्ने आवश्यकता रहेको छ । कैयन प्रकारका योजनाहरू चलि पनि रहेका छन् तर खाँचो इमानदार अनुगमनको रहेको छ ।

३) कृषिसँग सम्बन्धित समस्या ः खेतको जोताइदेखि अन्नबालीको बिक्रीसम्म किसानहरूलाई कैयन प्रकारका समस्यासँग जुध्नुपरिरहेको छ । हाम्रो कृषि प्रणालीमा प्रयोग हुने अधिकांश औजारहरू पुरानै छ भने सिंचाइको अभाव, मनसुनमाथि निर्भरता, भोजनको लागि मात्र खेती गर्ने प्रवृत्ति, राम्रो बीउ र खादको लागि पूँजीको अभाव, सहुलियत दरमा ऋण पाउन गा¥हो, अत्याधुनिक कृषिप्रति अज्ञानता, अन्नबाली बिक्रीमा समस्या गरीब किसानको अस्तित्वमाथि प्रश्नचिन्ह लगाउन लागि पर्याप्त छ । हाम्रो तराईका उखु किसानहरू आज पनि आन्दोलित छन् । सही भन्ने हो भने साना र गरीब किसानहरूका लागि कृषि अब लाभदायक पेशा रहेन । यस कारण उनीहरू विवश भएर गाँजा खेतीतर्फ उन्मुख भइरहेका छन् ।

यस्ता समस्याहरूले गर्दा नै बाध्य भएर मानिस गाउँबाट शहरतिर पलायन भइरहेका छन् । हालको वर्षमा कृषि उत्पादन वृद्धिदरमा आएको कमी कृषिप्रति घटिरहेको आकर्षणको प्रतीक
हो । यसको समाधानको लागि अब बन्ने पञ्चवर्षीय योजनाहरूमा कृषिलाई देशको उन्नतिमा सर्वाधिक महŒवपूर्ण दर्जा दिएर दीर्घकालीन निवेश उपलब्ध गराउनुपर्छ । साथै बाढी नियन्त्रण, किसानहरूको लागि खुला बाजारको सुविधाजस्ता उपायहरू अवलम्बन गरेर उनीहरूलाई वैज्ञानिक खेतीमा सहयोग गर्नु पनि आवश्यक छ ।

४) सामाजिक समस्याहरू ः नेपालका गाउँहरूमा आज पनि कैयन सामाजिक विकृतिहरू जस्तै–अन्धविश्वास, जातिप्रथा, लिङ्गभेद, भ्रूणहत्या, जादूटोना, दाइजो प्रथा, छाउपडी प्रथा, घुम्टो प्रथा, देउकी र झुमा प्रथा, शोषण आदि प्रचलित छ । गाउँमा बसोवास गर्ने मानिसबीच छुवाछूत र उचनीचको भेद पनि छ जसले भित्रभित्रै गाउँको विकासमा अवरोध पु¥याइरहेको छ । गाउँमा हुने हिंसा र झगडाको स्थिति यसकै देन हो । यी समस्याहरूमध्ये तराईमा जातिप्रथा र दाइजो प्रथा सर्वाधिक भयावह स्थितिमा छ किनभने एकातिर जातिप्रथाले गर्दा गाउँलेहरू टुक्रिएका छन् भने त्यहीं दाइजो प्रथाले महिलाहरूको स्थिति दिनानुदिन बिग्रँदै गइरहेको छ । यी समस्याहरूको एकमात्र समाधान गुणस्तरीय शिक्षा, अन्तर्जातीय बिहेलाई प्रोत्साहन, जनचेतनामा वृद्धि, कडा कानूनको सिर्जनालेअंकुश लगाउन सकिन्छ तर यसको लागि जनजागरण पहिलो शर्त हो ।

५) अशिक्षा ः वर्तमान आधुनिक युगमा पनि नेपालको गाउँमा पर्याप्त र गुणस्तरीय शिक्षाको अभावले गर्दा कलिलो उमेरमैं केटाकेटीहरू काम गर्न थाल्छन् । शिक्षाको कमी भएको नागरिकले कर्तव्यपालन गर्छ भन्ने आस गर्न सकिंदैन । तथ्याङ्कले के देखाएको छ भने आज पनि नेपालको कुल जनसङ्ख्याको ३२.१ प्रतिशत निरक्षर छ भने महिला निरक्षरहरूको सङ्ख्या यसभन्दा २० प्रतिशत बढी छ । शिक्षाको अभावले गर्दा उनीहरू नजानिंदो किसिमले कैयन रोगलाई घरभित्र लिएर आउँछन् । जानकारीको अज्ञानताले गर्दा सरकारी योजनाहरूबाट लाभान्वित हुँदैनन् ।

यस समस्याको समाधान अनिवार्य निश्शुल्क शिक्षा हो तर हाम्रो देशको सामुदायिक विद्यालयहरूमा यो पूर्णरूपले निश्शुल्क छैन । हालका दिनहरूमा त अङ्ग्रेजी शिक्षाको नाउँमा सामुदायिक विद्यालयहरूमा लूटतन्त्र नै स्थापित भएको छ र सम्बन्धित निकाय थाहा पाएर पनि मौन बसेको कुरा कसैसँग लुकेको छैन । आज आवश्यकता गाउँलेहरूलाई शिक्षाप्रति आकर्षित गर्नु हो । दिउँसोको खाजा, गाउँ आधारित व्यावसायिक शिक्षा, विद्यालयमा मनोरञ्जन, छात्रवृत्ति र गाउँमा भएको परम्परागत पेशाप्रति सम्मानको भाव जगाउन र सिकाउनको लागि त्यस पेशामा संलग्न मानिसहरूलाई विद्यालयसँग जोडेर शिक्षाप्रति आकर्षित पार्न सकिन्छ ।

६) अन्य समस्याहरू ः माथि उल्लिखित समस्याबाहेक पनि यस्ता थुप्रै समस्याहरू गाउँमा छन्, जसको विद्यमानतामा गाउँको विकास सम्भव छैन । यी समस्याहरूमध्ये गाउँमा पक्की सडकको कमी जसले गर्दा त्यहाँ उत्पादन हुने अधिकांश उत्पादन खेर गइरहेको छ ।

यसैगरी अस्पताल र स्वास्थ्य चौकीको अभाव, कुपोषणको समस्या, सञ्चारका साधनहरूको अभाव, उद्योग र कारखानाको कमी, महिलाहरूसँग गरिने विभेदजस्ता समस्याको समाधान गर्नु नितान्त आवश्यक छ । गाउँका यस्ता समस्याहरूको समाधानका लागि समन्वित मिशनको खाँचो छ । यसको लागि तीनै तहका सरकार, प्रतिपक्षलगायत नागरिक समाजबीच सहकार्यको खाँचो छ । यसको सफल क्रियान्वयनको लागि दृढ इच्छाशक्ति पहिलो शर्त हो, अनि मात्र गाउँ–विकासको सपना साकार हुन सक्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here